
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपालको ऊर्जा क्षेत्रको विकासका आफ्नो भारत भ्रमण उपलब्धिमूलक भएको बताएका छन् ।
भारतको नयाँदिल्लीमा आयोजित अन्तर्राष्ट्रिय सौर्य गठबन्धन सम्मेलनमा भाग लिएर आज साँझ नेपाल फर्किएका मन्त्री खड्काले त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा पञ्चेश्वर, अरुणलगायत आयोजनालाई चाँडै अगाडि बढाउने विषयमा भारतसँग सकारात्मक छलफल भएको बताए ।
“नेपाल–भारतबीचमा आयोजना अगाडि बढाउने विषयमा रहेका असहमतिलाई एकआपसमा समन्वय गरी तत्काल अगाडि बढाउने विषयमा दुई देशबीच सहमति भएको छ”, मन्त्री खड्काले भने । भारतले नेपालका विषयमा धेरै चासो र चिन्ता लिएको पाएको उनले बताए ।
नेपाल सरकारले सन् २०३५ सम्म २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यलाई कसरी परिपूर्ति गर्ने भनेर भारतका ठूला व्यवसायी र संस्थासँग छलफल गरेको मन्त्री खड्काले जानकारी दिए ।