
आगामी मङ्सिर १६ गते हुन गइरहेको उपनिर्वाचनका लागि माओवादी केन्द्र उदयपुरले उम्मेदवार टुङ्गो लगाएको छ।
जिल्लाको त्रियुगा नगरपालिकाको वडा नम्बर १२ र बेलका नगरपालिका–९ को रिक्त रहेको वडाध्यक्षका लागि पार्टीको तर्फबाट उम्मेदवार टुङ्गो लगाएको माओवादी केन्द्रको नगर समितिले जनाएको छ।
माओवादी केन्द्र त्रियुगा नगर समितिको बैठकले नगरको वडा नम्बर १२ को वडाध्यक्षमा नवीनकुमार राईलाई उठाउने निर्णय भएको माओवादी केन्द्र त्रियुगा नगर समितिका प्रवक्ता गजेन्द्र राईले बताए।
यसअघि पनि वडाध्यक्षमा झिनो मतले पराजित राई यसपटकको उपनिर्वाचनमा समेत वडाध्यक्षको उम्मेदवार बन्ने भएका हुन्।
यस्तै, बेलका नगरपालिका–९ को रिक्त वडाध्यक्षमा भरत घिमिरेलाई उम्मेदवार बनाउने निर्णय गरिएको माओवादी केन्द्र बेलका नगर समितिका अध्यक्ष मनोज तामाङले बताए।
उपनिर्वाचनका लागि पार्टीको तर्फबाट उम्मेदवार टुङ्गो लगाएर स्वीकृतिका लागि माथिल्लो समितिका पठाइएको सम्बन्धित नगर समितिले जनाएका छन्।
यता, नेपाली कांग्रेसले त्रियुगा नगरपालिकाको वडा नम्बर १२ को वडाध्यक्षमा हालका कार्यवाहक अध्यक्ष अनिता थापा वा सञ्जीव काफ्लेमध्ये एक जनालाई उम्मेदवार घोषणा गर्ने तयारी भइरहेको कांग्रेसका एक नेताले बताए।
बेलका नगरपालिकाको लागि पनि उम्मेदवार छनोट गर्ने तयारी गरिएको कांग्रेस उदयपुरले जनाएको छ।
नेकपा (एमाले)ले पनि चाँडै उम्मेदवारको नाम टुङ्गो लगाउने एमाले उदयपुरका अध्यक्ष भागवत राउतले जानकारी दिए।