२० असार २०८३, शनिबार

वैदेशिक रोजगारका नाममा ठगी गरेको आरोपमा दुई महिलासहित तीन जना पक्राउ

कात्तिक २९, २०८१
काठमाडौं
वैदेशिक रोजगारका नाममा ठगी गरेको आरोपमा दुई महिलासहित तीन जना पक्राउ

बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशमा लैजाने भन्दै ठगी गर्ने तीन जना पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा सोलुखुम्बुको नेचा सल्यान गाउँपालिका-३ घर भई हाल भक्तपुर, बालकोट बस्ने २२ वर्षीया प्रतिका बास्तोला, चितवनको भरतपुर महानगरपालिका-१०, ज्ञानदर्शन टोलकी ३६ वर्षीया शारदा सुवेदी र चितवनको भरतपुर महानगरपालिका-४, त्रिचोकका २५ वर्षीय सुरज कँडेल रहेका छन् । 

बास्तोलाले दुबई पठाउने भनेर पीडितबाट दुई लाख, सुवेदीले यूके पठाउने भन्दै एक लाख र कँडेलले पनि यूके पठाउने भन्दै एक लाख रूपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ । 

प्रहरी उपरीक्षक (एसपी) काजी कुमार आचार्यका अनुसार, पक्राउ परेका यी व्यक्तिहरूले पीडितहरूलाई विदेश पठाउने प्रलोभनमा झुक्याएर ठगी गरेका थिए। 

पीडितहरूलाई विदेश पठाउने भनेर लामो समयसम्म झुक्यानमा राखेर सम्पर्कविहीन भएपछि उनीहरूले प्रहरीमा जाहेरी दिएका थिए। 

त्यसआधारमा अनुसन्धान गर्दा उक्त व्यक्तिहरूलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी आचार्यले बताए ।  

पक्राउ परेका तीन जनालाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभागमा पठाइएको एसपी आचार्यले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्