
काठमाडौं २४ कात्तिक – १० वटा निर्वाचन क्षेत्र रहेको काठमाडौंको क्षेत्र नम्बर ७ मा एमाले बलियो देखिएको छ ।
स्थानीय चुनावमा वडाअध्यक्षहरुले पाएको मतलाई आधार मान्ने हो भने काठमाडौं ७ मा एमालेबाट उम्मेदवार बनेका रामवीर मानन्धरले सहजै चुनाव जित्ने आंकलन गर्न सकिन्छ ।
लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका राप्रपाका नेता विक्रमबहादुर थापा चुनावी जोडघटाउमा निकै पछि देखिन्छन् । काठमाडौं ७ मा कांग्रेसले आफ्नो उम्मेदवार उठाएको छैन । लोकतान्त्रिक गठबन्धन गर्दा राप्रपाको भागमा परेको यो क्षेत्रमा राप्रपाबाट थापा उम्मेदवार बनेका छन् ।
काठमाडौं महानगरपालिकाका १६, १७, १८ र २५ वडा यो क्षेत्रमा छन् । त्यस्तै तारकेश्वर नगरपालिकाका ३, ४ र ५ वडा यो क्षेत्रमा छन् । नागार्जुनका १, २ र ३ नम्बर वडा पनि यही क्षेत्रमा छन् ।
यी सबै ठाउँको मत अनुसार एमालेले स्थानीय निर्वाचनमा १३ हजार ८ सय ३५ मत पाएको छ । कांग्रेसले १२ हजार ६ सय ४६ मत पाएको छ । माओवादीले ३४ सय ४१ मत पाएको छ । राप्रपाले चाहिँ २१ सय मत मात्रै पाएको छ ।
यसरी हेर्दा बाम गठबन्धनसँग १७ हजार दुई सय ७६ मत छ भने लोकतान्त्रिकसँग चाहिँ १४ हजार ७ सय ४१ मत छ । यो क्षेत्रमा कांग्रेसले आफ्नो उम्मेदवार नउठाएकोले कांग्रेसको केही भोट समेत एमालेमा आउने अपेक्षा एमाले नेताहरुले गरेका छन् । राप्रपाका नेताले पनि माओवादी तर्फको केही भोट आफूहरुलाई आउने अपेक्षा गरेका छन् । तर यी दुबै अपेक्षाको बीच पनि एमालेका मानन्धर ‘सेफ जोन’मा देखिन्छन् ।
यी सबै वडामा राप्रपाले एक ठाउँमा पनि वडा अध्यक्ष जितेको छैन । एमालेले काठमाडौं १८ नम्बर वडामा वडाअध्यक्ष जितेको छ । काठमाडौंका बाँकी वडामा कांग्रेसले जितेको छ । तर मतका आधारमा चाहिँ काठमाडौंमा कांग्रेस झिनो मतले एमाले भन्दा अघि छ । तर एमाले र माओवादीको भोट हिसाव गर्दा चाहिँ बाम गठबन्धन नै अघि देखिन्छ ।
काठमाडौं महानगरका सात नम्ब निर्वाचन क्षेत्रमा पर्ने वडाहरुमा कांग्रेसले ८९ सय ५८ सय मत ल्याएको छ । एमालेले ८६ सय ५३ मत ल्याएको छ । माओवादीले २३ सय ३ मत ल्याएको छ । राप्रपाले चाहिँ जम्मा ९ सय ८० मत लिएको छ ।
तारकेश्वर नगरपालिकामा चाहिँ ३ नम्बर वडा कांग्रेसले जितेको छ । ४ र ५ नम्बर वडा चाहिँ एमालेले जितेको छ । यहाँ कांग्रेसको कूल मत २४ सय ४४ छ भने एमालेको कूल मत ३३ सय ४५ छ । माओवादीको मत ५ सय ९ रहेको छ । राप्रपाको मत चाहिँ १ सय ८० रहेको छ ।
नागार्जुन नगरपालिकाका तीन वटै वडा अध्यक्ष एमालेले जितेको छ । यहाँ एमालेको १८ सय ३७ मत छ । कांग्रेसको मत १२ सय ४३ रहेको छ । माओवादीको मत ६ सय २९ छ भने राप्रपाको मत ९ सय ३५ रहेको छ ।
यहाँ रहेको मतमा माओवादीको असन्तुष्ट मत राप्रपालाई गएपनि कांग्रेसको असन्तुष्ट मत चाहिँ एमालेमा आउन सक्ने आँकलन गरिएको छ । तर एमाले नेताहरुले गठबन्धनमा रहेको सबै भोट आफूले पाउने दावी गरे । लोकतान्त्रिक गठबन्धले पनि स्थानीय चुनावमा बाम गठबन्धन तर्फ गएका केही भोट आफूतिर तानेर चुनाव जित्ने अपेक्षा गरेको छ ।
एमालेका उम्मेदवार मानन्धरले आफूहरु गठबन्धनमा भएको र राप्रपाको भोट निकै कम भएकाले चुनाव आफूले जित्ने दाबी गरे । ‘राप्रपासँग जम्मा २१ सय मत छ त्यति मतले चुनाव जितिन्छ कि जितिँदैन त्यो तपाईं नै अनुमान गर्नुहोस्,’ उनले भने, ‘हामीसँगै यसैपनि धेरै भोट छ ।’
मानन्धरले भोलिदेखि निर्वाचन परिचालन कमिटी गठन गरेर चुनाव प्रचारप्रसार अभियानमा जुट्ने बताए ।
राप्रपा उम्मेदवार थापाले पनि चुनाव आफूले नै जित्ने दावी गरे । उनले कांग्रेसले इमान्दार भएर सहयोग गरेमा आफूले चुनाव जित्ने उनको दावी छ ।