
संसारका हर मानिस जित्न चाहन्छन् । जित्नुपर्छ भन्छन्, जित्ने प्रयास गर्छन् तर, जित्न भने कसैले सक्दैनन्, सकेका छैनन् । उल्टै यही जित्ने प्रयास नै हारको कारण बन्न पुगेको छ, यसैले नै हराइरहेको छ ।
मानिस यसैबाट हारेका छन्, मानिसलाई यसैले हराएको छ । कुरो सुन्दा आश्चर्य लाग्न सक्छ तर, आश्चर्य मान्नुपर्दैन । संसारभरिकै मानिसको अवस्था यही हो, यस्तै हो । हामी जित्न खोज्न कहिल्यै छाड्दैनौँ, जित्न कहिल्यै सक्दैनौं, कहिल्यै सकेका छैनौं ।
हामी कोही पनि हार्न चाहन्नौं । हार हाम्रो स्वभाव होइन । त्यसैले त अभिभावकहरू नानीहरूलाई जित्नुपर्छ भनिरहेका हुन्छन् । धर्मगुरुहरू यसै भन्छन्, धर्मशास्त्र यसै भन्छ । शिक्षाले यही भनेको छ, संस्कृतिले यही भनेको छ । शैक्षिक निकाय यस्तै छ, पाठ्यक्रम यस्तै छ, पाठ्यपुस्तक यस्तै छ । सबै विजयी भव भन्छन् । समाजमा विजयीको प्रशंसा हुन्छ, सम्मान हुन्छ, पुरस्कार मिल्छ । अन्ततः यही जित्ने धुनले मानिसलाई हराएको छ, दुनियाँलाई हराएको छ । मानिस हारेको छ, समाज हारेको छ, राष्ट्र हारेको छ, समग्रमा विश्व हारेको छ ।
यसैका कारण आपसमा प्रतिस्पर्धा गराएको छ । अझ हुन सक्छ अस्वस्थ प्रतिस्पर्धा गराएको छ, जसले मानिसलाई एकलकाटे बनाएको छ, स्वार्थी बनाएको छ । जे हुनुपर्ने हो त्यो भएको छैन । जे नहुनुपर्ने हो ती सब भएका छन् । जे गर्नुपर्ने हो त्यो गरिएको छैन, जे नगर्नुपर्ने हो त्यो सब गरिएको छ । मानिस स्वार्थी भएका छन्, स्वार्थका लागि जे पनि गर्न थालेका छन्, गर्दै आएका छन् ।
फलतः हावा दूषित भएको छ, पानी दूषित भएको छ । आकाश दूषित भएको छ, जमिन दूषित भएको छ । आपसमा लोभ बढाएको छ, ईष्र्या बढाएको छ, घृणा बढाएको छ, तिरस्कार बढाएको छ । गालीगलौज भएको छ, मारकाट भएको छ ।
घरघरमा झगडा छ, परिवारमा झगडा छ । समाजमा झगडा छ, राष्ट्रमा झगडा छ । अन्तर्राष्ट्रमा झगडा छ । वादमा झगडा छ, सिद्धान्तमा झगडा छ । धर्ममा झगडा छ, सम्प्रदायमा झगडा छ । बम बनाइएको छ, बारुद बनाइएको छ, बन्दुक बनाइएको छ ।
संहारकारी हतियारका कारखाना बनेका छन्, खरिदबिक्री भएका छन् । जताततै लडाइँ छ, युद्ध छ, मारकाट छ, हत्या छ, हिंसा छ, आतङ्क छ । दुई पटकसम्म विश्वयुद्ध नै भइसकेको छ । तेस्रो विश्वयुद्धको धम्की आउन थालेको छ ।
आणविक बमको कुरो पनि आएको छ, प्रयोगको कुरो पनि आएको छ । यी सब केका लागि ? त्यसले कसैको मेख त मार्न सकिएला तर, प्रयोगकर्ता आफैं पनि पक्कै सुरक्षित रहने छैन । तैपनि विडम्बना मानिस आफ्नै खुट्टामा बञ्चरो हान्ने कुरा गर्वपूर्वक गरिरहेको छ । यो कस्तो पागलपन हो, यस्तो पागलपन कहिलेसम्म हो ? जसले जहाँ जे गरे पनि, जे गरिए पनि विजय हुने भनेको मृत्युको बाहेक कसैको होइन । मानिस कहीँ पुग्दैन । जति प्रयास गरे पनि पुग्ने कहीँ होइन । जति समेट्न खोजे पनि हात लागि हुने केही होइन । अन्त्यमा काममा आउने भनेको तीनहात बित्ता नै हो ।
तैपनि मानिस किन जित्न खोज्दै छ ? जित्नुपर्छ भनिरहेको छ ? के विजयी भवःको सट्टा समन्वयी भव भन्न सकिन्न ? यसको पाठ सिक्न सकिन्न, सिकाउन सकिन्न ? सकिन्छ भने कहिले ? सबै सकिएपछि ? सबैले एकपटक गम्भीरतापूर्वक सोच्नैपर्ने बेला आइसकेको छ । अस्तु, सबमा चेतना भया ।