
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
नेकपा एमालेलाई काठमाडौँ महानगरपालिकाले १ लाख रुपैयाँ जरिवाना गराएको छ । दरबारमार्गमा कार्यक्रम गर्दा जथाभावी फोहोरमैला गरी वातावरण प्रदुषण गरेको भन्दै महानगरपालिकाले १ लाख रुपैयाँ जरिवाना गर्ने निर्णय गर्दै पत्राचार गरेको हो ।
महानगरपालिकाले शुक्रबार नै एमालेलाई जरिवाना गरिएको पत्र पठाएको छ । ‘प्रस्तुत विषयमा मिति २०८१ मंसिर ७ गते काठमाडौँ महानगरपालिका वडा नम्बर १ दरवारमार्गस्थित खुला सडकमा जागरण सभा गर्ने क्रममा सडक तथा सडकपेटीमा जथाभावी फोहरमैला गरी वातावरण प्रदूषण गरेकोले तपाईँलाई फोहरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन, २०५१ बमोजिम एक लाख जरिवाना गरिएको ब्यहोरा निर्देशानुसार अनुरोध पर्दछ’, नगर प्रहरी निरीक्षक लिलाराज गाछाद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ ।
एमालेले शुक्रबार दिउँसो गरेको जागरण सभामा प्रधानमन्त्री केपी ओलीको समेत सहभागिता रहेको थियो ।
००००
एमालेले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको आलोचना गरेको छ । काठमाडौँको दरबारमार्गमा पार्टीले कार्यक्रम गर्दा फोहोर गरेको भन्दै महानगरपालिकाले १ लाख रुपैयाँ जरिवाना गरेपछि एमालेले बालेनको आलोचना गरेको हो ।
महासचिव शंकर पोखरेलले बालेन एमालेका विरुद्ध परिचालित छन् भन्ने कुरा आजको सभा पछि सार्वजनिक गरिएको जरिवाना पर्चावाट बुझ्न सकिने बताए ।
००००
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि औंला ठड्याउनेहरूलाई बहसका लागि चुनौती दिएका छन् ।
काठमाडौंको दरबारमार्गमा शुक्रबार आयोजित जागरण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूलाई आरोप लगाउनेहरूलाई बहसमा आउन चुनौती दिएका हुन् ।
उनले कम्बोडियाको टेलिकम कम्पनीमा आफ्नो लगानी रहेको भनेर गरिएको प्रचारको पनि प्रतिवाद गरे ।
००००
यसैगरी एमाले महासचिव शंकर पोखरेलले कम्बोडियाको टेलिकममा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको लगानी रहेको कसैले पुष्टि गरे डबल पैसा सो व्यक्तिलाई दिने बताए ।
००००
सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद ९आईपीटीपी० को एघारौं पूर्ण सत्रमा सहभागी हुन ५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे कम्बोडिया प्रस्थान गरेका छन् ।
मंसिर ८ देखि ११ गतेसम्म कम्बोडियाको राजधानी नोम पेन्हमा आयोजना हुने कार्यक्रममा सहभागी हुन नेपाली प्रतिनिधिमण्डल शुक्रबार राति पौने १० बजे थाइ एयरवेजको उडानबाट त्यसतर्फ प्रस्थान गरेको हो ।
००००
नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेना प्रमुख जनरल उपेन्द्र द्विवेदीले नेपाली सेनाको मानार्थ महारथीको दर्जा पाउनु सौभाग्यको कुरा भएको बताएका छन् ।
शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग सिंहदरबारमा शिष्टाचार भेटवार्ताका क्रममा द्विवेदीले यस्तो बताएका हुन् । उनलाई बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरेका थिए ।
००००
प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकन चर्चित व्यापारी मालिक एलन मस्कसँग भर्चुअल संवाद गरेका छन् ।
ओलीले आफूले मस्कसँग कुराकानी गरेको शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन् ।
सो क्रममा के कुराकानी भयो भन्नेबारे प्रधानमन्त्रीले थप जानकारी दिएका छैनन् ।
मस्कको कम्पनी स्टारलिंकले नेपालमा सेटेलाइटबाट इन्टरनेट सेवा प्रदान गर्न चासो देखाएको भनिएकै बेला यो वार्ता भएको हो ।
००००
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेसँगै नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीसहित १० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।
रास्वपा सभापति लामिछानेविरुद्ध यसअघि कास्की, रुपन्देही, काठमाडौंबाट पनि पक्राउ पुर्जी जारी भइसकेको छ ।
००००
यसैबीच सहकारी संस्थाको रकम अपचलन प्रकरणमा पक्राउ परेका नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशी बञ्जाडेलाई काठमाडौँमा बयान पूरा भएपछि कास्की पठाइएको छ ।
००००
निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसारका क्रममा १० वटाभन्दा बढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न निर्देशन दिएको छ ।
उपनिर्वाचनको प्रचारप्रसारका क्रममा आचारसंहिताविपरीतका छिटपुट घटना भएकाप्रति ध्यानाकर्षण भएको जनाउँदै आयोगले झण्डा र प्रचारप्रसारका सामग्री, पर्चा, साइनबोर्डको आकार, साइज, रङ तोकेको भन्दा फरक नपार्न निर्देशन दिएको हो ।
००००
काठमाडौंको कोटेश्वरमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंका समर्थकले प्रदर्शन गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अफवाह फैलाएको आरोपमा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ । उनी अहिले प्रहरीको हिरासतमा छन् ।
००००
नेपाल सरकार र गैर आवासीय नेपाली (एनआरएन)को संयुक्त लगानीमा बन्ने इन्भेस्टमेन्ट कम्पनीले शेयर निष्कासन गर्न पाउने बाटो खुलेको छ । यद्यपि, प्रिमियम मूल्यमा शेयर निष्कासन गर्न भने पाइने छैन ।
साथै, यस्ता कम्पनीले निष्कासन गर्ने शेयर गैर आवासीय नेपालीले मात्र खरिद गर्न पाउने छन् । धितोपत्र निष्कासन तथा बाँडफाँड (आठौं संशोधन) निर्देशिका, २०८१ मा यस्तो व्यवस्था गरिएको हो ।
००००
रसुवाबाट करिब २ किलो सुनसहित १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोसाइँकुण्ड गाउँपालिका– ३ ब्रिद्धिमका ३४ वर्षीय कर्मासोनाम लामा छन् ।
उनलाई कालिका गाउँपालिका– १ ग्राङबाट सुनजस्तो देखिने धातु करिब २ किलोग्रामसहित बिहीबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
००००
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले नेपालको कन्ट्री क्रेडिट रेटिङले आत्मविश्वास बढाएको बताएका छन् । शुक्रबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री पौडेलले नेपाल लगानी गर्न सुरक्षित रहेको रेटिङले प्रस्ट पारेको बताए ।