२५ जेठ २०८३, सोमबार

किम्बुका बिरुवाको माग घट्यो​​

मंसिर ८, २०८१
चितवन
किम्बुका बिरुवाको माग घट्यो​​

किम्बु नर्सरीका बिरुवाको माग घटेसँगै व्यावसायिक किट विकास फार्म भण्डाराले बिरुवा उत्पादन घटाएको छ । कार्यालयका अनुसार गत वर्ष छ लाख बिरुवा बिक्री वितरण गरेकोमा यस वर्ष तीन लाख बिरुवा लगाउने तयारी गरिएको हो ।​​

फार्मका प्रमुख पूर्णिमा क्षेत्रीका अनुसार गत वर्ष तयार गरिएका बिरुवा ५० हजार हाराहारी बाँकी छन् । गत वर्ष उत्पादित बिरुवा बिक्री भइनसकेकाले अहिले उत्पादनको लक्ष्य कम गरिएको उनले बताइन् ।

उनले भनिन्, 'रेशम खेतीका लागि बढी मात्रामा बिरुवा जाने गर्थ्यो । अहिले रेशम खेती नभएपछि बिरुवा कम उत्पादन गर्न लागिएको हो ।'

अघिल्लो वर्ष किसानले माग गरेर पनि लिन नआएपछि बिरुवा उत्पादन कम गर्न लागिएको उनले जानकारी दिइन् ।

अहिले पशुचोपायलाई खुवाउने घाँसको रुपमा मात्र किम्बुको बिरुवा लगाउने गरिएको क्षेत्रीले बताइन् । उनका अनुसार पहिला-पहिला एक लाख बिरुवा लैजाने किसानले अहिले एक हजार मात्रै लाने गरेका छन् ।

माग बढ्न नसकेपछि बिरुवा उत्पादनको लक्ष्य घटाइएको उनको भनाइ छ ।

रोजगारीको शिलशिलामा युवा शक्तिहरू विदेश पलायन हुनु र रेशम खेती विस्थापित हुनुले किम्बुका बिरुवाको माग घटेको क्षेत्रीले जानकारी दिए ।

गत वर्ष पाँच हेक्टर क्षेत्रफलमा किम्बुको बिरुवा उत्पादन गरिएकामा अहिले क्षेत्रफल घटेर तीन हेक्टरमा मात्र बिरुवा लगाउन थालिएको उनले बताइन् ।

शुरूआतमा चितवनको माडी, दोलखा, रामेछाप, धनकुटा, भोजपुर, सिन्धुलीलगायत जिल्लामा व्यावसायिक रूपमा रेशम खेती हुने गरेको थियो । अहिले रेशम खेतीमा आकर्षण घट्दै गएको पाइएको क्षेत्रीले बताइन् ।

उनले भनिन्, 'कोकन दिने समयमा रेशम कीरा मर्ने, बजार भाउ नपाउने हुँदा यसतर्फ आकर्षण घट्दै गएको हो ।'

अहिले फार्मले च्याउको बिउ उत्पादन, धानको मुल बिउ उत्पादनलगायत काम पनि शुरू गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्