
१३ वर्षअघि अंश वापत पाएको पाँच रोपनी धान फल्ने खेतमा सुन्तलाका बिरुवा रोप्दा बेनी नगरपालिका–४ सुर्के मेलाका डिलबहादुर केसीलाई धेरैले गाली गरे।
'बुवाले अंश दिएको १० रोपनी खेतमा सुन्तलाका बिरुवा लगाउँदा आफन्त र छिमेकीहरूले धान फल्ने खेतमा काडा रोपेर छोराछोरी भोकै पार्ने भइस् भनेर गाली गरेका थिए', ४४ वर्षीय केसीले भने, 'त्यसबेला गाली गर्नेहरू अहिले मैले सुन्तला बेचेर आम्दानी गरेको देखेर दंग परेका छन् ।'
बीस रोपनी पाखोबारी र खेतमा चार सय ५० बोट सुन्तला लगाएका केसीले यसपाली १० लाखको सुन्तला बिक्री भइसकेको र थप चार लाखको सुन्तला बिक्री गर्न बाँकी रहेको बताए।
पाँच वर्ष यूएई र मलेसियामा काम गरेर फर्किएका केसीले सुन्तला खेतीका साथै केसी मौरीपालन स्रोत केन्द्र सञ्चालन गरेर वार्षिक दुई सयदेखि तीन सय मौरीसहितको घार बिक्री गर्छन् । सुन्तला र मौरीको आम्दानीले बागलुङमा पक्की घर बनाएका केसीले दुई छोरीलाई उच्च शिक्षा पढाए । एक छोरा र छोरी निजी विद्यालयमा मावि तहको अध्ययन गर्दैछन् ।
'विदेशबाट फर्केपछि माछा, भैसी र बंगुर पालेँ', उनले भने, 'माछा र बंगुर मरेर ठूलो नोक्सान भयो । भैसीबाट आम्दानी राम्रै भएपनि धेरै दुःख र झञ्जट भयो । सुन्तला र मौरी व्यवसायबाट सफलता मिल्यो ।' कुनै पनि काममा निरन्तरको प्रयासपछि सफलता प्राप्त हुने केसीको अनुभव छ ।
मौरीसहितको प्रतिघार मौरी १० हजारका दरले बिक्री हुन्छ । म्याग्दीका साथै पर्वत, बागलुङ, कास्कीलगायत जिल्लाबाट मौरीको माग आउने गरेको छ । व्यापारीले अग्रिम पैसा दिएर सुन्तला किनेर लैजाने गरेका छन् । सुन्तला खेती र मौरीपालनबाट केसीको जीवनशैलीमा परिवर्तन आएको छ । छोराछोरी र श्रीमतीले केसीलाई कृषि फार्ममा साथ दिएका छन् ।
किसान केसीको सिको गरेर सुर्के मेलाका १६ कृषकहरूले व्यावसायिक सुन्तला खेती गरेका छन् । सुर्के मेलामा सुन्तला खेती गर्ने पहिलो कृषक केसी हुन् ।
चार सय बोट सुन्तला लगाएका सुर्के मेलाका धनराज पुनले अन्नबालीको तुलनामा धेरै गुणा बढी आम्दानी भएको बताए ।
वर्षमा आठ/दश मुरी धान फल्ने खेतमा लगाएको सुन्तलामा दश लाख भन्दा बढी कमाई हुने उनले सुनाए । सिँचाई सुविधा भएको सुर्केमेलाको भूगोल र हावापानी सुन्तला खेतीका लागि उपयुक्त मानिन्छ ।
यहाँ उत्पादित सुन्तला काठमाडौं, पोखरा, बेनीका व्यापारीले किनेर लैजान्छन् । सुर्के मेलाका कृषकलाई कृषि ज्ञान केन्द्र र बेनी नगरपालिकाको कार्यालयले सघाएका छन् ।