०६ साउन २०८३, बुधबार
सरसर्ती २४ घण्टा

धरहरा चढ्न शुल्कदेखि नेपाली फिल्म मालामालसम्म

मंसिर ९, २०८१
काठमाडौं
धरहरा चढ्न शुल्कदेखि नेपाली फिल्म मालामालसम्म

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
परीक्षणका रूपमा निःशुल्क खुला गरिएको धरहरा चढ्न अब शुल्क लाग्न थालेको छ । जसअनुसार स्वदेशी नागरिकलाई प्रतिव्यक्ति रु दुई सय शुल्क तोकिएको छ ।

विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ बमोजिम सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति रु पाँच सय र सार्कबाहेक राष्ट्रका पर्यटकलाई प्रतिव्यक्ति रु एक हजार शुल्क निर्धारण गर्न शहरी विकास मन्त्रालयले गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रस्ताव पेश गरेको थियो । 

उक्त प्रस्ताव स्वीकृत भएसँगै आइतबारदेखि धरहरा चढ्दा उल्लेखित शुल्क लाग्ने सहरी विकास मन्त्रालयले जनाएको छ ।
स्वदेशी नागरिकको हकमा भने विद्यार्थीले, ज्येष्ठ नागरिक, बालबालिका र अपाङ्गता भएका व्यक्तिहरूले धरहरा चढ्दा लाग्ने शुल्कमा ५० प्रतिशत छुट पाउने छन् ।

यस्तै, धरहरामा पार्किङ गर्दा चार पाङ्ग्रेलाई प्रतिघण्टा रु २० र दुई पाङ्ग्रेलाई रु १० तोकिएको छ ।
००००
गत दसैँदेखि प्रदर्शनमा आएका नेपाली चलचित्रले दर्शकको राम्रो साथ पाएका छन् । बेलाबखतमा उल्लेख्य शो सङ्ख्या नपाएको भन्दै चलचित्रको प्रदर्शन रोकिएता पनि गत दसैँदेखि प्रदर्शनमा आएका नेपाली चलचित्रले उल्लेख्य शो पाएका छन् । अहिले चलचित्र भवनमा स्वदेशी चलचित्रकै दबदबा देखिएको छ ।
००००
नेकपा माओवादी केन्द्रका नेता पदम राईको निधन भएको छ । पूर्वमन्त्री समेत रहिसकेका उनको शनिबार साँझ निधन भएको हो । 

उनको निधनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले निधनले दुखित बनाएको बताएका छन् ।
००००
मेडिकल व्यवसायी दुर्गा प्रसाईं चढेको गाडीको ठक्करबाट घाइते भएका व्यक्तिको मृत्यु भएको छ । 

गत कात्तिक २५ गते सुनसरीको कोशी गाउँपालिका–३ स्थित नहर चोकमा प्रसाईं सवार बागमती प्रदेश ०१–०२८ च ०२०१ नम्बरको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका सोही ठाउँका ६० वर्षीय फुलेश्वर मेहताको उपचारका क्रममा मृत्यु भएको हो।
००००
नेपालको औपचारिक भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीले शनिबार प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको दर्शन गरेका छन् । साथमा उनकी पत्नी पनि सहभागी थिइन्।

मुस्ताङ जिल्लामा अवस्थित मुक्तिनाथ मन्दिरको भ्रमण गर्नुका साथै उनले मन्दिरमा पूजा अर्चना समेत गरेका छन् । 
मुक्तिनाथमा पछिल्लो समय भारतीय पर्यटकको संख्या वृद्धि भइरहेको छ । केही समय पहिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी समेत मुक्तिनाथ पुगेका थिए ।
००००
चालू आर्थिक वर्ष २०८१–८२ को पहिलो चार महिनामा मुलुकले साढे चार खर्बभन्दा बढीको व्यापार घाटा ब्यहोरेका छ ।

भन्सार विभागले सार्वजनिक गरेको चालू आवको कात्तिक मसान्तसम्मको वैदेशिक व्यापारको विवरणअनुसार यस अवधिमा रू पाँच खर्ब १३ अर्ब ३८ करोड ८० लाख बराबरको आयात र रू ५२ अर्ब ६७ करोड बराबरको निर्यात भएको हो ।
००००
सत्तारुढ दल नेपाली कांग्रेसले मंसिर १६ गते हुने उपनिर्वाचनको लागि एमालेसँग ‘सरकारमा सहकार्य, मैदानमा प्रतिस्पर्धा’ भन्दै पार्टी पंक्तिलाई सर्कुलर पठाएको छ ।

स्थानीय तह उपनिर्वाचन केन्द्रीय संयोजन समितिका संयोजक एवं महामन्त्री विश्वप्रकाश शर्माले एमालेसँग प्रतिस्पर्धा भए पनि आपसी एकता र विश्वासको साथ अगाडि बढ्ने भन्दै सर्कुलर पठाएका हुन् ।
००००
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले शनिबार ११औं पार्टी पुनर्गठन दिवस मनाएको छ। दिवसका अवसरमा नेकपाले काठमाडौंर्मा याली निकालेको छ। र्यालीपछि महासचिव विप्लवले भृकुटीमण्डपमा आयोजित कार्यक्रमलाई सम्बोधन गरेका थिए ।
००००
प्रधानमन्त्री केपी शर्मा ओलीका बुवा मोहनप्रसाद अस्पताल भर्ना भएका छन् । 

९४ वर्षीय मोहनप्रसादलाई फोक्सो सम्बन्धी समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो । उनको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल उपचार भइरहेको छ ।
००००
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको घर अगाडि शंकास्पद वस्तु फेला परेको छ ।

झापाको गौरादह नगरपालिका–३ मा रहेको कार्कीको घर अगाडि शनिबार बिहान शंकास्पद वस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्