
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
आज सोमबार साँझ ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बस्नेगरी बैठक आह्वान भएको प्रधानमन्त्री ओलीका प्रेस संयोजक रामशरण बजगाईंले जानकारी दिए । उनका अनुसार यो मन्त्रिपरिषद्को नियमित बैठक हो । बैठकमा नियमित एजेण्डामा छलफल हुनेछ।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार आजको बैठकले धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्ने सम्भावना छ। धितोपत्र बोर्ड करिब एक वर्षदेखि नेतृत्वविहीन छ।
बोर्ड अध्यक्ष चयनका लागि गठित सिफारिस समितिले सर्टलिस्टमा परेका चार जनासँग अन्तर्वार्ता लिइसकेको छ । दुई जनाको यसअघि नै अन्तर्वार्ता लिइसकिएकोमा दुई जनाको आइतबार अन्तर्वार्ता भएको हो।
आइतबार डा नवराज अधिकारी, कृष्ण बहादुर कार्की र चिरञ्जीवी चापाईंलाई अन्तर्वार्तामा बोलाइए पनि चापागाईं अनुपस्थित रहे।
त्यसअघि सिफारिस समितिले सन्तोषनारायण श्रेष्ठ र मुक्ति श्रेष्ठको अन्तर्वार्ता लिइसकेको थियो।
चार जनाको अन्तर्वार्तापछि समितिले आइतबार बोर्डको अध्यक्ष नियुक्तिका सन्तोषनारायण श्रेष्ठ, मुक्ति श्रेष्ठ र डा.नवराज अधिकारीको नाम सिफारिस गरेको थियो ।
यीनै तीनजनाध्ये एक जनालाई सोमबारको मन्त्रिपरिषद् बैठकले बोर्डको अध्यक्ष नियुक्तिको निर्णय गर्ने सम्भावना छ ।
धितोपत्र बोर्डको ‘धितोपत्र सम्बन्धी ऐन, २०६३’को दफा ७ को उपदफा ४ मा ‘उपदफा (९३) बमोजिमको समितिले नाम सिफारिस गर्दा यस ऐनबमोजिम योग्यता पुगेका कम्तीमा तीनजना व्यक्तिको नाम सिफारिस गर्नुपर्ने व्यवस्था छ । समितिले सफारिस गरेका तीन जनामध्ये मन्त्रिपरिषद्बाट अध्यक्ष नियुक्त गर्नुपर्ने व्यवस्था रहेको छ ।