
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको पूर्वसन्ध्यामा सत्तारूढ दुई दल, नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरूले छलफल गरेका छन् । छलफल प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको हो ।
शनिबार दिउँसो भएको बालुवाटार बैठकमा एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक, एमालेका उपमहासचिव समेत रहेका प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल सहभागी थिए ।
बैठकमा प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमण र नेपालका तर्फबाट राख्नुपर्ने एजेण्डा लगायतका विषयमा कुराकानी भएको बालुवाटार स्रोतले जानकारी दियो ।
बैठकमा बीआरआईको विषयमा समझदारी निर्माण गर्न गठित कार्यदलको तर्फबाट गगन थापाले कुरा राखे । उनले कार्यदलमा भएको समझदारीबारे शीर्ष नेतृत्वलाई ब्रिफिङ गरे ।
बीआरआईको विषय पेचिलो बनेपछि दुई दलले कार्यदल बनाएका थिए । कार्यदलमा कांग्रेसबाट महामन्त्री थापा, एमालेबाट प्रधानमन्त्रीका मुख्य सल्लाहकार रिमाल र आर्थिक तथा विकास मामिला सल्लाहकार युवराज खतिवडा थिए । कार्यदलले बीआरआई ऋण नभइ अनुदानमा पहल गर्ने समझदारी जुटाएको छ । शनिबारको बालुवाटार बैठकमा थापाले सोही विषयमा प्रधानमन्त्री ओली र सभापति देउवालाई जानकारी गराए ।
प्रधानमन्त्री ओली यही मंसिर १७ गते चीन भ्रमणमा जाँदैछन्। प्रधानमन्त्रीको भ्रमण तयारीका लागि चीन पुगेकी परराष्ट्रमन्त्री आरजु राणा देउवा शनिबार नै स्वदेश फर्किएकी छन् । उनी पुन: प्रधानमन्त्रीसँगै चीन जानेछन् ।