झापा २६ कात्तिक– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर २१ गतेको चुनाव पछिमात्र माओवादीसँग पार्टी एकता हुने बताएका छन् । उनले विपक्षीले मंसिर ९ गते पार्टी एकीकरण हुने हल्ला फिजाएको आरोप लगाए ।
झापा क्षेत्र नम्वर पाँच अन्तर्गत ग्याल्डुवामा आइतवार आयोजित चुनावी सभालाई सम्वोधन गर्दै अध्यक्ष ओलीले वाम गठबन्धनविरुद्ध लागेको शक्तिले पार्टी एकीकरणको हल्ला फिजाएको आरोप लगाएका हुन् ।
ओलीले चुनावपछि पार्टी एकीकरण प्रक्रिया अगाडि बढ्ने बताए । यसअघि आइतवार प्रकाशित केही पत्रिकाले मंसिर नौ मा एमाले र माओवादीबीच पार्टी एकता गर्ने तयारी भएको समाचार प्रकाशित गरेका थिए ।
अध्यक्ष ओलीले वामपन्थी गठबन्धनको विपक्षमा केही अर्थशास्त्रीले वाम गठबन्धनले जित्यो भने अर्थतन्त्र ओरालो लाग्छ, नेप्से परिसुचक घट्छ भनेर हल्ला फिजाउन खोजेको आरोप लगाए । ‘चुनावको मुखमा उनीहरुले केही दिनमै त्यस्तो प्रतिवेदन सार्वजनिक गर्ने तयारी गरिरहेको थाहा पाएको छु’ ओलीले भने, ‘देश अव विकासको बाटोमा बढ्यो, कसैले रोकेर रोकिन्न ।’