
भारतीय गुन्डा नाइके लरेन्स विश्नोईको नाम लिएर नेपाली व्यवसायीलाई धम्क्याएको आरोपमा पक्राउ परेका झापा मेचीनगरका हरिचन्द्र फुयाँलको मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दर्जनौंपटक फोन संवाद भएको पाइएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले फुयाँललाई बिहीबार पक्राउ गरेर काठमाडौं ल्याएर अनुसन्धान गर्दा उनी र प्रसाईँबीचको फोन संवादबारे तथ्य पत्ता लागेको हो । सीआइबी स्रोतका अनुसार प्रसाईं र फुयाँलबीच दर्जनौं पटक फोन संवाद भएको पाइएको छ ।
सीआइबीले व्यवसायीलाई विश्नोईका नाम लिएर धम्की आएका समयमा फुयाँलको फोन रेकर्ड हेरेको थियो । त्यतिबेला फुयाँल र प्रसाईबीच पटकपटक फोन संवाद भएको देखिन्छ ।
सीआईबीका एसपी तथा प्रवक्ता होविन्द्र बोगटीले प्रसाईं र फुयाँलबीच फोन संवाद भएको बताए । फोन संवादको उद्देश्यबारे सीआईबीले अनुसन्धान गरिरहेको जानकारी बोगटीले दिए ।
फुयाँलले विश्नोईको नाम लिएर व्यवसायीहरूलाई प्रसाईंसँग माफी माग्न भनेका थिए । त्यतिमात्रै नभएर उनले प्रसाईँसँग माफी नमागे ज्यान लिने धम्की समेत दिएका थिए ।
सीआईबीले प्रसाईंलाई मंसिर ४ मै भक्तपुरस्थित उनको निवासबाट पक्राउ गरेको थियो ।
उनीमाथि अहिले साइबर ब्यूरोले विद्युतीय कारोबार ऐनको कसुरमा अनुसन्धान गरिरहेको छ ।
फुयाँल र प्रसाईंबीच सम्पर्क देखिएपछि साइबर ब्यूरोको अनुसन्धान पछि प्रसाईंमाथि सीआइबीले समेत अनुसन्धान गर्ने एक अधिकृतले बताए ।