२६ असार २०८३, शुक्रबार
राउण्ड अप

सरसर्ती २४ घण्टा : उपनिर्वाचनमा कांग्रेसको अग्रतादेखि आधार इलाकामा माओवादीलाई धक्कासम्म

मंसिर १७, २०८१
काठमाडौं
सरसर्ती २४ घण्टा : उपनिर्वाचनमा कांग्रेसको अग्रतादेखि आधार इलाकामा माओवादीलाई धक्कासम्म

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–

स्थानीय तह उपनिर्वाचनको जारी मतगणनाअनुसार हालसम्म नेपाली कांग्रेसले १५ वटा वडामा आफ्नो पक्षमा नतिजा ल्याउँदै अग्रता बनाएको छ ।

यस्तै नेकपा एमालेले एक गाउँपालिका र ५ वडामा जित हासिल गर्दा माओवादी केन्द्रले ४ वटा वडामा आफ्नो पक्षमा नतिजा ल्याएको छ । 
यसैगरी जनता समाजवादीले २, रास्वपा, एकीकृत समाजवादी, नेमकिपा र स्वतन्त्रले १–१ वडा जितेका छन् । बाँकी स्थानमा मतगणना जारी रहेको आयोगले जनाएको छ । आइतबार ४१ पदका लागि उपनिर्वाचन भएको थियो ।
००००
तत्कालीन माओवादी जनयुद्धको आधार इलाकाका रुपमा परिचित रुकुम र रोल्पाको वडामा माओवादीको विपक्षमा उपनिर्वाचनको नतिजा आएको छ ।
 आइतबार सम्पन्न स्थानीय तह निर्वाचनको नतिजाअनुसार रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नं ५ मा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । 
यसैगरी रोल्पाको रुन्टिगढी गाँउपालिकाको वडा नम्बर ४ को अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार भुपमणि पुन बिजयी भएका छन् ।
००००
प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि सोमबार बिहान चीनको बेइजिङ प्रस्थान गर्ने भएका छन् । चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा उनले २० गतेसम्म चीनको औपचारिक भ्रमण गर्न लागेका हुन् ।
००००
सर्वोच्च अदालतले कोशी प्रदेशका पूर्वमन्त्री एवं नेकपा एमाले नेता लिला बल्लभ अधिकारीमाथि मुद्दा नचलाउने निर्णयविरुद्ध परेको रिट निवेदनलाई दरपीठ गरेको छ ।
रजिष्ट्रार भद्रकाली पोखरेलले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले पेस गरेको रिट निवेदन दरपीठ गरेका हुन् ।
००००
मन्त्रिपरिषद् बैठकले २० मिलियन अमेरिकी डलर नगद अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । सो सम्बन्धी सहमति आदानप्रदान पत्रको मस्यौदा स्वीकृत गरी हस्ताक्षर गर्ने जिम्मेवारी अर्थ मन्त्रालयका सचिवलाई दिने निर्णय भएको छ । 
००००
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कोकिनसहित आज एक केन्याली महिला पक्राउ परेकी छिन् ।
सशस्त्र प्रहरी बल नेपाल विमानस्थल भन्सार सुरक्षा बेस र विमानस्थल भन्सार कार्यालयको संयुक्त जाँचका क्रममा हाते झोलाभित्रको खेलौनामा लुकाएर ल्याइएको ६ किलो आठ सय ४० ग्राम कोकिन जस्तो पदार्थसहित केन्याली महिला छिलियन केरुबो ओगिटो पक्राउ परेकी हुन् ।
००००
भारतीय गुन्डा नाइके लरेन्स विश्नोईको नाम लिएर नेपाली व्यवसायीलाई धम्क्याएको आरोपमा पक्राउ परेका झापा मेचीनगरका हरिचन्द्र फुयाँलको मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दर्जनौंपटक फोन संवाद भएको पाइएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले फुयाँललाई बिहीबार पक्राउ गरेर काठमाडौं ल्याएर अनुसन्धान गर्दा उनी र प्रसाईँबीचको फोन संवादबारे तथ्य पत्ता लागेको हो । सीआइबी स्रोतका अनुसार प्रसाईं र फुयाँलबीच दर्जनौं पटक फोन संवाद भएको पाइएको छ ।
००००
न्याय परिषद्मा एक पद रिक्त भएको छ ।
नेपाल बार एसोसिएसनका तर्फबाट सिफारिश गरी नियुक्त भएका परिषद् सदस्य रामप्रसाद श्रेष्ठको पदावधि मंसिर १४ गतेसम्म मात्र रहेकाले १५ गते आइतबारदेखि उक्त पद रिक्त भएको हो ।
००००
यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेको छ ।
आइतबार परिसूचक नौ दशमलव ९९ अङ्कले घटेर दुई हजार सात सय ३८ दशमलव शून्य छको बिन्दुमा कायम भएको हो ।
००००
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गत बिहीबारदेखि काठमाडौं प्रहरीको हिरासतमा छन् । 
बिहीबार साँझ काठमाडौं ल्याइएका उनलाई जिल्ला सरकारी वकिल कार्यालयमा बयान दिन आइतबार दोस्रोपटक लगिएको छ । दिनभरजसो सरकारी वकिल कार्यालयमा बयान लिएर साँझ मात्रै परिसरमा ल्याइन्छ ।
००००
सहकारी ठगी प्रकरणमा जोडिएका नेपाल प्रहरीका पूर्वडीआईजी तथा गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक छविलाल जोशी बञ्जाडेलाई बयानका लागि चितवन लगिएको छ । 
पोखरा प्रहरीको हिरासतमा रहेका उनलाई हवाई जहाजमार्फत आइतबार दिउँसो चितवन लगिएको हो । चितवनको साहारा सहकारीको रकम अपचलन मुद्दामा बयानका जोशीलाई चितवन ल्याएको चितवन प्रहरी प्रमुख, एसपी गौतम मिश्रले लोकान्तरलाई जानकारी दिए ।
००००
नवनियुक्त राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित एक समारोहका बीच आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्