०५ साउन २०८३, मंगलबार
सहकारी ठगी प्रकरण

काठमाडौंमा रविको बयान– स्वर्णलक्ष्मीबाट लिएको ऋण व्यक्तिगत नभएर संस्थागत

आफू गोरखा मिडियामा जानुअगावै जीबीले पैसा लगिसकेको दाबी
मंसिर १७, २०८१
काठमाडौं
काठमाडौंमा रविको बयान– स्वर्णलक्ष्मीबाट लिएको ऋण व्यक्तिगत नभएर संस्थागत

सहकारी ठगीको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा लगातार ३ दिन बयान दिएका छन् ।

कास्कीको पोखराबाट काठमाडौं ल्याइएका रविले शुक्रबार, आइतबार र सोमबार काठमाडौंस्थित जिल्ला सरकारी वकिलको कार्यालयमा उपस्थित भएर बयान दिएका हुन् । 

गोरखा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक समेत रहेका रविले बयानका क्रममा कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीबाट लिएको ऋण आफ्नो नभई संस्थागत भएको बताए । स्वर्णलक्ष्मीबाट गोरखा मिडियामा २ करोड २८ लाख ९८ हजार ४ सय ८० रुपैयाँ गएको देखिन्छ । 

सरकारी वकिलको प्रश्नमा रविले स्वर्णलक्ष्मी सञ्चालक समितिको अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई आफैं रहेको र उनले नै गोरखा मिडियालाई ऋण दिएको हुन सक्ने जवाफ दिएका हुन् । रवि गोरखा मिडियामा १५ प्रतिशत शेयर प्राप्त गरेका साझेदार र बैंक खातामा हस्ताक्षर चल्ने अखियारीसहितको प्रबन्ध निर्देशक भएका हैसियतले उनलाई ऋणको कानूनी जवाफदेहिताबारे प्रश्न सोधिएको थियो । 

‘साझेदारले कम्पनीबाट तलब लिने, कम्पनीको नाफामा अंशियार हुने, तर कम्पनीले गरेका कुनै पनि गैरकानूनी कसुरमा भागीदार नहुने कुरा कानूनले कल्पना गर्छ र ?,’ रविलाई सोधिएको प्रश्नबारे उल्लेख गर्दै एक अनुसन्धान अधिृकतले भने, ‘जवाफमा उनी आफू गोरखा मिडियामा जानुअघि नै जीबीले सहकारीबाट रकम लगिसकेको बयान दिएर पन्छिए ।’ 

तर, स्वर्णलक्ष्मीबाट गोरखा मिडिया नेटवर्कका तत्कालीन अध्यक्ष जीबी र प्रबन्ध निर्देशक रविको संयुक्त नाममा दुईपटक ऋण लिएको देखिन्छ । उनीहरूको संयुक्त नाममा २०७८ भदौ ७ गते ‘फर ह्वाट एभर लोन’बापत ४६ लाख ९८ हजार ऋण लिएकोमा अझै १४ लाख ७६ हजार ३ सय ६७ रुपैयाँ चुक्ता गर्न बाँकी छ । 

त्यस्तै, २०७८ पुस १ गते ईको सेभेन सोएट भ्यान खरिदका लागि जीबी र रविकै संयुक्त नाममा ४६ लाख ८८ हजार ऋण लिएको पाइएको छ । त्यसमध्ये पनि २९ लाख ५८ हजार ४३३ रुपैयाँ तिर्न बाँकी रहेको देखिन्छ । 

‘तपाईं र जीबीको संयुक्त नाममा स्वर्णलक्ष्मीबाट ऋण लिएको देखियो, जीबी फरार छन्, तपाईं पनि त्यो ऋणको भागीदार बन्नुपर्ने होइन र ?’ भन्ने प्रश्नमा रविले संस्थागतरूपमा खरिद गरिएका गाडीको ऋणको भार आफूले नभएर संस्थाले नै व्यहोर्नुपर्ने जवाफ दिएका थिए ।

रविले बयानमा जीबीले नै उक्त ऋण चुक्ता गर्नुपर्ने जवाफ दिएको एक अनुसन्धान अधिकृतले लोकान्तरलाई बताए । रविको बयान उद्धृत गर्दै ती अनुसन्धान अधिकृतले लोकान्तरसँग भने, ‘मैले लोन लिएको प्रमाणका लागि मेरो नागरिकता, मेरो ल्याप्चे र केवाईसी फारम भरेको हुनुपर्ने होला, मविरुद्ध फेला परेका प्रमाणले कानूनी दायित्व बोक्नुपर्ने भए बोक्छु ।’ 

रूपन्देहीको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थामा रवि आफैंले हस्ताक्षर गरेर बुझाएको ४० लाख ४२ हजारको चेक भेटिएको छ । 

सुप्रिमबाट गोरखा मिडियामा साढे ६ करोड रुपैयाँ ऋण प्रवाह भएको थियो । रवि आफैंका नाममा समेत २ करोड ऋण प्रवाह भएको देखिन्छ । 

सुप्रिमलाई तिरेको रकम रवि आफैंले लिएको ऋण हो वा गोरखा मिडियाको ऋण हो यसबारे तथ्य बाहिर आएको छैन । कास्की प्रहरीले सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गर्दा रविको खातामा ३५ करोड र उनकी पत्नी निकिताको बैंक खातामा १५ करोड बढी कारोबारको विवरण फेला परेको छ । 

काठमाडौं प्रहरी प्रमुख एसएसपी बसन्त रजौरेले रविको बयान सकिएपछि कास्की पठाउने बताए । 

कमेन्ट गर्नुहोस्