
मधेश प्रदेशमा दुईजना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) र प्रहरी उपरीक्षक (एसपी) को दरबन्दी छ । अहिले एकजना पनि एसएसपी पठाइएको छैन । दुईमध्ये एक एसपी मात्रै कार्यरत छन् ।
गत भदौ १६ गते बागमती प्रदेशका एसएसपी रविकुमार पौडेलले अवकाश पाएपछि उनको स्थानमा कसैलाई पनि पठाइएको छैन । त्यहाँ पनि दुईजना एसएसपीको दरबन्दी छ ।
गण्डकी प्रदेशका एसएसपी रविन्द्र रेग्मीले गत भदौ १६ गते अवकाश पाएपछि उनको स्थानमा कसैलाई पनि पठाइएको छैन ।
मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशपछि लुम्बिनी तथा कर्णाली प्रदेशमा समेत एसएसपी पठाइएको छैन ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी उमाप्रसाद चतुर्वेदी प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा भएपछि त्यहाँको चेन अफ कमान्ड फराकिलो बनेको छ ।
अहिले ट्राफिकमा डीआईजी भरतबहादुर बोहोरापछि एकैपटक डीएसपीको चेन अफ कमान्ड छ ।
एसपी विश्वराज खड्का जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रमुख भएर गएपछि ट्राफिक कार्यालयमा डीआईजीपछि एकैपटक डीएसपीले कमान्ड सम्हाल्नुपरेको छ ।
नियमित बढुवा नहुँदा खाली रहेका दरबन्दी पूर्ति गर्न नसकिएको प्रहरी मुख्यालयको भनाइ छ । हाल नेपाल प्रहरीमा २४ जना एसएसपी (४ प्राविधिक) सहित ४ हजार ७१ दरबन्दी खाली रहेको छ ।
प्रहरी केन्द्रीय प्रवक्ता डीआईजी दानबहादुर कार्कीका अनुसार प्राविधिकतर्फ ५४२ र जनपदतर्फ ३ हजार ५२१ जनाको दरबन्दी खाली छ । कार्कीका अनुसार दुई प्राविधिकसहित २३ जना प्रहरी उपरीक्षक (एसपी), एक जना प्राविधिकसहित ५१ जना प्रहरी नायब उपरीक्षक (डीएसपी), प्राविधिकसहित ६८ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)को दरबन्दी खाली छ ।
त्यस्तै, ११ प्राविधिकसहित २८ जना वरिष्ठ प्रहरी नायब निरीक्षक (वरिष्ठ सई), ३० जना प्राविधिकसहित १०५ जना प्रहरी नायब निरीक्षक (सई), ९५ जना प्राविधिकसहित ७२९ जना प्रहरी सहायक निरीक्षक (असई), ३५ जना प्राविधिकसहित १५९ जना वरिष्ठ हवल्दार, १३२ जना प्राविधिकसहित ६५ जना हवल्दार, ९७ प्राविधिकसहित १२३ जना सहायक हवल्दार, १०३ जना प्राविधिकसहित २ हजार ५३९ जना जवान र ४७ जना कार्यालय सहयोगीको दरबन्दी खाली छ ।
प्रहरी मुख्यालयले शुक्रबार मात्रै जवानतर्फ एक हजार १ सय ६५ जना, कार्यालय सहयोगीतर्फ ४७ जना र कुचीकारतर्फ ११ जनाको भर्ना खुलाएको छ ।
डीआईजी कार्कीले खाली रहेको धेरै संख्याको पूर्ति आन्तरिक बढुवाबाटै हुने बताए । उनले जवान, भान्से र कुचीकारको हकमा भने भर्ना खुलाइएको बताए ।
बढुवा समितिको बैठक बस्न गृहसचिव आज उपत्यका बाहिर रहेकाले आइतबार मात्रै बढुवा प्रक्रिया अगाडि बढ्ने स्रोतले बतायो ।
संख्या २०, प्रतिस्पर्धी ७४
एसपीबाट एसएसपी बढुवा पेचिलो हुने देखिन्छ । जनपदतर्फ २० सीट खाली छ । तर, प्रतिस्पर्धी ७४ जना छन् । ७४ जनाको कार्यसम्पादन मूल्यांकन हेरेर बढुवा गर्नुपर्ने हुन्छ ।
बढुवाका आकांक्षीमध्ये एसपीहरू विमल बस्नेत, गोविन्द अधिकारी, विनोद सिलवाल, रमेश थापा, प्रकाश रानाभाट, विमलराज कंडेल, कमल थापा, जनार्दन जिसी, कृष्णप्रसाद कोइराला, सन्तोष खड्का, रञ्जु सिग्देल, अनुपम शमशेर जबरा, श्यामकुमार महतो, कृष्णप्रसाद पंगेनी, अजय केसी, नवराज अधिकारी, वीरबहादुर बुढामगर, तुलबहादुरबहादुर कार्की, होविन्द्र बोगटी, वेद विष्ट, राकेश सिंहबीच प्रतिस्पर्धा हुने देखिन्छ ।