
बुटवलमा प्रथम मगर साहित्य महोत्सव शुरू भएको छ । जीतगढी किल्लामा आयोजित महोत्सवको शुक्रबार उपसभामुख इन्दिरा रानाले उद्घाटन गरेकी छिन् ।
सो अवसरमा बोल्दै रानाले मातृ भाषा र सँस्कृतिको संरक्षणमा जातीय एकता आवश्यक रहेको बताइन् ।
मुलुकको परिवर्तनहरूमा मगर समुदायले खेलेको भूमिका बारे चर्चा गर्दै रानाले अब आफ्नो पहिचान खोज्नुपर्ने बेला आएको उल्लेख गरिन् ।
आफ्नो धरातललाई भुल्न नहुने उल्लेख गर्दै उनले सबै जातजाति, धर्म–सँस्कृति, परम्परा तथा राजनीतिक विचारलाई सम्मानले मात्र एकता र समृद्धि सम्भव भएकोमा जोड दिइन् ।
मगर समुदायको भाषा, साहित्य, इतिहास र परम्पराको संरक्षणमा टेवा पुग्नेगरी ‘आफ्नो कथा आफै लेखौं’ भन्ने मूल नाराका साथ महोत्सव आयोजना गरिएको कार्यक्रम संयोजक निर्मला थापाले बताइन् ।
महोत्सवमा विभिन्न ७ वटा प्यानल डिस्कशनका कार्यक्रम रहेका छन् ।
