२४ जेठ २०८३, आइतबार

निर्माण व्यवसायीको वक्यौता भुक्तानी एक हप्ताभित्र हुन्छ : अर्थमन्त्री पौडेल

मंसिर २२, २०८१
काठमाडौं
निर्माण व्यवसायीको वक्यौता भुक्तानी एक हप्ताभित्र हुन्छ : अर्थमन्त्री पौडेल

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले एक साताभित्र निर्माण व्यवसायीको वक्यौता भुक्तानी गर्ने बताएका छन् । निर्माण व्यवसायीले काम सम्पन्न गरेर पनि अर्बौं रूपैयाँ भुक्तानी पाउन सकेका छैनन् । गत आर्थिक वर्षकै भुक्तानी पाउन बाँकी रहेको निर्माण व्यवसायीहरूको दाबी छ । त्यो अवस्थामा अर्थमन्त्री पौडेलले एक साताभित्र निर्माण व्यवसायीको भुक्तानी फर्छ्योट हुने बताएका हुन् ।
 
शनिबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्माण व्यवसाय प्रवर्द्धन व्यवस्थापन कार्यान्वयन समिति र नेपाल निर्माण व्यवसायी महासंघसँगको सहकार्यमा आयोजना गरेको ‘विकास बजेटको परिचालः सरकार र निजी क्षेत्रको भूमिका’ विषयक छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् । 

‘आज शनिबार (विदा) भइहाल्यो । तपाईंहरूको भुक्तानी बाँकी कुन कुन मन्त्रालय र निकायमा छ, भोलि (आइबार) जानुस, भोलि नै भुक्तानी हुनेछ । भोलि भएन भने पर्सि (सोमबार) त भुक्तानी हुनेछ । ढिलोमा पनि एक सातामा भुक्तानी हुनेछ । त्यसरी पनि भुक्तानी पाउनु भएन भने म कहाँ आउनुस, त्यसपछि बसेर छलफल गरी उचित निकास निकाल्नेछौं,’ उनले भने, ‘तर, वक्यौता कति हो भन्नेमा अन्योल छ । मेरो तथ्यांक एउटा छ । तपाईंहरूले भन्ने गरेको वक्यौता रकम फरक छ । वक्यौता कहाँ कति हो, निर्क्योल गर्नुस् । भुक्तानीको समस्या हुँदैन ।’

यस्तै, निर्माण व्यवसायीलाई ऋण भुक्तानीका लागि म्याद थप गर्ने विषयमा नेपाल राष्ट्र बैंकसँग छलफल गरेर उचित निकास निकाल्ने मन्त्री पौडेलले बताए । निर्माण व्यवसायीले ऋण तिर्नुपर्ने म्याद यही मंसिर मसान्तसम्म रहेको छ ।

सरकार र निर्माण व्यवसायीको सम्बन्ध कस्तो हुनुपर्छ भन्ने विषयमा पनि स्पष्ट हुनुपर्ने अर्थमन्त्री पौडेलले बताए । ‘हामीले एक अर्कालाई दोष दिएर समस्या समाधान हुँदैन । सरकार र निर्माण व्यवसायीको सम्बन्ध राम्रो हुनुपर्छ । हामी नदीका दुई किनारा होइनौं। हामी एउटै डुंगामा अघि बढ्नुपर्छ,’ अर्थमन्त्री पौडेलले भने, ‘यहाँहरू आफूलाई सरकार भनेर बझ्नुस् । हामी आफूलाई व्यवसायी भनेर सम्झन्छौं । अनि समस्या समाधान हुन्छ ।’

salt training

कमेन्ट गर्नुहोस्