
काठमाडौं महानगरपालिकाभित्र सञ्चालनमा रहेका मः म पसलमा कार्यस्थल, भान्छा र व्यक्तिगत सरसफाइ तथा स्वच्छतामा समस्या भेटिएको छ ।
गएको कात्तिक २९ गतेदेखि महानगरपालिकाका फुड टेक्नोलोजिष्ट, माइक्रोवायोलोजिष्टसहितको टोलीले अहिलेसम्म अनगुमन गरेका ८५ वटा मः म बनाउने होटल तथा रेष्टुरेन्टमध्ये ७५ वटा (८८.२४%) मा सरसफाइ मुख्य समस्या देखिएको ‘अनुगमन प्रतिवेदन’मा उल्लेख छ ।
यससँगै ६६ वटा (७७.६५%) प्रतिशतमा भान्छा र कार्यस्थलको सरसफाइमा कमजोरी छ । १८ वटा (२१.१८%) व्यवसाय दर्ता नै भएका छैनन् ।
प्रतिवेदनमा उल्लेख भए अनुसार म:म बनाउनेहरूले दैनिक रूपमा प्रयोग गर्ने एप्रोनसमेत फोहोर छ । भान्छामा लगाउने वा होटलमा लगाउने एप्रोन बाहिर पनि लगाउने गरेका छन् । मसला राख्ने भाँडा फोहोर छ । भान्छाको भुइँमा पानी जमेर फोहोर छ । डस्टबिनको उचित प्रयोग भएको छैन ।
पकाएका खानेकुरा खुला राख्ने गरिएको छ । मांसाहारी र शाकाहारीका भोजन सँगसँगै भण्डारण गर्ने गरिएको समेत अनुगमनमा भेटिएको छ । पकाएको र नपकाएका खानेकुरा पनि सँगसँगै राखिएको छ । किराको समस्या समाधान गर्न आफैं रसायनको प्रयोग गर्ने गरिएको पाइएको छ ।

फ्रिजको सफाइ नगरिएको, फ्रिजमा अटुञ्जेल सामान कोचेर राख्ने गरिएको, त्यहाँ राखिएको अचार र मसलामा लेवल राखिएको छैन । मसला राख्ने भाँडा, मः म बनाउने टेबल र मेसिन फोहोर रहेको पाइएको छ ।
समस्या समाधानका लागि अनुगमन टोलीले स्थलगत रूपमै निर्देशन र सुझाव दिने गरेको छ । यसरी दिइएको सुझावका आधारमा ८ वटा होटल, रेष्टुरेन्टले सुधार गरेको भिडियो र फोटोसहितको प्रमाण लिएर विभागमा उपस्थित भएका छन् । सरसफाइ र स्वच्छतामा कमजोरी देखिएका पसलहरूलाई सुधारका लागि निर्देशन दिइएको छ । यस्तै, दर्ता नभएका व्यवसायलाई दर्ताका लागि समय दिइएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।