२८ असार २०८३, आइतबार

सङ्क्रमणकालीन न्यायसम्बन्धी २ आयोगको संक्षिप्त सूची रद्द गर्न माग

मंसिर २३, २०८१
काठमाडौं
सङ्क्रमणकालीन न्यायसम्बन्धी २ आयोगको संक्षिप्त सूची रद्द गर्न माग

सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले प्रकाशन गरेको संक्षिप्त सूची रद्द गर्न माग गरिएको छ ।

दुवै आयोगका सदस्य श्रीराम अधिकारीले आफ्नो नाम संक्षिप्त सूचीमा नराखेको प्रति आपत्ति जनाउँदै आइतबार सिफारिस समिति समक्ष निवेदन दिएका छन् ।

आफू सदस्य पदका लागि योग्य रहे पनि संक्षिप्त सूचीमा नराखिएकोमा आपत्ति जनाउँदै उनले प्रकाशित संक्षिप्त सूची रद्द गरी पुनः प्रक्रिया शुरू गर्न माग गरेका छन् ।

योग्य रहेकै कारण २०७४ सालको सिफारिस समितिले आफूलाई संक्षिप्त सूचीमा राखेको भए पनि अहिलेको सिफारिस समितिले पूर्वाग्रह राखेर आफूलाई संक्षिप्त सूचीमा नराखेको उनको आरोप छ ।

संक्षिप्त सूची पारदर्शी नभएको पनि उनको दाबी छ । 

केही दिन अगाडि मात्रै सङ्क्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका लागि पदाधिकारी सिफारिस समितिले ४० जनाको नाम छनोट गरेको थियो ।

समितिले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारीका लागि अध्यक्षमा आठ र सदस्यमा ३२ जनाको नाम छनोट गरेको छ ।

अध्यक्ष पदका लागि डिल्लीराज आचार्य, अच्युतप्रसाद भण्डारी, विजय सिजापती, विश्वराज कोइराला, सुदीप पाठक, महेश थापा, शेरबहादुर केसी र काशीराज दाहालको छनोट भएका छन् ।

सरकारले गत कात्तिक २ गते पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा सिफारिस समिति गठन भएको थियो । समितिलाई दुई महिनाभित्र कार्यअवधि दिइएको थियो ।

दुई आयोगका पदाधिकारीका लागि एक सय ५६ जनाको आवेदन परेको थियो । सिफारिस समितिको कार्यअवधि आगामी पुस २ गतेसम्म रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्