
नेपाली सेनाले संयुक्त राष्ट्र संघीय शान्ति मिसन अन्तर्गत मध्य अफ्रिकी गणराज्यमा तैनाथ शान्ति सेनाको अदलीबदली गरेको छ ।
युनाइटेड नेसन्स मल्टिडामेन्सनल इन्टिग्रेटेड स्टेबलाइजेशन मिसन इन द सेन्ट्रल अफ्रिकन रिपब्लिक (मिनुस्का)मा तैनाथ श्री महावीर गण (रेञ्जर) (शान्ति सेना) दोस्रो डफ्फालाई बदली गर्नका लागि श्री युद्धभैरव गण (शान्ति सेना) तेश्रो डफ्फाका २२५ जना नेपाली शान्ति सैनिकहरूको पहिलो टोली त्यसतर्फ पठाइएको हो ।
प्रमुख सेनानी प्रमोद कुमार शर्माको नेतृत्वमा संयुक्त राष्ट्रसंघको चार्टड विमानद्वारा नेपाली शान्ति सैनिकहरू मिसन इलाकातर्फ प्रस्थान गरेका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

यसअघि सोही मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरी दोस्रो डफ्फामा कार्यरत २२५ जना शान्ति सैनिकहरू सेनानी हरी कुमार पाण्डेको नेतृत्वमा मंगलबार नै स्वदेश फिर्ता भएका छन् ।
हाल शान्ति मिसनमा नेपाली सेनाका १२४४ जना शान्ति सैनिकहरू कार्यरत छन् ।