१९ असार २०८३, शुक्रबार

गोरखा २ मा बाबुराम र नारायणकाजीको भिडन्त ? कसको पल्ला भारी ?

कात्तिक २७, २०७४
गोरखा २ मा बाबुराम र नारायणकाजीको भिडन्त ? कसको पल्ला भारी ?

गोरखा, २७ कात्तिक– प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिएसँगै गोरखा २ मा पूर्वसहयात्री डा बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले पछिल्ला दिन मतदातालाई आफ्नो पक्षमा पार्न घरदैलो र चुनावीसभालाई आक्रमकरुपमा अघि बढाइरहेका छन् । 

कुनै बेलाका माओवादी उपाध्यक्ष रहेका डा भट्टराई र सहयात्री श्रेष्ठ कात्तिक ५ गते मनोनयन दर्ता गरेपछि एकअर्काविरुद्ध प्रतिस्पर्धामा उत्रिएका मात्र छैनन््  ‘जोगी देखेर भैँसी डराउने, भैँसी देखेर जोगी डराउने भने’जस्तै पराजित हुने हो कि भन्ने डर र चिन्तामा पनि छन् । 

एकअर्काविरुद्ध व्यक्तिगत रिसइबी तथा तिक्तता नभएको बताए पनि उनीहरुबीच चर्को तिक्तताले चुनावीसभा र घरदैलोमा गरेका भाषण र अभिव्यक्तिले देखाउँछ । एकले अर्कोको अस्तित्व अस्वीकार गर्दै दुवै प्रभावशाली नेताले आफू विकासप्रेमी भएको दाबी गरिरहेका छन् । 

डा भट्टराई र श्रेष्ठका भाषण सुन्दा एकले अर्कोलाई निषेध गर्ने ढंगका आरोप–प्रत्यारोप गरिएको सुनिन्छ । जनताले डा भट्टराई र श्रेष्ठ दुवै जिल्ला र देशलाई आवश्यक पर्ने नेता भएको प्रतिक्रिया दिए पनि नेताहरु एकअर्काविरुद्ध खनिएका छन् । 

जनताले कसलाई विकासवादी र भोलि पनि चाहिने नेता बनाउँछन् त्यो हेर्न महिना दिन धैर्य गर्नुपर्नेछ । डा भट्टराई र श्रेष्ठ दुई विपरीत ध्रुवको प्रतिनिधित्व गर्दै चुनावी तालमेलमा रमाइरहेका छन् । 

देशका दुई वटा शक्ति नेपाली काँग्रेस र नेकपा एमालेले क्रमशः समाजवाद र साम्यवादको धार लिएको देखिन्छ । आखिरमा देशमा दुई शक्तिको दबदबा रहेको यसपटकको गठबन्धनले देखाएको छ । काँग्रेसले प्रतिनिधित्व गरेको लोकतान्त्रिक ध्रुवमा राप्रपालगायतका दल चुनावी गठबन्धनमा छन् भने एमालेले प्रतिनिधित्व गरेको धु्रवमा नेकपा माओवादी केन्द्रलगायतका शक्ति अटाएका छन् । 

गोरखा २ चर्चाको शिखरमा हुनाको अर्को कारण पनि छ । सशस्त्र द्वन्द्वको नेतृत्वमा रहनुभएका डा भट्टराई त्यसबेला द्वन्द्वरत माओवादीलाई दबाउन खोज्ने नेपाली काँग्रेसको साझा उम्मेदवार बनेर अगाडि आएका छन् भने जनयुद्ध धोका हो, फाँसीवादी क्रियाकलाप हो भन्दै सशस्त्र द्वन्द्वमा नगएका नारायणकाजी श्रेष्ठ सशस्त्र द्वन्द्व छेडेको माओवादी पार्टी र द्वन्द्वकै कटुआलोचक एमालेको साझा उम्मेदवार बनेका छन् । 

द्वन्द्वमा राज्यपक्ष वा तत्कालीन विद्रोही शक्ति माओवादीबाट हत्या गरिएकाको शहिद परिवार, घाइते, अपांगता भएका अहिले धर्मसंकटमा छन् । काँग्रेस निकटका द्वन्द्वपीडितले पत्रकार सम्मेलन गरी मुख खोलिसकेका छन् कि सशस्त्र द्वन्द्वका नेतृत्वकर्तासमेत रहेका भट्टराईलाई भोट दिन सक्दैनौँ भनेर । माओवादीभित्रका द्वन्द्वपीडितको पनि अवस्था उस्तै छ – हिजो ‘जनयुद्ध’ धोका ठान्ने श्रेष्ठलाई पार्टीको ह्वीपअनुसार भोट दिने कि नदिने ? 

चुनावका हरेक सभामा एउटा पार्टी छाडेर अर्को पार्टीमा प्रवेश गरेको दृश्य रोचक देखिन्छ । कोही त कार्यक्रम गरेपिच्छे पार्टी परिवर्तन गर्छन्, शीर्ष नेताको हातबाट अबीर लगाउँछन् । प्रायः स्वार्थी चुनावपिच्छे पार्टी परिवर्तन गरिरहेका हुन्छन् । डा भट्टराई र श्रेष्ठको प्रायः सबैजसो कार्यक्रममा एक÷दुई जना पार्टी प्रवेश गरिरहेकै हुन्छन् । कहिले नयाँ शक्ति छाडेर माओवादीमा, कहिले माओवादी छाडेर नयाँ शक्तिमा त कहिले काँग्रेस छाडेर एमाले, एमाले छाडेर काँग्रेस । 

एघार वटा स्थानीय तह रहेको गोरखामा नौ वटा तहको प्रमुख पद काँग्रेसले जितेको छ । त्यस बेला गोरखामा शान्त चुनाव भएको थियो । झडप भएन । कुटपिट गर्न नसक्दा आफ्नो पार्टीले हार व्यहोर्नुपरेको समीक्षा गरेका दलले यसपटक झडप गर्ने, जिल्ला बाहिर रहेका मतदातामा त्रास फैलाउने गतिविधिको छनक दिइरहेका छन् । 

दलले सामाजिक सञ्जाल ‘फेसबुक’ तथा ‘ट्वीटर’बाट चुनावी प्रचारलाई व्यापक बनाएका छन् । विभिन्न प्रकृतिका ब्लग खोलेर झूठा, भ्रमपूर्ण समाचार एकअर्काविरुद्ध हुनेगरी पोस्ट गरे पनि अनुगमन गर्ने निकाय मौन छ । उम्मेदवारका भाषण सामाजिक सञ्जालमा पोस्ट गरिएका छन् । 

चुनाव भट्टराई वा श्रेष्ठ कसको पक्षमा आउँछ भन्नसक्ने एउटा आधार पनि छैन । चुनावमा को बलियो भनेर गत स्थानीय तहमा आएको दलको भोट हिसाब गर्ने गरिएको छ । यस आधारमा नेपाली काँग्रेस, नयाँ शक्ति, राप्रपाका साझा उम्मेदवार लोकतान्त्रिक गठबन्धनको मत गोरखा २ मा २४ हजार ९६५ पुग्छ जुन वाम गठबन्धनको भन्दा १५८ मत बढी हो । 

स्थानीय तह निर्वाचनपछि थपिएका १८ हजार गोरखाली मतदाताले कसको पल्ला भारी गर्छन् त्यो हेर्न बाँकी छ । डा भट्टराईले आफू अर्थमन्त्री र प्रधानमन्त्री रहँदा राज्यको बजेट परिचालन गरी बनाएका पुल, बाटो, खानेपानीलगायतका योजना विकासको जग भएको दाबी गर्दै मतदातासँग भोट मागिरहेका छन् । श्रेष्ठले त्यो विकास निर्माणका कार्य भट्टराई व्यक्तिले होइन माओवादी पार्टीले गरेको हो भन्ने तर्क गरिरहेका छन् । 

डा भट्टराईले ‘श्रेष्ठ माओवादी नै होइनन्’ सम्म भनेका छन् भने श्रेष्ठले समृद्धिको नारा दिने नयाँ शक्तिका संयोजक डा भट्टराई ‘सिन्को पनि भाँच्दैनन्’ भनिसकेका छन् । आरोप–प्रत्यारोप कहाँसम्म पुगेको छ भन्ने अन्दाज यहीँबाट लगाउन सकिन्छ । दुवै नेताले जनतासँग भोट माग्न अनेक उपाय लगाएका छन् । जितका लागि भट्टराईलाई काँग्रेसका कार्यकर्ता इमान्दार हुनुपर्नेछ भने श्रेष्ठका लागि एमालेका कार्यकर्ताको भर । 

डा भट्टराई विसं २०७० को निर्वाचनमा रुपन्देहीमा एमाले नेता विष्णु पौडेलसँग भएका थिए भने श्रेष्ठ मकवानपुरमा पराजित भएका थिए । भट्टराई र श्रेष्ठ दुवै संसद्मा आवश्यक पर्ने नेता भए पनि एकअर्काविरुद्ध प्रतिस्पर्धामा उत्रिएपछि गोरखाका मतदाता निराश छन् । 

मतदाता फकाउन डा भट्टराईले भविष्यमा काँग्रेससँग एकता पनि हुनसक्ने बताइसकेका छन् । यस्तै, श्रेष्ठले झुक्किएर बाबुरामजीले जित्नुभयो भने पनि स्वतन्त्र सांसद मात्रै हुने हो, संसद्मा हस्तक्षेप गर्न सक्ने हैसियत राख्दैनन् भन्ने कुरा मतदातासामु राखिसकेका छन् । भट्टराई वा श्रेष्ठमध्ये कसले चुनाव जित्छन् भन्ने उत्सुकता जिल्लाभित्र र बाहिर पनि उत्तिकै रहेको देखिन्छ । 

salt training

कमेन्ट गर्नुहोस्