२१ असार २०८३, आइतबार

नीतिगत सुधार पर्खंदै टेलिकम कम्पनी, घट्दो क्रममा आम्दानी

मंसिर २७, २०८१
काठमाडौं
नीतिगत सुधार पर्खंदै टेलिकम कम्पनी, घट्दो क्रममा आम्दानी

झण्डै तीन दशकअघि बनेको कानूनमा समयसापेक्ष संशोधन नहुँदा टेलिकम कम्पनीहरू मारमा परेका छन् । अत्यधिक नवीकरण शुल्क, सेवा प्रदायकबीचको व्यवहार, ओभर द टप (ओटीटी) प्लेटफर्महरूको बढ्दो प्रयोग र ओटीटी प्लेटफर्मलगायतलाई नियमन गर्न नसक्दाको मारमा टेलिकम सेवाप्रदायक कम्पनी परेको विज्ञहरूको बुझाइ छ । यसबाट टेलिकम सेवाप्रदायकको आम्दानी घट्नुका साथै गुणस्तर सुधार, सेवा विस्तार र भावी योजनामा पनि असर परेको छ । 

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार पछिल्लो पाँच वर्षमा टेलिकम सेवाप्रदायकको आम्दानी घट्दो क्रममा छ । तर, सोही समयमा इन्टरनेट सेवा प्रदायकको आम्दानी भने बढ्दो देखिएको छ । टेलिकम सेवा प्रदायकहरूको आम्दानी आर्थिक वर्ष २०७५/७६ को तुलनामा आव २०७९/८० मा २० दशमलव ९२ प्रतिशतले आम्दानी घटेको छ । जबकी सोही अवधिमा इन्टरनेट सेवा प्रदायकहरूको आम्दानी भने झण्डै दोब्बर अर्थात् ९७ दशमलव ५० प्रतिशतले बढेको देखिन्छ । 

जानकारहरू टेलिकम कम्पनीसम्बन्धी कानुन र टेलिकम कम्पनीलाई हेर्ने दृष्टिकोण सङ्कुचित हुँदा यो क्षेत्र नै सङ्कटमा परेको बताउँछन् । दूरसञ्चारसम्बन्धी कानुनमा तत्काल आवश्यक संशोधन नगर्ने हो भने यो क्षेत्र नै धरापमा पर्नसक्ने उहाँहरूको विश्लेषण छ । नेपालमा हाल दूरसञ्चार ऐन, २०५३ र दूरसञ्चार नियमावली २०५४ कार्यान्वयनमा छन् । झण्डै तीन दशक पुरानो ऐनले बदलिँदो आधुनिक प्रविधिलाई सम्बोधन गर्न नसकेको विज्ञहरूको धारणा छ । 

नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भेषराज कँडेल पुरानो कानून तत्कालीन समयमा निकै राम्रो भए पनि त्यसलाई समयसापेक्ष संशोधन गर्न नसकिएको बताउँछन् ।

कँडेल नीतिगत सुधार नभएकै कारण टेलिकम कम्पनीहरूको ठूलो लगानी जोखिममा पर्नुका साथै आम्दानी घट्दै गएको उनको भनाइ छ । 

कँडेलका अनुसार नीतिमा सुधार नभएकै कारण छ वटा टेलिकम सेवाप्रदायक संस्था अहिले दुई वटामा सीमित भएका छन् । 

प्राधिकरणका पूर्वअध्यक्ष सुरेशकुमार पुडासैनी पनि कँडेलको भनाइमा सहमत छन् । ‘म २०५३ सालको दूरसञ्चार ऐन पूर्ण रूपमा संशोधन गर्नुपर्छ वा नयाँ ऐन आवश्यक नै हो भन्ने पक्षमा छैन, तर नियमावली वा निर्देशिकामार्फत सेवाप्रदायकलाई सहजीकरण भने गरिदिनुपर्छ’, उनले भने।

पूर्वअध्यक्ष पुडासैनी कानुनलाई स्थिर बनाउँदै परिवर्तित प्रविधिलाई सम्बोधन गर्ने खालको सरल बनाउनुपर्ने आवश्यकता औंल्याउँछन् । पूर्वअध्यक्ष पुडासैनी नवीकरणको हकमा पनि शुल्क अत्यधिक भएको तर्क गर्छन् ।  
     
टेलिकम कम्पनीहरूले अर्बौं रकम खर्चेर नवीकरण गर्ने तर ओटीटी प्लेटफर्मले भने सोही प्रकृतिको सेवा दिँदा त्यसको घाटा ती कम्पनीलाई मात्रै नभई राज्यलाई ठूलो घाटा भइरहेको जानकारहरूको भनाइ छ ।     
     
ओटीटी प्लेटफर्महरू जस्तै ह्वाट्सएप, भाइबर, स्काइप, इमोलगायतले दिने सेवाका कारण टेलिकम कम्पनीको आम्दानीमा सङ्कुचन आएको छ । उनीहरूको आम्दानी घट्दो क्रममा छ । अन्तर्राष्ट्रिय आगमन कलतर्फको आम्दानी हेर्ने हो भने पछिल्लो सात वर्षमा ६० प्रतिशतभन्दा बढीले घटेको छ ।   

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार नेपाल टेलिकमले आव २०७३/७४ मा अन्तर्राष्ट्रिय कूलमार्फत आठ अर्ब आम्दानी गरेको थियो भने हाल उक्त आम्दानी प्रत्येक वर्ष खुम्चँदै आव २०७९/८० मा आइपुग्दा तीन अर्ब ९१ करोडमा सीमित भएको छ । साथै, एनसेलले पनि आव २०७३/७४ मा  १७ अर्ब आम्दानी गरेकामा आव २०७९/८० मा ६ अर्ब ९३ करोडमा सीमित भएको छ ।  

टेलिकमको व्यवसाय प्रभावित हुनुमा इन्टरनेट सेवा प्रदायक पनि कारक देखिएको पुडासैनीको बुझाइ छ । इन्टरनेट सेवा प्रदायकले हरेक क्षेत्रमा ‘हटस्पट’ राख्ने चलनका कारण टेलिकमको व्यवसाय प्रभावित भएको उनी बताउँछन् । त्यसैले हटस्पट राख्ने नियममा कडाइ गरिनुपर्ने उनको भनाइ छ ।  

प्राधिकरणका पूर्ववरिष्ठ निर्देशक आनन्दराज खनाल हालको ऐन सङ्कीर्ण भएकाले संशोधन आवश्यक रहेको बताउँछन् । ऐनले पूर्वाधार क्षेत्रमा स्पष्ट नीति लिनुपर्ने आवश्यकता औंल्याउनुहुन्छ उनी ।

नेपाल टेलिकम कम्पनीका प्रबन्ध निर्देशक संगीता पहाडी पनि टेलिकम कम्पनीहरूको आम्दानी घट्दो क्रममा रहेकाले बदलिँदो परिवेशमा सोहीअनुसारको नीति आवश्यक भएको बताउँछिन् । ‘घट्दो आम्दानी रहेको अवस्थामा प्रत्येक पाँच वर्षमा ठूलो रकम खर्चेर नवीकरण गर्न सकिने अवस्था छैन’, उनले भनिन् । 

एनसेलका प्रमुख नियामक मामिला अधिकृत विशाल उपाध्याय निरन्तर ओरालो लागेको आयलाई सुधार गर्न र सेवाग्राहीलाई लाभ दिन पनि अन्य सार्वजनिक सेवामा जस्तै टेलिकम क्षेत्रमा मुद्रास्फीतिका आधारमा शुल्क निर्धारणमा समायोजनको सुविधा आवश्यक भएको बताउँछन् ।

‘हामीले अत्यावश्यक ठानेका बिजुली र पानीलगायत सेवामा शुल्क हेरफेर गर्दै आएका छौं भने टेलिकमका क्षेत्रमा पनि यो गरिनुपर्छ भन्ने हाम्रो सुझाव छ । भारतमा पनि टेलिकमको अवस्था खराब हुँदा ‘मर्जर’ तथा ‘एक्विजिसन’को विकल्पका साथै शुल्क २७ प्रतिशतसम्म बढाएको उदाहरण छ’, उनले भने । 

अनुमति नलिएका ह्वाट्सएप, भाइबर, म्यासेञ्जर जस्ता ओटीटी एपका कारण नेपालको भ्वाइस सेवाको बजारमा करिब ४० प्रतिशतभन्दा बढी असर परिरहेको उल्लेख गर्दै उनले भ्वाइस सेवाको प्रयोग, यसबाट हुने आय र अन्तर्राष्ट्रिय आगमन कलको ट्राफिक हरेक वर्ष घटिरहेको दाबी गरे । 

‘मोबाइल सेवाप्रदायकले फोरजी नेटवर्कमा बृहत् लगानी गरे पनि नेटवर्क मनिटाइजेसन हुन सकेको छैन । विगत सात वर्षको तथ्यांक हेर्ने हो भने डाटा खपत वृद्धि भए पनि शुल्क घटेकाले यसबाट प्राप्त हुने आम्दानीमा उल्लेख्य वृद्धि हुन सकेको छैन’, उनले भने, ‘त्यसैले यो समस्या समाधानका लागि सरकारले सेवाका दरहरू मूल्यवृद्धिका आधारमा परमार्जिन गर्नुको विकल्प छैन ।’     
     
प्रक्रियामा ऐन निर्माण     

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले भने हाल दूरसञ्चार क्षेत्रमा देखिएका समस्यालाई सम्बोधन गर्न दूरसञ्चार विधेयक ल्याउने तयारी भइरहेको जनाएको छ । मन्त्रालयले गत असारमा दूरसञ्चारसम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेकयमा आवश्यक राय तथा सुझावका लागि ‘दूरसञ्चार ऐन, २०८१’को मस्यौदा वेबसाइटमार्फत सार्वजनिक गरिसकेको छ । 

उक्त ऐनमा हाल टेलिकम सेवा प्रदायकले भोगिरहेको नवीकरणलगायतका समस्या समाधानमा सम्बोधन गर्ने विज्ञहरूको बुझाइ छ । ऐनको मस्यौदामा नेपाल टेलिकम र एनसेल दुवैले लिखित रूपमै मन्त्रालयमा सुझाव पठाइसकेका छन् । 

लामो समयपछि निर्माण हुन लागेको ऐन प्रविधिमैत्री हुने र सेवाप्रदायकले हाल भोगिरहेका समस्या समाधानका लागि पनि मार्गनिर्देश प्राप्त हुन्छ भन्नेमा आफूहरू विश्वस्त रहेको नेपाल टेलिकमका प्रबन्ध निर्देशक पहाडी बताउँछिन् । 

-कमलकुमारबस्नेत/रासस   

salt training

कमेन्ट गर्नुहोस्