
मुगु, २८ कात्तिक–मुगु जिल्लाको उत्तर पश्चिममा रहेको स्वरु गाउँपालिका–२ नाचार गाउँका ४३ वर्षीय लुवार शाहीले पातीआल्ना लेकमा खच्चरबाट पानी बोकेर होटल व्यवसाय चलाउँदै आएका छन् ।
हरेक दिन दुईवटा खच्चर लिएर ४ ग्यालीनमा ८० लिटर पानी बोकेर एक घण्टा ओरालो झरेर दुई घण्टा उकालो चढेर जंगलको बीचमा उनले होटल चलाउँछन् । यसरी चलाएको होटलबाट उनले पत्नी सहित ८ जनाको परिवार पाल्दै आएका छन् ।
विशेष गरेर हुम्लाको तल्लो क्षेत्र जैर, श्रीनगर, तुम्च, मकै, मैला, मदना, गल्वा, सिरुपाटा, मेल्चाम लगायतका वस्तीहरुका व्यापारीहरुको मुगु गमगढी जाने आउने बाटो यही ठाउँ मुख्य हो ।

मुगुको नेर, फोतु, लिबु्र, रावलबाडा र भाड गाउँदेखिका मान्छेहरुको सदरमुकाम ओहोर दोहोर गर्ने बाटो पनि यहिँ रहेको छ ।
होटलमा खान, बस्न, चिया, चाउचाउ, सिमी, रोटी पाउनुका साथै ३ घण्टाको लामो ठाडो उकालो हिँडेर थाकेका सर्वसाधारण तथा ब्यापारीका लागि थकाई मेटाउने चौतारो जस्तै बनेको छ ।
‘६ महिनादेखी यस्तै दःुख गरेर ब्यापार गरिरहेको छु । सामान्य घर खर्च चलिरहेको छ,’ शाहीले भने, ‘पैसा पनि अलिअलि त कमाउँछु तर सबै घरखर्च ठिक्क हुन्छ ।’

शाहीले केही समयपछि होटलको आम्दानी बढ्नेमा आशावादी रहेका छन् । ‘बिहानै जंगलको बाटो पानी लिन जानु पर्छ । ठाडो उकालो छ,’ शाहीले भने, ‘बाघ भालुको डर हुन्छ, मान्छेको चाप बढ्दा कमाई पनि हुन्छ । मान्छेको चाप बढ्यो भने एकै दिनमा दुई हजारसम्मको व्यापार हुन्छ ।’
‘उकालोमा पानीसम्म पाइदैनथ्यो । आजभोलि यो होटल भएदेखि तिर्खा, भोक र थकाइ मेटाउन पाएकाछौँ,’ सोरु गाउँपालिका ४ का अक्कल बुढाले भने, ‘अझै राम्रो र सुविधासम्पन्न बने सबैलाई सजिलो हुनेछ ।’
निकै उकालो अनि गर्मीले धेरै समस्या हुने भएपनि अहिले चाहिँ सहज भएको उनले बताए । व्यापारीहरुले जंगलको बीचमा खाना खाजा पाउँदा खुसी छन् ।
‘तल्लो हुम्ला र मुगु सोरुका केही वस्तीहरुका मान्छेहरु झोलामा पानी र नास्ता बोकेर हिन्नु पथ्र्यो,’ फोतुलिबु्र गाउँका अंग बहादुर शाहीले भने ।
यसरी निरन्तर होटल चलाउँदै जाने र ब्यवस्थित गर्दै जाने हो भने आन्तरिक पर्यटकहरुको वृद्धि हुनसक्ने राम्रो सम्भावना यो ठाउँमा देखिन्छ ।

एक त तल्लो हुम्लाको ब्यापारिक नाका, अर्कोतिर हुम्ला जैरगाउँको तल कर्णाली तिरमा (लुमछहरा तातोपानी गुफा) नुहाउन हिउँदे सिजन । विशेष गरेर माघ महिनामा टाढा टाढाबाट मानिसहरु यहि बाटो भएर आउने गर्दछन् ।
यता सोरु गाउँपालीका ३ मा पर्ने (कुला तातोपानी गुफा) मा पनि हुम्ला, बाजुराका केही मानिसहरु पातीआल्नाकै बाटो भएर तातोपानी नुहाउन आउने गरेका छन् । यो बर्ष सोरु गाउँपालीकाले कुलाअ तातो पानी गुफामा एक हप्ते महोत्सबको आयोजना गर्ने तयारी समेत गरिएको छ ।
यी विविध बिविध कारणहरुले गर्दा पनि होटल व्यसायको आम्दानीमा राम्रो बृद्धि विकास हुन सक्ने शाहीले बताए ।