
इलामको रोङ गाउँपालिकाले महिलालाई व्यावसायिक बनाउन र लोक संस्कृतिको जगेर्ना गर्न नौमती बाजा बजाउन सिकाइँदैछ । कुनै समय दलित समुदायले मात्र बजाउनुपर्छ भनिएको नौमती बजाउन यहाँ ब्राह्मण, क्षेत्री समुदायका महिलाले पनि तालिम लिँदैछन् ।
बाजालाई महिलाको क्षमता विकास र आर्थिक अवस्था सुधार गर्ने अवसरका रूपमा सदुपयोग गर्न यस्तो गरिएको गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्बो (सुवास)ले बताए ।
यही पुस ४ गतेदेखि १५ जनालाई नौमती बजाउने तालिम दिन शुरू गरिएको छ । पुरातनवादी सोच हटाएर लोप हुन लागेको संस्कार, संस्कृतिको जगेर्ना गर्न तालिम आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष स्याङ्बोले बताए ।
‘महिलाको क्षमता विकास, व्यावसायिक बनाएर आर्थिक रूपमा सबल बनाउन तालिमले सहयोग गर्छ भन्ने हाम्रो अपेक्षा हो,' अध्यक्ष स्याङ्बोले भने, 'लोप हुँदै गएका संस्कार, संस्कृति, नौमती, सङ्गिनीलगायत लोक बाजा संरक्षण गर्नु सबैको दायित्व हो ।'
शुरूका दिनमा बाजा बजाउँदै हिँड्दा साउती गर्दै कुरा काट्नेले अहिले प्रशंसा गर्ने गरेको तालिममा सहभागी गीता कट्टेलले बताइन्।
'ब्राह्मण महिलाले नौमती छुन हुँदैन भन्ने समाजले हामीलाई कहिलेकाही व्यङ्ग्य गरे तर सीप सिक्न छोडेका छैनौं,' उनले भनिन्, 'अब त सीपलाई व्यावसायिकता दिने आत्मबल बढेको छ ।'
विभेदका कुराले समाजमा एकता नआउने भन्दै नौमतीलाई सबैको साझा लोक बाजाको रूपमा स्थापित गर्न तालिम लिएको अर्की प्रशिक्षार्थी भीमा भट्टराई (अर्याल)को भनाइ छ । 'अब पुरानो मान्यता राखेर हुँदैन, हामीले नौमतीलाई हाम्रो आयस्तरसँग जोड्नुपर्छ,' उनले भनिन् ।
स्थानीय रामबहादर दर्जीले विगतमा नौमती बजाउँदा विभेद गर्ने समुदायले नौमतीलाई साझा लोक संस्कृतिको रूपमा स्वीकार्न थालेकोमा खुसी व्यक्त गरे । उनले भने, 'यसरी सबैको सोचमा परिवर्तन आएमा मात्र विभेदरहित समाज निर्माणमा सघाउ पुग्छ ।'
तालिम पुस १३ गतेसम्म सञ्चालन हुनेछ । रोङ सङ्गिनी समूहको मागअनुसार महिलाको आयमा सुधार गर्न पहिलो चरणमा १५ जनालाई तालिम दिइएको महिला तथा बालबालिका शाखा प्रमुख राधिका तामाङले बताइन् ।
उनका अनुसार तालिमको सहजीकरण झापाको विर्तामोडस्थित माता पाथीभरा नौमती बाजा ट्रेनिङ सेन्टरका प्रशिक्षक तारादेवी आचार्य र टीकादेवी प्रसाईंले गरिरहेका छन् ।
नौमती बाजामा झ्याली, ट्याम्को, ढोलक, नरसिङ्गा, दमाहा, सानो दमाहा, बाउँताल, सहनाई र कर्नाल रहेका छन् ।