
गोरखा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेले कम्पनीबाट अलग भएपछि पनि पुरानै हैसियतमा चेक काटेर भुक्तानी गरेको पाइएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय कास्कीले अदालतमा दर्ता गरेको अभियोगपत्रमा रविको कसुर स्थापित हुने आधार पेश गरेको छ ।
जसअनुसार उनले गोरखा मिडियाको नाममा रहेको ग्लोबल आईएमई बैंकको खाताबाट ४९ लाख १८ हजार ४१ लाख दुई सय ४६ रुपैयाँ भुक्तानी गरेका थिए ।
तर, उनले शेयर बिक्री गरेर २०७९ असार एक गते कम्पनीबाट अलग भएपछि पनि पुरानै खाताबाट चेक काटेर भुक्तानी गरेको तथ्य खुलेको छ ।

रविले गोरखा मिडिया नेटवर्कको नाममा रहेको आईएमईको खाताबाट स्वयं खाता सञ्चालकको रूपमा चेकमा हस्ताक्षर गरेर ७१ लाख ८० हजार चार सय ९९ रुपैयाँ भुक्तानी दिएको र आफ्नो नाममा समेत ९ लाख ८५ हजार सात सय ४९ चेक काटेर लिएको तथ्य खुलेको छ ।
अभियोग पत्रमा भनिएको छ, ‘कम्पनी ऐन, २०६३ को दफा ९९ मा सञ्चालकहरूको जवाफदेही तथा दायित्व सम्बन्धी व्यवस्था रहेकोमा, उपदफा (१) मा कम्पनी सञ्चालकले कम्पनीमार्फत वा कम्पनीको कामको सिलसिलामा व्यक्तिगत फाइदा लिने काम गर्न पाउने छैन भन्ने प्रावधान रहेको र सोही दफाको उपदफा (४) मा कम्पनीका प्रत्येक सञ्चालक तथा पदाधिकारीले आफ्नो पदीय दायित्व निर्वाह गर्दा कम्पनीको स्वार्थ र हितलाई ध्यानमा राखी इमान्दारीपूर्वक, असल नियतले काम गर्नु पर्नेछ र सामान्य विवेक र ज्ञान भएको व्यक्ति सरह हिफाजती, सावधानी, बुद्धिमता, कुशलता तथा दक्षताको प्रयोग गर्नु पर्छ भन्ने स्पष्ट व्यवस्था रहेकोमा प्रतिवादी रवि लामिछाने कम्पनीलाई हानी नोक्सानी हुने र व्यक्तिगत फाइदा हुने गरी आफ्नो नाउँमा कम्पनीको शेयर विक्री गरेपश्चात चेक काटी भुक्तानी लिएबाट यी प्रतिवादीको व्यक्तिगत फाइदा लिने मनसाय पुष्टि हुन्छ ।’
