
आपराधिक लाभको मुद्दामा मुछिएकी निलम्बित प्रहरी इन्स्पेक्टर विनु शाहीलाई जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतमा पठाइएको छ ।
प्रहरीको फरार सूचीमा रहेकी शाही आइतबार निवेदन साथ ललितपुर जिल्ला अदालतमा उपस्थित भएकी थिइन् । तर बयानको क्रम जारी नै रहेकाले उनलाई जिल्ला प्रहरी परिसर ललितपुरको थुनामा पठाइएको हो ।
ललितपुर जिल्ला अदालतका सूचना अधिकारी रामसजीवन महतोका अनुसार अदालतमा बयानको क्रम नसकिएकाले हेर्दाहेर्दैमा राखी जिल्ला प्रहरी परिसर ललितपुरको जिम्मा लगाइएको हो ।
'उहाँ आज अदालतमा उपस्थित हुनुभएको थियो । उहाँको बयान नसकिएकाले भोलि सोमबार उपस्थित गराइदिन भन्दै जिल्ला प्रहरी परिसर ललितपुरको जिम्मा लगाइएको हो,' साहले लोकान्तरसँग भने,' भोलि बाँकी बयान तथा थुनछेक बहस हुनेछ ।'
प्रहरीको फरार सूचीमा रहेकाले शाहीलाई आइतबार राति ललितपुर परिसरले थुनामै राख्नुपर्ने उनले बताए ।
शाहीलाई पक्राउ गर्न प्रहरीले सर्वाधिक खोजतलास गर्दै आएको भए पनि हालसम्म फेला पार्न सकेको थिएन । उनी प्रहरीलाई चक्मा दिँदै सुटुक्क अदालत पुगेकी हुन् ।
न्यायाधीश रीताकुमारी बख्रेलको इजलासमा उनको बयान चलिरहेको छ ।
इन्द्रकुमार राईको जाहेरीले भीमादेवी थापासहित ६ जनाविरुद्ध आपराधिक लाभको मुद्दा दायर भएको थियो । सोही मुद्दामा शाही फरार थिइन् ।
प्रहरी प्रभाग भैँसेपाटीमा कार्यरत रहेको बेला उनले एक व्यवसायीलाई बलात्कार मुद्दामा फसाइदिने भन्दै हनिट्र्याप समूहसँग मिलेर रकम असुलेको आरोप छ ।