
फेरि सभापतिमा उठ्ने सार्वजनिक घोषणा गरेका नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला महाधिवेशनको मैदानमा ओर्लिएका छन् ।
शेखर २०७८ मंसिरमा भएको १४ औं महाधिवेशनमा सभापतिमा शेरबहादुर देउवासँग पराजित भएका थिए । तर, अघिल्लोपटक दोस्रो चरणमा पुगेर पराजित भएका शेखर १५ औं महाधिवेशनबाट सभापति जित्ने लक्ष्यका साथ समूहको औपचारिक कार्यक्रम गर्दै हिँडेका हुन् ।
विधानतः चार वर्षभित्रै २०८२ मंसिरमा महाधिवेशन नगरी समयसीमा घर्काउने देउवाको मनस्थितिका बीच शेखरले ‘ब्याक टु ब्याक’ कार्यक्रम राखेका छन् । पार्टीको सर्कुलरबीच शेखरले मंसिर तेस्रो साता विराटनगरमा कोशी प्रदेशका पालिका सभापतिहरूको भेला बोलाएका थिए ।
फेरि शेखरले नेपाल प्रजातान्त्रिक सेनानी संघ, सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गरे ।
संस्थापनले निर्धारित समय टार्न खोजे पनि शेखरले कुनै बहाना नबनाई महाधिवेशन २०८२ भित्रै गर्नुपर्ने बताए ।
‘कांग्रेसको १५ औं महाधिवेशन २०८२ भित्रै हुनुपर्छ । पार्टीको विधानअनुसार महाधिवेशन हुनुपर्छ, यसमा किन्तु परन्तु भन्न पाइँदैन,’ शेखरले महाधिवेशन टार्न खोजेकोमा आपत्ति जनाउँदै भने, ‘कांग्रेसलाई जोगाउन र लोकतन्त्र सुदृढीकरण गर्नका लागि पनि समयमा महाधिवेशन आवश्यक छ ।’
उनी यत्तिमै रोकिएनन् । कांग्रेसलाई गतिशील बनाउन नेतृत्व लिन तयार रहेको पनि प्रस्ट्याए । ‘अबको कांग्रेस बलियो र गतिशील हुनुपर्छ । पार्टीभित्र एकता र सहकार्यलाई जोड दिन आवश्यक छ,’ शेखरले भने, ‘यसका लागि म नेतृत्व लिन तयार छु ।’
शेखरले आफू सभापतिमा चुनाव लड्ने र जित्ने शतप्रतिशत सम्भावना रहेको दाबी गर्न पनि भुलेनन् । संस्थापनभित्र नेतृत्वका लागि देउवापछि को भन्ने अन्योल भइरहँदा शेखरले खुलारूपमा सभापतिमा दाबेदारी गर्नुले उनी निकै अगाडि बढेको रूपमा बुझ्नुपर्ने नेताहरू बताउँछन् ।
राजनीतिक विश्लेषक एवं शेखरसँग नजिक रहेर काम गर्दै आएका पुरञ्जन आचार्यले चुनावको व्यस्त तालिका र कांग्रेसको विधानलाई ट्रयाकमा ल्याउन शेखरले सभापतिमा दाबेदारी गरेको बताए ।
‘२०८२ मा कांग्रेसको १५ औं महाधिवेशन नगर्दा स्थानीय तह, प्रदेश र संघको चुनाव आउँछ । महाधिवेशनको मुखैमा कांग्रेसको विवाद तलैसम्म लिएर जाँदा पार्टी कमजोर हुन्छ । यसैले आगामी वर्षभित्र महाधिवेशन गर्नैपर्छ भन्नेमा उहाँ देखिनुभएको छ,’ आचार्यले भने, ‘अर्कातिर सभापतिमा अब देउवाको दाबेदारी नहुने भएपछि उहाँको नेतृत्वमा चुनावमा जाने र टिकट उहाँले बाँड्ने स्थिति नआओस् भन्ने देखिन्छ । साथै, विशेष कारणले समय थप्ने अभ्यास गर्ने गरेकोमा यस्तो नगरौं र कांग्रेसको विधानलाई ट्रयाकमा ल्याऊँ भनेर उहाँ लाग्नुभएको देखिन्छ ।’
डा. गोविन्दराज पोखरेल ३ कारणले शेखर देशव्यापी कार्यक्रम लिएर निस्किएको बताउँछन् ।
‘महाधिवेशनको समय नजिकिँदा पनि सभापति, पदाधिकारीदेखि संस्थापन पक्षमा कुनै रन्को देखिएन । यसका लागि दबाबमूलक कार्यक्रम नगरी नहुने भयो,’ पोखरेलले लोकान्तरसँग भने, ‘अर्कातिर पार्टीलाई एकजुट बनाउने, क्रियाशील बनाउने, बढ्दो वादविवाद र तलैसम्म भएको गुटबन्दी अन्त्य गर्नुपर्ने स्थिति । यसैले यी सबै समस्याबाट पार लगाउन शेखर कोइरालाले कम्मर कस्नुभएको हो ।’
सरकारमा गएर अल्छी हुने क्रमलाई तोड्नुपर्ने सन्देश शेखरले दिने पोखरेल बताउँछन् ।
‘सरकारमा गएपछि पार्टी अल्छी हुने रहेछ । अर्कातिर एमाले प्रतिस्पर्धी पार्टी हो । तर, सरकारमा सँगै छौं,’ पोखरेलले भने, ‘सरकारमा प्रभावकारी सहकार्य पनि गर्ने र प्रतिस्पर्धी पार्टी पनि हो है भनेर जनतालाई पनि नबुझाइ नहुने स्थिति छ । यसैले शेखर कोइरालाले यो सन्देश दिन पनि पार्टीलाई तल्लो तहसम्म लाने अभियान थाल्नुभएको हो ।’

पछिल्लो समय देशव्यापी कार्यक्रम लिएर हिँड्न थालेपछि पुरानो र नयाँ पुस्ताले शेखरप्रति धेरै नै आश गरेको दाबी पोखरेलले गरे ।
‘उहाँ तल झर्दा शेखर आएपछि पार्टी गतिशील हुने, पुराना र युवा पुस्तालाई समेट्ने अवस्था आउँछ भन्ने भाष्य निर्माण भएको छ । पार्टीभित्रै प्रतिपक्षीलाई दबाउने शैली उहाँको छैन,’ पोखरेलले भने, ‘सबैलाई न्याय गरेर जाने हिसाबले शेखरबाट कार्यकर्ताले आश गरेका छन् । यसैले अब उपत्यकाबाहिर उहाँको गतिशीलता झनै बढ्छ । यस्ता कार्यक्रम समयमा महाधिवेशन गर्न दबाब दिनका लागि हो । पार्टीलाई एकजुट बनाउनका लागि हो ।’
शेखरनिकटका नेता सञ्जय गौतमले पछिल्लो समय शेखरले गरिरहेका कार्यक्रमबाट नेता/कार्यकर्ता उत्साही भएको दाबी गरे ।
‘कोशी होस् कि सुदूरपश्चिम प्रदेश, शेखर दाइको कार्यक्रममा उत्साहजनक उपस्थिति देखिएको छ । साथै, पार्टीमा कति उकुसमुकुस छ भन्ने पनि देख्न पाइयो,’ गौतमले लोकान्तरसँग भने, ‘शेखर पार्टीमा परिवर्तनको मिसनमा हुनुहुन्छ । महाधिवेशन समयमा गर्नका लागि यो दबाब हो । कोशी र सुदूरपश्चिमपछि अब बीचका प्रदेशमा यस्तै दबाबमूलक कार्यक्रम हुन्छन् ।’
गौतमले सरकारको बचाउ मात्रै भन्दा राजनीतिक स्थिरता र सुशासनमा दबाब दिनुपर्ने बताए ।
‘समयमा अधिवेशन समस्याको समाधान हो । कार्यकर्तालाई राजनीतिक न्याय गर्छु, संरक्षण गर्छु– ढुक्क हुनुस्, सबैलाई मिलाएर जान्छु, कसैसँग फरक मत छैन भन्ने पार्टीगत लाइन छ,’ गौतमले भने, ‘यो सरकार राजनीतिक स्थिरताका लागि बनेको थियो । तर, जति प्रभावकारी हुनुपर्ने त्यो देखिएन । यसैले सरकारलाई असफल हुने छुट पनि छैन, सँगै हाम्रो सरकार हो भनेर बचाउमा मात्रै उत्रिने स्थिति पनि छैन भन्ने सन्देश दिन खोज्नुभएको हो ।’
४० बाट ५१ प्रतिशत पुर्याउन कति सहज ?
१४ औं महाधिवेशनबाट समूहको नेताको रूपमा ल्याउन ४० प्रतिशत मतलाई ५१ प्रतिशत पुर्याउन शेखरलाई सहजता रहेको विश्लेषक आचार्य बताउँछन् । ‘सभापतिमा देउवाको दाबी नहुने भएपछि अघिल्लो महाधिवेशनबाटै नेतृत्वमा दाबेदारी गर्नुभएका शेखरको दाबी स्वतः हुने देखिन्छ । उहाँले गत महाधिवेशनमा ४० प्रतिशत मत ल्याउनुभएको थियो । यसलाई बढाएर ५१ प्रतिशत पुर्याउन सहज हुन्छ । यसैले सभापतिमा उहाँको दाबी र दौडधूप स्वाभाविक हो ।’
देउवा, शेखरसँगै प्रकाशमान सिंह, विमलेन्द्र निधि महाधिवेशनमा उठेको र कृष्णप्रसाद सिटौला अघिल्लोपटक भिडेर थोरै मत ल्याएकाले शेखरको दाबी सबैभन्दा बलियो रहेको आचार्यले बताए । प्रस्ट दाबीसहित शेखर देशदौडाहामा निस्किएको उनको भनाइ छ ।
‘उहाँ सातै प्रदेशको भ्रमणमा हुनुहुन्छ । त्यसपछि देशभरका सबै पालिकामा पुग्ने कार्यक्रम छ,’ आचार्यले भने, ‘प्रत्यक्ष कार्यकर्तासम्मै पुग्नु भनेको सभापतिमा उठ्छु भनेर प्रस्ट पार्नु हो ।’
महामन्त्री गगन थापाले संसदीय दलको नेताको चुनावमा १५ औं महाधिवेशनमा शेखर मेरो सभापति भनेको आचार्य बताउँछन् ।
‘गगनजीले धेरैपटक नै शेखर मेरो सभापति हो भन्नुभएको छ । संसदीय दलको निर्वाचनमा उठ्दा पनि उहाँले शेखर दाइलाई १५ औं महाधिवेशनमा अगाडि बढाउने हो भन्नुभएको थियो,’ आचार्यले भने, ‘शायद यसैले शेखरजीले गगनसँग समझदारी टुटेको छैन भनेर बोल्नुभएको हुनुपर्छ ।’
कैलाली पुगेर शेखरले देउवा र गगन दुवैसँग दुरी नबढेको बताएका थिए । पछिल्लो समय महामन्त्री थापा सभापति निकट भएको भनिए पनि सभापतिका लागि तयारी गरेको नदेखिएको आचार्य बताउँछन् ।
‘केही मिडियाले देउवा र गगनबीच सामिप्यता बढेको लेखेका छन् । कता–कता घटनाक्रमले पनि देखाउँछन्,’ आचार्य भन्छन्, ‘तर, गगनजीको अभियान र तयारी शेखरको जस्तो छैन । शेखरलाई सहयोग गर्ने र कि आफैं उठ्ने भनेर उहाँले कुनै घोषणा गर्नुभएको छैन ।’
कोइरालाहरू एक ठाउँमा उभिने दाबी
१३ औं महाधिवेशनमा रामचन्द्र पौडेल र १४ औंमा शेखर नजित्नुमा कोइराला परिवारको विग्रहलाई कारक मानिन्छ । यसैले १५ औं महाधिवेशनमा सुजातादेखि प्रकाश कोइरालासम्मले शेखरलाई सहयोग गर्ने आचार्य बताउँछन् ।
‘एक ठाउँमा उभिएको भए १३औं र १४औं को नतिजा फरक हुन्थ्यो । यसैले सबै कोइरालाहरूले शेखरलाई सहयोग गर्नुपर्छ भन्ने सुजाता र प्रकाश कोइरालालाई लागेको छ,’ आचार्यले भने, ‘शशांकले पनि हामी मिल्छौं भनेका छन् । दुईजना उम्मेदवार हुँदैनौं, एक जनामात्रै हुन्छौं भन्ने कुरा आएको छ । हामीले अहिलेसम्म पत्याउने यही भनाइ हो ।’
यता, शेखरले पार्टीलाई एक ढिक्का बनाएर लैजानु अहिलेको आवश्यकता भएको बताएका छन् ।
‘अहिले नेपाली कांग्रेसभित्रको एकता, सौहार्दता तथा स्वच्छ प्रतिस्पर्धा हराउँदै गइरहेको छ । विस्तारै नेपाली कांग्रेस कम्युनिस्ट पार्टीजस्तो बन्दै गइरहेकाले म चिन्तित छु,’ शेखरले भनेका छन्, ‘देउवा सुदूरपश्चिमको मात्रै होइन, हामी सबैको आदरणीय नेता हुनुहुन्छ । पार्टी सभापति भएकाले सबैले भेट्न जानु स्वाभाविक हो ।’
संस्थापनसँग फरक मत राखेरै अगाडि बढ्ने दाउ
विराटनगरमा पार्टीको चेतावनीका बीच शेखरले पालिका सभापतिको भेला रोकेनन् । पार्टीकै शैलीमा विभिन्न कार्यक्रम राखेर पश्चिम नेपालबाट महाधिवेशनको तयारीमा जुटेका छन् । सातवटै प्रदेश र पालिकामा पुग्ने शेखरको कार्यक्रम छ ।
यतिमात्रै होइन, चैतभित्रै नेविसंघको महाधिवेशन गर्न निर्देशन समिति बनेर प्रक्रिया अगाडि बढेको छ । तर, प्रतिनिधि चयनको विषयमा शेखर पक्षले असन्तुष्टि जनाएको छ ।
१२ औं महाधिवेशन गर्नका लागि ७७ जिल्ला र १३३ वटा क्याम्पसमा प्रतिनिधि खटाउने विषयमा समेत कांग्रेसमा किचलो भएको छ । विद्यार्थी नेताहरूलाई प्रतिनिधि खटाएर सदस्यता, वितरण, अधिवेशनको प्रयोजनका लागि बैठकसहितका तयारी गर्न भनिएको छ ।
तर, पुस ७ गतेदेखि खटाएका क्षेत्रमा पुगेर काम गर्न नपाई शेखर पक्षले विरोध जनाएको छ । यसरी प्रतिनिधि खटाउँदा संस्थापन र महामन्त्री गगनको नाममा मात्रै खटाइएको शेखर पक्षको दाबी छ ।
‘आफैंले आफ्नै नेतालाई प्रतिनिधि खटाएर सदस्यता वितरण गर भन्नु मिल्ने कुरा थिएन, यसैले हामीले प्रतिनिधि चयनमा वास्ता नगरेका हौं,’ शेखर निकटका एक नेविसंघ नेताले भने, ‘संस्थापन र महामन्त्रीले मात्र प्रतिनिधि चयन गरेपछि विवाद भएको हो ।’
चैतभित्रै महाधिवेशन गर्ने तयारी भए पनि यो किचलोले नेविसंघ फेरि पनि महाधिवेशनबाट विमुख हुने देखिएको छ ।