
कास्कीको पोखरामा सञ्चालित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताको रकम हिनामिनामा संस्थाकै चारजना सञ्चालकको प्रत्यक्ष संलग्नता भेटिएको छ ।
२०६५ असार २६ गतेदेखि हालसम्म सूर्यदर्शनमा क्रमशः ४ जना ज्ञानबहादुर बम्जन, गितेन्द्रबाबु (जीबी) राई, भूपेन्द्र राई र थानबहादुर बुढामगरले सञ्चालक समितिको अध्यक्ष पद सम्हालेको देखिन्छ । यी चार जनाले पालैपालो सहकारीको रकम अपचलन गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गर्दा उनीहरूबाट सहकारीको कुल १ अर्ब ३१ करोड ५६ लाख ३७ हजार ४ सय ४५ रुपैयाँ ४७ पैसा असुल हुनुपर्ने देखिन्छ ।
जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालत कास्कीमा अभियोजन गर्दा सहकारीको रकम अपचलनमा ज्ञानबहादुर, जीबी, भूपेन्द्र र थानबहादुरको भूमिकालाई प्रस्ट पारेको छ ।
सूर्यदर्शनमा कुल बचत १ अर्ब ३५ करोड ५३ लाख ५४ हजार ८८९ रुपैयाँ २ पैसा १ करोड २० लाख कृतिम कर्जा खातामार्फत शेयर खातामा रकमान्तर गरेको देखिन्छ ।
त्यसो त सूर्यदर्शनमा २ हजार २ सय ५९ जना शेयर सदस्य रहेकोमा १८ हजार ७०० जनाको बचत खाता देखिन्छ ।
सहकारीले चलाखीपूर्ण तवरले गैरसदस्य कारोबार गरेको र सदस्य समेत नबनाई कर्जा कारोबार गरेको तथ्य फेला परेको छ ।
सहकारीले ६३ गैरसदस्यसँग करोडौं रुपैयाँको कर्जा कारोबार गरेको देखिन्छ । त्यस्तै, २३ वटा विभिन्न कम्पनीलाई कृतिम सदस्य बनाएर बचत कारोबार गरेको देखिन्छ ।
सहकारीले कम्प्युटर प्रणालीमा कर्जा वर्गीकरण नगरेको र कर्जा जोखिम कोषमा व्यवस्था नगरी कारोबार गरेको देखिन्छ । तर, कर्जा कोषमा जम्मा भएको ५ करोड २१ लाख ८९ हजार ५ सय ५५ रुपैयाँ ९० पैसालाई कृत्रिम नाफा देखाएर कानूनविपरीत काम गरेको देखिन्छ ।
स्थिर सम्पत्तिमा हिनामिना
जीबी राई (हाल फरार) सञ्चालक समितिको अध्यक्ष हुँदा सहकारीको स्थिर सम्पत्तिमै हिनामिना भएको देखिन्छ । सहकारीको भवन बनाउँदा सात करोड २५ लाख रुपैयाँ खर्च भएको देखाएर भुक्तानी दिँदा आधिकारिक कागजपत्र समेत नबनाएको पाइन्छ ।
सहकारीका सञ्चालक समितिका सदस्य शिवबहादुर गुरुङको नाममा पोखरा महानगरपालिका–४ नालाको मुखमा कित्ता नम्बर ३९ (१६०.५ वर्गमिटर) भएको जग्गामा सहकारीको भवन सञ्चालन हुँदै आएको थियो ।
उक्त भवन निर्माण गर्न जीबीले निर्माण व्यवसायी महेश भट्टचनको कन्स्ट्रक्सनलाई दिएका थिए । शुरूमा १ करोड ९१ लाख ९९ हजार ५ सय ५८ रुपैयाँ भुक्तानी गरिएको थियो ।
पछि जीबीकै नाउँमा पेश्की देखाएर २ करोड ३२ लाख ९२ हजार २ सय ९१ रुपैयाँ भुक्तानी दिइएको थियो । भवन निर्माण शीर्षकमा फेरि १३ लाख ९३ हजार ५ सय ८३ रुपैयाँ ८५ पैसा खर्च गरिएको थियो ।
‘साधारणसभाबाट भवन खरिदको निर्णय गराएर ७ करोड २५ लाख रुपैयाँ खर्च भएको देखाएको पाइन्छ, तर उक्त घरजग्गा सहकारीले खरिद गरेको आधिकारिक कागजपत्र नदेखिएकाले स्थिर सम्पत्तिमा समेत अनियमितता गरेको प्रस्ट हुन्छ,’ अदालतमा सरकारी वकिल कार्यालयले दर्ता गरेको अभियोग पत्रमा उल्लेख छ ।
कर्जा लगानीमै हिनामिना
कर्जा लगानीअन्तर्गत सहकारीले प्रयोग गरेको कम्प्युटर लेखा प्रणालीको वासलातअनुसार २०८० भदौ २१ सम्म १ अर्ब ३१ करोड ५३ लाख ८२ हजार ९ सय ८ रुपैयाँ १८ पैसा देखिन्छ । तर, कम्प्युटर लेखा प्रणालीकै कर्जा सूचीअनुसार सदस्यलाई प्रदान गरेको कर्जा भने १ अर्ब ३१ करोड ५६ लाख ३७ हजार चार सय ४५ रुपैयाँ ४९ पैसा देखाइएको छ ।
दुवैतर्फ, हेर्दा २ लाख ५४ हजार ५ सय ३७ रुपैयाँ ७१ पैसा फरक देखाएर हिनामिना गरेको देखिन्छ ।
कसको पालामा कति हिनामिना ?
अभियोग पत्र अनुसार सूर्यदर्शनको शुरूका सञ्चालक समितिको अध्यक्ष ज्ञानबहादुर बमजनको कार्यकालमा १ करोड ५४ लाख ४९ हजार ८ सय ३६ रुपैयाँ तीन पैसा, दोस्रो अध्यक्ष जीबीको पालामा १७ करोड ४६ लाख ७४ हजार ८ सय ८८ रुपैयाँ ९९ पैसा संस्थागततर्फ र व्यक्तिगततर्फ ११ करोड ८५ लाख ५६ हजार २४ रुपैयाँ ९७ पैसा अपचलन गरेको अभियोग पत्रमा उल्लेख गरिएको छ ।
तेस्रो अध्यक्ष भूपेन्द्रको कार्यकालमा संस्थागततर्फ ५३ करोड ७ लाख ७४ हजार २७ रुपैयाँ १४ पैसा र व्यक्तिगततर्फ ९२ लाख ५४ हजार ४ सय २० रुपैयाँ ९९ पैसा अपचलन गरेको देखिन्छ ।
थानबहादुर बुढामगर अध्यक्ष रहेको समयमा १ करोड १२ लाख ९ हजार ३ सय ९४ रुपैयाँ ७५ पैसा र व्यक्तिगत तर्फ १ करोड ३८ लाख ९ हजार ६ सय ७१ रुपैयाँ ९१ पैसा अपचलन गरेको अभियोगपत्रमा उल्लेख गरिएको छ ।
जीबीका चार कम्पनीमा कर्जा प्रवाह गरेर अपचलन
सूर्यदर्शन सहकारी ठगीका मुख्य योजनाकार भनिएका जीबी राईले आफ्ना चार कम्पनीमा कर्जा प्रवाह गरेर करोडौं रकम अपचलन गरेको देखिन्छ ।
गोरखा मिडिया नेटवर्कको नाममा ५ करोड ५८ लाख ९ हजार २ सय ७१ रुपैयाँ ७६ पैसा, नेचर नेक्स्ट प्राइभेट लिमिटेडको नाममा १ करोड ७८ लाख ५४ हजार ८ सय ८१ रुपैयाँ, नेचर हर्ब्स इन्टरनेशनल प्रालिको नाममा २ करोड ५३ लाख १३ हजार १ सय ९५ रुपैयाँ ४२ पैसा र गोरखा ग्रुप मल्टी इन्भेस्टमेन्ट प्रालिको नाममा १ करोड १ लाख ७९ हजार १ सय ४८ रुपैयाँ ४८ पैसा कर्जा प्रवाह गरेको देखाएर रकम हिनामिना गरेको अभियोगपत्रमा उल्लेख छ ।