
प्रहरी हिरासतमा रहेका रवि लामिछानेको फोटो सार्वजनिक गरेको आरोपमा पक्राउ परेका डा. निकोलस भुसाल (कमल भुसाल) रिहा भएका छन्।
कास्की जिल्ला अदालतले म्याद थपका लागि अनुमति नदिएपछि भुसाल सोमबार रिहा भएका कास्की प्रहरीका सूचना अधिकारी, डीएसपी बसन्त कुमार शर्माले जानकारी दिए ।
न्यायाधीश नवराज दाहालको इजलासले भुसाललाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति नदिएको हो।
काठमाडौंबाट आइतबार राति पक्राउ परेका भुसाललाई सोमबार बिहान पोखरा पुर्याइएको थियो ।
हिरासतमा राखी अनुसन्धान गर्न अनुमति माग्दै प्रहरीले सोमबार नै अदालतमा उपस्थित गराएपनि अदालतले अनुमति दिएन। अदालतले अनुमति नदिएपछि उनी पक्राउ परेको २४ घण्टा नबित्दै रिहा भएका हुन्।
रास्वपा सभापति समेत रहेका लामिछानेको तस्वीर सार्वजनिक भएपछि प्रहरीको आलोचना भएको थियो । रास्वपा नेताहरूले रविको मानव अधिकार हनन् भएको भन्दै प्रहरी लक्षित टिप्पणी गरेका थिए । प्रहरीले नै तस्वीर सार्वजनिक गरेको उनीहरूको दाबी थियो ।
तर, उनीहरूको दाबी केहीछिनमा खण्डित भएको थियो । रास्वपा समर्थित भुसालले तस्वीर आफूले खिचेको र सार्वजनिक गरेको भन्दै माफी समेत मागेका थिए ।