
बाराको सिमरा उपमहानगरपालिका– ११ स्थित सडक छेउमा रोकिराखेको कारभित्र मृत भेटिएका प्रहरी कार्यालयका सहयोगी राजकुमार रुम्बाको टाउकोमा गोली भेटिएको छ ।
पोस्टमार्टमका क्रममा रुम्बाको टाउकोमा गोली भेटिएको हो ।
सिमरा विमानस्थलमा कार्यरत रुम्बा गत शनिबार बागमती प्रदेश ०१–०२८–च– ७६१६ नम्बरको कारभित्र मृत फेला परेका थिए ।
रुम्बाले राष्ट्रिय अनुसन्धानका इन्स्पेक्टर श्रीकान्त तिवारीको कार लिएर हिँडेका थिए । उनी सोही कारभित्र मृत फेला परेका हुन् ।
‘रुम्बाको गोली हानेर हत्या गरेको पुष्टि भयो, तर कसले र किन हत्या गर्यो भन्नेबारे अनुसन्धान भइरहेको छ,’ जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र कुमा खड्काले लोकान्तरसँग भने, ‘विभिन्न प्राविधिक पाटोबाट अनुसन्धान थालेका छौं ।’
मृतक रुम्बाको मोबाइलको कल डिटेल र लोकेशन हेरेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।