
मोरङ जहदाकी २२ वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेको आशंकामा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ ।
मंगलबार बिहान ‘मर्निङवाक’ जान्छु भनेर घरबाट हिँडेकी ती युवती बाँसघारीमा हातखुट्टा बाँधिएको अर्धचेत अवस्थामा भेटिएकी थिइन् । उनको मुखमा उनले ओढेको सल कोचिएको थियो । उद्धारपछि ती युवतीको विराटनगरस्थित एक अस्पतालमा उपचार भइरहेको छ ।
उनीमाथि हातखुट्टा बाँधेर जबर्जस्ती करणी भएको प्रहरीले आशंका गरेको छ । सोही घटनामा संलग्न रहेको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो । प्रहरीले पक्राउ परेका व्यक्तिहरूको नाम भने सार्वजनिक गरेको छैन ।
मोरङ प्रहरी प्रमुख, एसपी नारायण चिमरियाले सोधपुछका लागि केही व्यक्तिलाई नियन्त्रणमा लिएको पुष्टि गरे । ‘हामीले यो घटनालाई सूक्ष्म तरिकाले अनुसन्धान गरिरहेका छौं । यस घटनामा केही व्यक्तिलाई सोधपुछका लागि ल्याएका हौं, त्यसैले अहिले उनीहरूको बारेमा केही भन्न मिल्दैन’, एसपी चिमरियाले भने, ‘संलग्न सबैको खोजी गरिरहेका छौं । अनुसन्धानपछि थप विषय खुल्ला ।’
मोरङ प्रहरीका प्रवक्ता, डीएसपी वेदप्रकाश जोशीका अनुसार पराल लिन गएकी महिलाले युवतीलाई त्यस्तो अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेकी थिइन् । डीएसपी जोशीका अनुसार ती युवतीले लगाएको कपडा च्यातिएका छन् भने शरीरका केही भागमा नीलडाम पनि छन् ।
कसैले नदेख्ने ठाउँमा लगेर हातखुट्टा बाँधेर मुखमा पट्टी लगाएपछि जबर्जस्ती करणी गरिएको हुनसक्ने उनकी दिदीको आशंका छ ।
‘हामीले हातखुट्टा बाँधेको, मुखमा कपडा कोचेको र होस् नभएको अवस्थामा उनलाई भेट्यौं र तुरुन्तै अस्पताल ल्यायौं । घटना र बहिनीको अवस्था हेर्दा केही गलत भएको आशंका छ,’ उनले भनिन् ।