२२ असार २०८३, सोमबार

संविधान संशोधनका लागि कार्यदलले काम गरिरहेको छ : उपप्रधानमन्त्री सिंह

पुस १०, २०८१
बुटवल
संविधान संशोधनका लागि कार्यदलले काम गरिरहेको छ : उपप्रधानमन्त्री सिंह

उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले सबै राजनीतिक दलहरूसँग छलफल गरेरै संविधान  संशोधनको प्रक्रिया अघि बढाउने बताएका छन् ।

बुधबार रुपन्देहीमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले संविधान संशोधनका लागि कांग्रेस-एमालेको कार्यदल बनिसकेको र उनले आन्तरिक रूपमा काम  गरिरहेको बताए । 

‘संविधान संशोधनको प्रक्रियालाई अगाडि बढाउन कांग्रेस र एमालेको कार्यदल गठन भइसकेको छ । कार्यदलले सबै राजनीतिक दलसँग छलफल गर्छ । सबै दलहरूसँग  गरेर नै संविधान संशोधनको प्रक्रिया अगाडि बढ्छ,’ उनले भने ।

उपप्रधानमन्त्री सिंहले बुधबार रुपन्देहीको सियारी गाउँपालिकामा सियारी पर्यटन करिडोरको शिलान्यास र दयानगर दानव लिफ्ट सिँचाई योजनाको उद्‌घाटन गरेका छन् । पर्यटन करिडोर र लिफ्ट सिँचाई आयोजनाले सियारी गाउँपालिकाका नागरिकको आर्थिक अवस्था  परिवर्तन गराउने उनले विश्वास व्यक्त गरे ।

‘गरे देशमै हुन्छ भन्ने उदाहरण सियारी गाउँपालिका बनेको छ । देशमा केही भएन भन्ने भाष्य बनाउन खोजिएका बेला सियारी गाउँपालिकाले एउटा नमूना प्रस्तुत गरेको छ,’ उपप्रधानमन्त्री सिंहले भने, ‘पर्यटन करिडोरले यहाँको पर्यटन प्रवर्द्धनमा योगदान पुग्ने छ भने लिफ्ट सिँचाईले यहाँको कृषि उत्पादन बढाउने र यहाँका कृषकको समृद्धिका लागि योगदान पुग्नेमा विश्वस्त छु ।’

नागरिकको जीवनमा परिवर्तन ल्याउन सियारी गाउँपालिकाले कृषि र पर्यटन क्षेत्रमा गरेको काम उदाहरणीय भएको भन्दै उनले प्रशंसा गरे । 

लिफ्ट सिँचाई आयोजनाले  १०५ हेक्टर क्षेत्रफलमा सिँचाई सुविधा हुनेछ । सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेले कृषकको चाहना अनुसार पालिकाले काम गरिरहेको बताए । ‘दुई वटा योजना सफल भएपछि यहाँको आर्थिक अवस्थामा आमूल परिवर्तन हुनेछ,’ उनले भने । 

त्यस्तै फरक सन्दर्भमा उपप्रधानमन्त्री सिंहले कोभिड पछिको धराशायी अर्थतन्त्रलाई चलायमान बनाउन र लयमा ल्याउन सरकारले काम गरिरहेको र अहिले सुधारको संकेत देखिन थालेको  बताए ।

‘कोभिडपछिको अर्थतन्त्र उकास्न सरकारले काम गरिरहेको छ । अर्थतन्त्रलाई चलायमान बनाउन सरकारको ध्यान केन्द्रित छु,' उपप्रधानमन्त्री सिंहले भने, 'अर्थतन्त्र सुधार्न उच्चस्तरीय संयन्त्र बनाएका छौं । अर्थतन्त्र चलायमान र लयमा ल्याउन सरकारले काम गरिरहेको छ ।'

salt training

कमेन्ट गर्नुहोस्