नेकपा एमालेको स्थायी समिति सदस्यबाट निलम्बनमा परेकी विन्दा पाण्डेले ६ महिना रचनात्मक र सिर्जनात्मक काममा लाग्ने बताएकी छन् ।
बुधबार बसेको एमाले सचिवालय बैठकले स्थायी समिति सदस्य पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सेनालाई ६ महिनाका लागि जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको थियो । सोही निर्णयमा पाण्डेले प्रतिक्रिया दिएकी हुन् ।
सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट लेख्दै उनले नेताले ६ महिनाका लागि छुट्टी दिएको खबर सुनेको बताएकी छन्।
‘हामी त पार्टी काममै थियौं, नेताले ६ महिना छुट्टी दिएको खबर सुनियो। यो अवधिलाई रचनात्मक र सिर्जनात्मक रूपमा प्रयोग गर्नु पर्नेछ । यहाँहरूको सुझाव पाउँ ल!’, पाण्डेले लेखेकी छन् ।
बुधबारकै एमाले सचिवालय बैठकले पूर्व उपाध्यक्ष भीम रावललाई साधारण सदस्य समेत नरहनेगरी पार्टीबाट निष्काशित गरेको छ । रावल एमालेमा लामो समयदेखि भूमिकाविहीन बनाइएका थिए । उनले खासगरी पार्टी अध्यक्ष केपी शर्मा ओलीका निर्णयको आलोचन गर्ने गरेका थिए । एमालेको १०औं महाधिवेशनमा अध्यक्षमा ओलीविरुद्ध उम्मेदवारी दिएका रावल पराजित भएका थिए ।
यता, पाण्डे र तिमल्सेनाले भने एमालेले व्यवसायी मीनबहादुर गुरुङबाट जग्गा दानमा लिएर भवन बनाउने निर्णयको विरोध गरेका थिए । पार्टी कार्यकर्ताहरू आफैं भवन बनाउनका लागि योगदान गर्न तयार रहेको अवस्थामा व्यवसायीबाट दानमा जग्गा लिन नहुने उनीहरूको धारणा थियो ।
तर, पार्टी निर्णयका विरुद्ध बोलेको भन्दै एमालेले उनीहरूलाई स्पष्टीकरण सोधेको थियो । उनीहरूले बुझाएको स्पष्टीकरण चित्तबुझ्दो नभएकाले ६ महिनाका लागि जिम्मेवारीमुक्त गरिएको उपमहासचिव प्रदीप ज्ञवालीलले बताए ।
उनीहरूलाई कारबाहीको निर्णय गर्नुअघि बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी अनुशासनविरुद्ध काम गर्ने जोसुकैमाथि कारबाही हुने चेतावनीदिएका थिए । ओलीले पार्टीको विधि, नीति र नेतृत्वलाई नमान्ने जोसुकै कारबाहीको भागीदार बन्नुपर्ने चेतावनी दिएका हुन् ।
‘पार्टीमा अनुशासन एकदमै महत्त्वपूर्ण हुन्छ । नीति, नेतृत्व र अनुशासन तोडेपछि भीम रावललाई कारबाही गरिएको हो,’ ओलीको भनाइ उदृत गर्दै सचिवालयका एक सदस्यले लोकान्तरसँग भने, ‘पार्टीमा सबैले विधि मान्नुपर्छ । जसले पार्टीको नेतृत्व र विधि मान्दैन त्यो कारबाहीको भागिदार बन्छ । नेतृत्व नमान्नेको हकमा उदार बनेर काम छैन ।’