२९ जेठ २०८३, शुक्रबार

फिरौतीका लागि गौचनको हत्या : बुढाथोकीले गाडीमा ढुंगा हाने, स्याङ्तानले गोली !

कात्तिक २९, २०७४
फिरौतीका लागि गौचनको हत्या : बुढाथोकीले   गाडीमा ढुंगा हाने, स्याङ्तानले गोली !

काठमाडौँ, २९ कात्तिक- नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या पैसाकै लागि भएको प्रहरीले जनाएको छ । काठमाडौंमा गुन्डागर्दीमा संलग्न समीरमानसिंह बस्नेत नेतृत्वको समूहले मागेअनुसार पैसा नदिएपछि गोली हानेर गौचनको हत्या गरेको महानगरीय प्रहरी आयुक्त एआइजी जयबहादुर चन्दले बताए ।


हत्यामा संलग्न एक सुटरसहित पाँचजनालाई प्रहरीले मंगलबार सार्वजनिक गरेको छ । गोली हान्नेमध्ये एक राजीव स्याङ्तान पक्राउ परेका छन् । नुवाकोटको पञ्चकन्या घर भएका २१ वर्षीय स्याङ्तानलाई पैसा दिएर गोली हान्न लगाइएको प्रहरीले जनाएको छ । ‘गौचनलाई सो समूहले पैसा माग्दै पटक–पटक धम्क्याएको अनुसन्धानमा खुलेको छ,’ छानबिन समितिका डिआइजी गणेश केसीले भने, ‘पैसा नदिएपछि नै उनको हत्या गरेको हाम्रो अहिलेसम्मको निष्कर्ष छ, तर अनुसन्धान अझै पूरा भइसकेको छैन ।’

सो घटनामा सहयोग गर्ने पर्साका शिवजी महतो, भारतीय नागरिक मुकेशकुमार पाण्डे, पर्साका सन्तोष गुरुङ र काठमाडौं नागार्जुनका प्रकाश बुढाथोकी पनि पक्राउ परेका छन् । उनीहरूमध्ये महतो मोटरसाइकल र हतियारको व्यवस्थापन गर्ने व्यक्ति हुन् । पाण्डेले भारतबाट चितवनसम्म ल्याएर सो समूहका एक व्यक्तिलाई हतियार दिएका थिए । गुरुङ मोटरसाइकल व्यवस्थापन तथा बुढाथोकी गौचनको गाडीमा ढुंगा हान्ने व्यक्ति भएको प्रहरीले जनाएको छ । पक्राउ परेका सुटरले आफूलाई पैसा दिने आश्वासन दिएर गोली हान्न लगाइएको बताएका छन् । पक्राउ परेकामध्ये प्रकाश मात्र नाइकेहरूसँग प्रत्यक्ष सम्बन्ध भएका व्यक्ति हुन् ।

गौचन हत्याका योजनाकार सबै फरार छन् । छानबिन समितिका संयोजक केसीका अनुसार हत्याको प्रमुख योजनाकार समीरमानसिंह बस्नेत हुन् । उनले र लोप्साङ लामाले मिलेर हत्याको योजना बनाई गोप्य ढंगले सहयोगीहरू खटाएका थिए । गौचनको हत्या गरेपछि अरू ठेकेदारलाई धम्क्याएर पैसा असुल्ने नै उनीहरूको प्रमुख उद्देश्य देखिएको छ । हत्यालगत्तै लोप्साङले काठमाडौंका एसएसपी रवीन्द्र धानुकलाई फोन गरेर घटनाको जिम्मेवारी लिएका थिए । सोही समूहले त्यसपछि ठूला ठेकेदारहरूलाई धम्क्याएर पैसा मागेको थियो । मुख्य नाइके फरार नै रहेकाले उनीहरूले अब थप व्यवसायीलाई धम्क्याएर पैसा असुल्न सक्ने भन्दै प्रहरीले हुन्डी कारोबारीमाथि निगरानी सुरु गरिसकेको छ । हुन्डीमार्फत पैसा मगाउने गरेकाले प्रहरीले अनुसन्धान अगाडि बढाएको हो ।

घटनामा संलग्न र फरार व्यक्तिहरूको नाम प्रहरीले सार्वजनिक गरेको छ । जसमा समीरसहित मनोज पुन, लोप्साङ, बोका भन्ने गंगा लिम्बू, श्यामबहादुर गम्बे, कालेदाइ भन्ने अम्बरबहादुर रानामगर, रोशन बुढाथोकी र अजय थापा छन् । उनीहरू सबै विगतमा गुन्डागर्दीमा आबद्ध व्यक्ति हुन् । सबैजना भारतमा लुकेको प्रहरी आशंका छ । उनीहरूलाई पक्राउ गर्न तीन सातासम्म एउटा प्रहरी टोली भारतमा बसे पनि असफल भएर फर्किएको थियो, नयाँ पत्रिकामा खबर छ  ।

salt training

कमेन्ट गर्नुहोस्