०२ साउन २०८३, शनिबार

भारतका पूर्वप्रधानमन्त्री सिंहको स्मारकलाई लिएर दलहरूबीच विवाद, कसले के भने ?

पुस १३, २०८१
काठमाडौं
भारतका पूर्वप्रधानमन्त्री सिंहको स्मारकलाई लिएर दलहरूबीच विवाद, कसले के भने ?

भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको निधनसँगै उनको स्मारक निर्माणका लागि स्थान उपलब्ध गराउन कांग्रेसले तीव्र दबाब सिर्जना गरिरहेको छ । 

कांग्रेस अध्यक्ष मल्लिकार्जुन खर्गेले प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेख्दै सिंहको योगदानको सम्मानमा स्मारक निर्माणका लागि उचित स्थान सुनिश्चित गर्न आग्रह गरेका छन् । 

खर्गेले सिंहको आर्थिक सुधारका नीतिहरूले देशलाई आर्थिक संकटबाट उबार्दै स्थायित्व र समृद्धि प्रदान गरेको उल्लेख गरेका छन् ।

कांग्रेसका महासचिव जयराम रमेशले सिंहको स्मृति विश्वव्यापी छवि, असाधारण उपलब्धि र दशकौँसम्मको देशसेवाको सम्मानका लागि महत्वपूर्ण रहेको बताएका छन् । 

कांग्रेस सांसद अमरिन्दर सिंह राजा वाडिङले पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको स्मारकका लागि स्थान छुट्याइएको उल्लेख गर्दै सिंहको स्मारकका लागि पनि स्थान छुट्याउन माग गरेका छन् ।

शिरोमणि अकाली दलका अध्यक्ष सुखवीर सिंह बादलले सिख समुदायका एक मात्र प्रधानमन्त्रीप्रति सरकारको व्यवहारलाई अस्वीकार्य भन्दै प्रधानमन्त्री मोदीलाई हस्तक्षेप गर्न आग्रह गरेका छन् । 

राष्ट्रिय जनता दल प्रमुख लालुप्रसाद यादवले सिंहलाई सम्मान दिनुपर्नेमा जोड दिएका छन् भने बसपा प्रमुख मायावतीले सिख समुदायको भावनाको कदर गर्दै स्मारक निर्माण गर्न उचित कदम चाल्न सरकारलाई सुझाव दिएकी छन् ।

यसबीच गृह मन्त्रालयले कांग्रेस अध्यक्षलाई स्थान उपलब्ध गराउने जानकारी गराएको जनाएको छ । मन्त्रालयका अनुसार मन्त्रिपरिषद्को निर्णयअनुसार स्मारक निर्माणका लागि ट्रस्ट गठन गरी स्थान छुट्याउने प्रक्रिया अघि बढाइएको छ ।

भाजपा प्रवक्ता सुधांशु त्रिवेदीले कांग्रेसले सिंहलाई कहिल्यै सम्मान नगरेको आरोप लगाउँदै भाजपा सरकारले सबै नेताहरूप्रति सम्मान व्यक्त गर्ने दृष्टिकोण अपनाएको बताएका छन् ।

डा. मनमोहन सिंहको निधनपछि उनको पार्थिव शरीरलाई दिल्लीस्थित निवासमा राखिएको थियो, जहाँ नेताहरू र जनताले श्रद्धाञ्जली अर्पण गरेका थिए । 

भारत सरकारले सिंहको निधनको सम्मानमा सात दिने राष्ट्रिय शोक घोषणा गरेको छ । २००४ देखि २०१४ सम्म लगातार १० वर्ष प्रधानमन्त्री रहेका सिंहलाई देशको आर्थिक जग निर्माण गर्ने नेता मानिन्छ ।

salt training

कमेन्ट गर्नुहोस्