२१ जेठ २०८३, बिहीबार
आर्थिक सुधारको बहस

'बाह्य सूचक राम्रो हुँदै गएपनि निजी क्षेत्र पुरानै समस्याबाट बाहिर आउन सकेको छैन'

'कतिपय संकुचित नीतिहरू कायमै छन्, यथास्थितिमा लगानी बढाउन गाह्रो छ'
पुस १४, २०८१
काठमाडौं
'बाह्य सूचक राम्रो हुँदै गएपनि निजी क्षेत्र पुरानै समस्याबाट बाहिर आउन सकेको छैन'

नयाँ संविधान जारी हुनुभन्दा अगाडि आएको महाभूकम्पका कारण नेपालको निजी क्षेत्र प्रताडित नै थियो, तर संविधानपछि हामीमा नयाँ उत्साह आयो । संविधान जारी भएका कारण निजी क्षेत्र खुसी बन्यो र नेपालको अर्थतन्त्रमा एउटा आशाको किरण जाग्यो ।

२०७२ मा संविधान जारी भएपछि ७३/७४, ७४/७५ र ७५/७६ मा औसत ७ दशमलव ७५ प्रतिशत आर्थिक वृद्धिदर हुनु चानेचुने कुरा थिएन । त्यो ग्रोथबाट उत्साहित भएर हामीले पर्यटन, हाइड्रोपावर, जडिबुटी, पर्यटनमा 'भ्यालु एड' गर्न थालेका थियौं । त्यसले हाम्रो आर्थिक वृद्धिदरलाई डबल डिजिटमा लैजान सक्थ्यो । त्यतिबेला ९/१० प्रतिशतको मात्र आर्थिक वृद्धिदर हुनु भनेको संसारभरका लागि उदाहरण हुन सक्थ्यो ।

तर, अचानक २०७६ को अन्त्यमा कोभिड महामारी शुरूआत भयो । कोभिड नै खराब अर्थव्यवस्थाको दिशातर्फ एउटा नरमाइलो 'टर्निङ पोइन्ट' बन्यो । ६/६ महिनाको लकडाउन र एकआपसमा भेट गर्न नपाउने अवस्था सिर्जना हुनु निश्चय नै विडम्बना थियो । त्यसले अर्थतन्त्रमा व्यापक शिथिलता ल्यायो । त्यो वर्ष हाम्रो ग्रोथ माइनसमा पुग्यो । त्यतिबेला संसारभर नै त्यस्तै भएको थियो ।

तर, २०७७/७८ मा धेरै सहज मौद्रिक नीति आयो । यो कोभिडबाट पीडित उद्योगी/व्यवसायीका लागि धेरै लचिलो र सहज थियो । उद्योग व्यापार नचलेको बेलामा उद्यमी व्यवसायीले ब्याज र किस्ता तिर्न सकिरहेका थिएनन् । उनीहरूलाई कर्जा पुनर्संरचनादेखि पुनर्कर्जासम्मका सुविधाहरू मौद्रिक नीतिले दिएको थियो ।

बजारमा प्रशस्त लगानीयोग्य रकम थियो । ब्याजदर पनि सिंगल डिजिटमा थियो । उद्यमी व्यवसायीहरू यत्रो ठूलो कोभिडको मारमा पनि उत्साहित भएर आए । त्यसबेला 'भी सेप' र 'यु सेप'मा रिकभर गर्छौं भन्ने उत्साह आएको थियो । कसैले छिटो ग्रो गरे, अधिकांश यु सेपमा प्रगति गर्दै आए र कतिपय सेक्टरहरू अहिले पनि 'एल सेप'मै छन् । त्यसपछि ७८/७९ को दौरानमा हाम्रो ग्रोथ राम्रो देखियो ।

त्यो मौद्रिक नीति जसले निजी क्षेत्र थप धराशायी बन्यो

हामी उत्साहित थियौं, तर त्यो लामो समय टिक्न सकेन । आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति अत्यन्त संकुचित भएर आयो । त्यतिबेला मैले सम्झिएअनुसार झन्डै ५, साढे ५ महिनाका लागि मात्र हामीसँग आयात गर्न पुग्ने विदेशी मुद्रा सञ्चिति थियो ।

त्यतिबेला सरकार अत्यन्त डरायो । अर्कातर्फ श्रीलंकाको परिस्थिति सिर्जना हुन्छ भनेर हौवा फैलाइयो, जबकि हाम्रो अवस्था त्यत्तिको नराम्रो थिएन । सयको स्पीडमा दौडेको गाडीलाई एक्कासि ब्रेक लगाएजस्तो भयो ।

उक्त मौद्रिक नीतिपछि हरेक सेक्टर डाउन हुँदै गयो । सबैभन्दा पहिला शेयर मार्केट घट्यो । घरजग्गा कारोबारमा शिथिलता आयो । खुलाबजार अर्थतन्त्रले मेन्टेन गरिरहेको ब्याजदरमा हस्तक्षेप भयो । त्यो हुनेबित्तिकै उद्यमी व्यवसायीले एकल ब्याजदरको मापदण्डअन्तर्गत ऋण लिएका उद्योग कलकारखानाहरू सञ्चालन गर्न, कर्जा तिर्न, किस्ता तिर्न असमर्थ भए ।

निजी क्षेत्रले न कर्जाको किस्ता तिर्न सक्यो, न त ब्याज मात्र पनि । राष्ट्र बैंकले निकै संकुचित मौद्रिक नीति ल्याएपछिको २ वर्षमा मात्र ७५ हजारभन्दा बढी उद्यमी व्यवसायीहरू कालोसूचीमा परे ।

त्यसपछि ठूलो समस्याका रूपमा उच्च ब्यादजर देखियो । निजी क्षेत्रले न कर्जाको किस्ता तिर्न सक्यो, न त ब्याज मात्र पनि । राष्ट्र बैंकले निकै संकुचित मौद्रिक नीति ल्याएपछिको २ वर्षमा मात्र ७५ हजारभन्दा बढी उद्यमी व्यवसायीहरू कालोसूचीमा परे ।

यसले झन्डै ४० प्रतिशतको हाराहारीमा मात्र उत्पादन भयो । त्यसको चेन इफेक्ट पर्ने नै भयो । ठूलो मात्रामा सहकारीके समस्या सिर्जना भएको त्यतिबेलै हो । सहकारी भनेको साना, मझौला उद्यमी व्यवसायीले कारोबार गर्ने महत्त्वपूर्ण संस्था थियो ।

बजारमा माग भएन । उद्यम चलेन । शटरहरू सबै खाली भएर गए । अहिले पनि पूरै 'रिकभर' भएको छैन । यसरी बजार खाली भइसकेपछि बेरोजगारी समस्या पनि सिर्जना भयो ।

हामी त ५० प्रतिशतको हाराहारीमा स्वरोजगारवाला छौं । अधिकांशले आफ्नो व्यवसाय बन्द गरेर विदेश पलायन भए या अन्य काम गर्न थाले ।

सरकारले पनि आयातमा भारी नियन्त्रण गर्‍यो, त्यो गर्नै नहुने कुरा थियो, जसमा एक रुपैयाँको समान इम्पोर्ट गर्दा दुई/अढाई रुपैयाँसम्म राजस्व सरकारले कमाउने गर्थ्यो, त्यसमा पनि प्रतिबन्ध लगाइयो । हाम्रो अर्थतन्त्र अत्यन्त शिथिल भयो ।

त्यही बेलामा राष्ट्र बैंकले चालू पूँजी कर्जा निर्देशिका ल्यायो । त्यो निर्देशिकापछि नेपालमा उद्यमी व्यवसायीले काम गर्ने अवस्था देखेनन् । त्यसको प्रोभिजनमा एकपल्ट ७ दिनलाई सम्पूर्ण कर्जा चुक्ता गर्नैपर्छ भनियो, अब बजारमा रहेको पैसा एकैपटक ७ दिनका लागि चुक्ता हुन सम्भव छ ? पैसा त बजारमा रोटेसनमा हुन्छ नि ! त्यसमा निजी क्षेत्रले विरोध गरेपछि केही सामान्यीकरण पनि गरिएका छन् । ‍

घरजग्गा कारोबारलाई अनुत्पादक भन्नु गलत

घरजग्गा कारोबारलाई कतिपयले अनुत्पादक क्षेत्र हो भनेर टिप्पणी गर्ने गरेको पाइन्छ । सरकारले पनि त्यस्तै रवैया देखायो । तर, नेपालको हकमा यसलाई त्यसरी परिभाषा गर्न मिल्दैन ।

नेपालको अर्थतन्त्रको हकमा घरजग्गा व्यवसाय एउटा महत्त्वपूर्ण क्षेत्र हो, किनभने बैंकबाट ऋण लिएर उद्योग व्यवसाय गर्नका निम्ति घरजग्गा नै कोल्याटरल राख्नुपर्छ ।

कोल्याटरल मात्र नभई प्रोजेक्ट पनि धितोमा राख्नुपर्छ । नेपालमा डबल कोल्याटरल सिस्टम शुरूदेखि नै चलिरहेको छ । कुनै पनि प्रोजेक्ट खोल्नुभन्दा अगाडि सबैभन्दा पहिला कोल्याटरल घरजग्गा नै चाहिने भएकाले पहिला घरजग्गामा लगानी हुन्थ्यो । यसरी समग्र उद्यमी व्यवसायीले घरजग्गा मार्केटमा लगानी गर्न थाले, अलिअलि मूल्य पनि बढ्न थाल्यो ।

उद्यमी व्यवसायीले के सोच्न थाले भने- पहिला घरजग्गा किनौं अनि त्यसलाई कोल्याटरल राखेर प्रोजेक्ट गरौं । कथंकदाचित नोक्सानी भइहाल्यो भने घरजग्गाको मूल्यले धानिहाल्छ । नेपालको उद्योग व्यवसायमा यसकारण पनि घरजग्गा कारोबारले अत्यन्त महत्त्वपूर्ण भूमिका खेलेको छ ।

कुनै पनि क्षेत्र उत्पादक र अनुत्पादक भनेर विशिष्ट मापदण्ड कहीं पनि छैन । अर्थतन्त्र चलाउन सबै क्षेत्रको उत्तिकै भूमिका हुन्छ । सबै उत्पादनमूलक हुन्छन् । नेपालको हकमा घरजग्गा अर्थतन्त्रको इकोसिस्टमको एउटा महत्त्वपूर्ण अंग थियो र छ ।

चालू आर्थिक वर्षको खराब शुरूआत

हाम्रोमा नीतिगत स्थायित्वको ठूलो अभाव रह्यो । उद्योग व्यवसायका लागि यो निकै ठूलो असहजता र समस्या बनेर आएको थियो । जब आर्थिक गतिविधि शिथिल भयो, तब सरकारको राजस्व पनि कम भयो । सरकारले पनि राजस्व अधिकतम लिनका लागि यिनै उद्यमी/व्यवसायीलाई दबाब दिएर अतिरिक्त कर उठाउन थाल्यो ।

अहिलेको बजेटमा भन्सारका दरहरू बढाइए । विभिन्न प्रकारका कर थपिए, जसका कारण पारदर्शी कारोबार कम हुँदै गयो र चोरीपैठारी बढ्दै गयो । नेपाल र भारतको सीमामै २०/३० प्रतिशत मूल्य कमबढी हुन थालेपछि त्यसले औपचारिक अर्थतन्त्र थप डामाडोल हुन थाल्यो ।

यो आर्थिक वर्षमा केही सकारात्मक कुरा पनि भएका छन् । एउटा त नीतिगत स्थायित्वका लागि दुई ठूला दलले प्रयास गरिरहेका छन् । कांग्रेस र एमालेको नयाँ गठबन्धनले एउटा आशा जगायो ।

यो सरकारले शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग गर्छ भनेर हामी आशावादी बनेका थियौं ।

यही बीचमा राष्ट्र बैंकले पनि सजगतापूर्वक लचिलो मौद्रिक नीति ल्यायो । त्यसले पनि केही आशावादी हुने ठाउँ त दियो तर अवस्था भने खासै सुध्रिन सकेको छैन । मौद्रिक नीतिपछि हामीलाई आगामी दिनमा अर्थतन्त्रमा काला दिन दोहोरिने छैनन् जस्तो लाग्यो ।

अहिले पनि कतिपय संकुचित नीतिहरू कायमै छन् । त्यसलाई अर्थतन्त्रको भाषामा 'स्टेज फ्लेसन' भनिन्छ । यो संसारमा कसैले पनि नरुचाएको अर्थतन्त्रको साइकल हो । एकदमै स्लो ग्रोथ भइरहेको छ । यस्तो अवस्थामा आर्थिक गतिविधि अत्यन्त न्यून हुन्छ, अनि युवा पलायन बढी हुन्छ । अहिले पनि त्यस्तै भइरहेको छ ।  

कुनै पनि क्षेत्र उत्पादक र अनुत्पादक भनेर विशिष्ट मापदण्ड कहीँ पनि छैन । अर्थतन्त्र चलाउन सबै क्षेत्रको उत्तिकै भूमिका हुन्छ । सबै उत्पादनमूलक हुन्छन् । नेपालको हकमा घरजग्गा अर्थतन्त्रको इकोसिस्टममा एउटा महत्त्वपूर्ण अंग थियो र छ ।

अहिले बैंकिङ क्षेत्रमा ७ खर्ब भन्दा बढी लगानीयोग्य रकम छ । ३ प्रतिशत ब्याजदरमा राष्ट्र बैंकले त्यसलाई उठाइरहेको छ । ब्याजदर पनि एकदमै कम छ । तर, लगानी छैन । यसको पछाडिको एउटा महत्त्वपूर्ण कारण भनेको विगतका समस्याको समाधान नभइकन उद्यमी व्यवसायीहरू नयाँ लगानी गर्न तयार छैनन् ।

जस्तै त्यतिबेला उच्च ब्याजदरमा लिएको कर्जा चुक्ताको दायित्व छ । उद्यमी व्यवसायीले लगानी गरेर किनेको घरजग्गा बिक्न सकेको छैन । जुन कोल्याटरलका लागि राखिएको जग्गा थियो, त्यसको मूल्यांकन कम हुँदै गएपछि बैंक तथा वित्तीय संस्थाहरूले डिफरेन्स पनि माग्न थाले, शेयर मार्केटमा हुने मार्जिन कलजस्तो हुन थाल्यो ।

समग्र अर्थतन्त्रलाई संकुचित नीतिले ड्यामेज गरिरहेको भन्दै निजी क्षेत्रले यसको समाधानका लागि कुनै ठूलो संयन्त्र चाहिन्छ भनेर माग गर्न थाल्यो ।

हाम्रो माग र दबाबकै कारण सरकार उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गर्न तयार भयो । त्यतिबेला ५ जना सदस्य राखिएका थिए । रामेश्वर खनाल हाम्रो पूर्व अर्थसचिव र अनुभवी विज्ञ हुनुहुन्छ, उहाँले नै नेतृत्व गरिरहनुभएको छ ।

हामी कसरी आयातमुखी हुँदै गयौं ?

निजी क्षेत्र खुला बजार अर्थतन्त्रको हिसाबले मुभ गरिरहेको हुन्छ ।

कसैलाई शेयर मार्केट या कुनै अन्य सेक्टरमा किन लगानी गरेको भनेर प्रश्न सोध्न मिल्दैन, किनकि निजी क्षेत्र जता फाइदा देख्छ, त्यतैतिर जान्छ ।

यहाँ महत्त्वपूर्ण प्रश्न हो, किन निजी क्षेत्र आयातमुखी अर्थतन्त्रमा गयो त ?

२०६२/६३ तिर नेपालको कूल गार्हस्थ उत्पादनमा औद्योगिक क्षेत्रको योगदान १२ देखि १३ प्रतिशत थियो, तर अहिले ५ प्रतिशतभन्दा तल झरेको छ । हामीले सधैं भनिरहेका छौं, यसको पछाडि निजी क्षेत्रको दोष छैन ।

त्यतिबेला लोडसेडिङ थियो, हाम्रो उत्पादन कमजोर थियो, प्रतिस्पर्धी थिएनन् । सरकारले पनि उत्पादनमूलक क्षेत्रको प्रवर्द्धन गर्ने नीति ल्याउन सकेन । सरकार नै राजस्वमा रमायो ।

अब एकातिर उत्पादनमूलक क्षेत्र घटेपछि रोजगारीको सिर्जना हुन छाड्यो । त्यसपछि मान्छे काम गर्न विदेश जान थाले । रेमिट्यान्स पठाउन थाले । रेमिट्यान्सबाट आएको १ सयमा ३५ रुपैयाँ त सरकारले राजस्व मात्र उठाउँछ । उत्पादनमूलक क्षेत्रलाई प्रतिस्पर्धी बनाउन सरकारको पनि ध्यान पुगेन ।

तर, कोभिडपछि हामी आयातमुखी अर्थतन्त्रमा निर्भर भएर बस्न सक्दैनौं भनेर पाठ सिकेका छौं । जुन देशबाट हामीले आयात गर्थ्यौं, कोभिडको बेलामा ती देशहरूले पहिला आफ्नो नागरिकलाई आपूर्ति गरेर मात्र निर्यात गर्ने नीति लिए ।​

कोभिडकै भ्याक्सिन पनि हामीले बाहिर धेरै ठाउँबाट मगायौं । जुन देशबाट हामीले भ्याक्सिन लियौं, त्यो देशले पहिला आफ्नो नागरिकलाई दिएर बल्ल हामीलाई निर्यात गरेको हो ।

आयातमुखी अर्थतन्त्र दीर्घकालीन हुँदोरहेनछ भनेर हामीले पाठ त सिक्यौं, तर त्यहीअनुसार काम भने गरिरहेका छैनौं । कोभिडकालमा विदेशमा पनि रोजगारी कटौती भएर रेमिट्यान्स घटेर नै विदेशी सञ्चिति हाम्रोमा कम भएको थियो ।

कोभिडजस्तै फेरि केही आयो भने विदेशमा काम गरिरहेका दाजुभाइ त फर्किनुपर्ला, उनीहरू फर्केपछि यहाँ रोजगारी दिने निजी क्षेत्रले नै हो । अहिले एउटा त्यो पनि चिन्ताको कुरा छ ।

अहिले सरकारको तर्फबाट आर्थिक सूचक धेरै राम्रो छ । सरकारले निजी क्षेत्रलाई आत्मविश्वासी बन्न आग्रह गरिरहेको छ, तर हामी पुरानो समस्याबाटै बाहिर आउन सकेका छैनौं ।

केही सकारात्मक कुरा

विदेशी लगानीकर्तालाई आकर्षित गर्न हामीले कन्ट्री रेटिङ गराएका छौं, त्यसको रिजल्ट डबल बी माइनस आयो । यसले विदेशी लगानीकर्ताले यहाँ लगानी गर्न खोजेको अवस्थामा उनीहरूले त्यसको रिटर्न लैजान पाउँछन् भन्ने ग्यारेन्टी भएको छ ।

विदेशी लगानी भित्र्याउन हेजिङको पनि माग उठिरहेको छ र त्यसमा अध्ययन भइरहेको छ । पछिल्लो समय डलरको तुलनामा भारतीय मुद्राको निरन्तर अवमूल्यन हुँदैछ, त्यसले हाम्रोमा पनि प्रत्यक्ष प्रभाव पारेको छ । त्यसकारण हेजिङ चाहियो भनिएको छ । त्यसमा सरकार सकारात्मक देखिन्छ ।

अर्को उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन भयो । हामीले निजी क्षेत्रको पनि सहभागिता चाहियो भन्यौं । उहाँहरूले निजी क्षेत्रलाई आमन्त्रित सदस्यका रूपमा राख्छौं भनेर भन्नुभएको थियो, तर हामीले कडा अडान लियौं ।

निजी क्षेत्रलाई पनि आर्थिक सुधार सुझाव आयोगमा समेटिएपछि हामी २ वटा बैठक बस्यौं । आयोगको उद्देश्य धेरै ठूलो छ । समग्र अर्थतन्त्र सुधार गर्नका लागि सुझाव दिने नै निकै वृहत् कुरा हो । मेरो हिसाबले आयोगले पाएको ६ महिना समय कम छ । हरेक सेक्टरलाई छुनुपर्नेछ ।

एक महिनाअगाडि निजी क्षेत्रका तीन संस्थालाई आयोगमा स्थायी सदस्यका रूपमा राख्नुभयो । नेपाल चेम्बर अफ कमर्स, उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघ त्यहाँ स्थायी सदस्य छौं ।

निजी क्षेत्रलाई पनि आयोगमा समेटिएपछि हामी २ वटा बैठक बस्यौं । आयोगको उद्देश्य धेरै ठूलो छ । समग्र अर्थतन्त्र सुधार गर्नका लागि सुझाव दिने नै निकै वृहत् कुरा हो । मेरो हिसाबले आयोगले पाएको ६ महिना समय कम छ । हरेक सेक्टरलाई छुनुपर्नेछ । निजी क्षेत्र नै प्रवेश गरेपछि कसैलाई पनि छुटाउनु भएन ।

आयोगलाई सरकारले छिटोभन्दा छिटो गर्नुपर्ने केही काम छ भने त्यसबारे तत्काल सुझाव दिने म्यान्डेट पनि दिएको छ । अर्थतन्त्र सुधारका लागि केही काम तत्काल गर्नुपर्ने अवस्थामा सरकारले आयोगको सुझाव मान्छु भनेको छ, त्यो अल्पकालीन सुझावको प्रतिवेदन तयार हुँदैछ ।

आयोगले दिने सुझावकार्यान्वयन होला त ?

यो सरकारले आयोग त बनायो, आयोगले सुझाव पनि देला, तर त्यो कार्यान्वयन गर्ने बेलामा अर्कै सरकार आयो भने के होला भन्ने प्रश्न पनि छन् । सरकार निरन्तर परिवर्तन हुनु अर्थतन्त्रका लागि खासै राम्रो कुरा नभएपनि यो संवैधानिक प्रक्रिया पनि हो । हामीले संविधान मान्नुपर्छ ।

सरकार संविधानअनुसार नै हेरफेर भएको छ, तर समृद्धिको मार्गचित्र सबै दलका लागि लागू हुन्छ । सबै दलको प्रतिबद्धता पनि आइरहेको छ ।

पुरानो सरकार पनि समृद्धिको मामिलामा प्रतिबद्ध थियो, तर नयाँ सरकारको त धेरै नै प्रतिबद्धता आएको छ । अर्थतन्त्र सुधारका लागि नयाँ सरकारले प्राथमिकता तोकेको पनि छ ।

अर्को महत्त्वपूर्ण पाटो के हो भने वित्त नीति र मौद्रिक नीतिबीच सामञ्जस्य हुनुपर्छ ।

समग्र निजी क्षेत्रको लगानी झन्डै ८१ प्रतिशत छ । हाम्रो अवस्था शिथिल भएको छ । नेताहरूले व्यक्तिगत रूपमा कसरी मूल्यांकन गर्नुभएको छ, त्यो पनि महत्त्वपूर्ण हो । त्यसैले आयोगले दिने सुझाव कार्यान्वयनमा ठूलो समस्या नहोला भन्ने मलाई लाग्छ ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालसँग लोकान्तरका ईश्वर अर्यालले गरेको कुराकानीमा आधारित ।

salt training

कमेन्ट गर्नुहोस्