२८ जेठ २०८३, बिहीबार
जनप्रतिनिधिको जग्गा मोह​

नागार्जुनका मेयरविरुद्ध १३ करोडको सम्पत्ति शुद्धीकरण र ९ करोडको भ्रष्टाचार मुद्दा दायर

पुस १४, २०८१
काठमाडौं
नागार्जुनका मेयरविरुद्ध १३ करोडको सम्पत्ति शुद्धीकरण र ९ करोडको भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतविरुद्ध भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको छ ।​ ​

उनीविरुद्ध १३ करोड १२ लाख ७३ हजार ३२ रुपैयाँ बिगो कायम गरी आइतबार विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

बस्नेतले पद्मा मर्चेन्ट कम्पनी प्रालि र यसका सञ्चालक/अध्यक्ष राजुप्रसाद कँडेलबाट गैरकानूनी रूपमा जग्गा तथा रकम लिएर बिक्रीसमेत गरेको आयोगको दाबी छ ।​

बस्नेतले नगर प्रमुखको पद ओहदाको दुरुपयोग गरी नागार्जुन नगरपालिकामै कार्यक्षेत्र रहको घर/जग्गा व्यवसायी पद्मा कोलोनी प्रालि/पद्मा मर्चेन्ट कम्पनी प्रालि /जगतगुरु कृपालु प्रतिष्ठान नेपालका सञ्चालक/अध्यक्ष राजुप्रसाद कँडेलबाट घुस लिने मनसायले जगतगुरु कृपालु प्रतिष्ठान नेपाललाई नगरपालिकाबाट विभिन्न शीर्षकमा कर छुट दिएको पाइएको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

उक्त प्रतिष्ठानलाई व्यक्ति तथा संघसंस्थाहरूबाट विदेशी सहायता ७ अर्ब ४८ करोड रुपैयाँ  प्राप्त गर्न सहमति दिन लगाएको अभियोगपत्रमा उल्लेख गरिएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतबाट हुने पत्राचारसमेत उनले आफ्नै दस्तखतबाट गरी उक्त प्रतिष्ठानको ख्यातिमा वृद्धि गराएको अभियोगपत्रमा उल्लेख छ ।

सोही प्रतिष्ठानले नागार्जुन नगरपालिका भित्र मन्दिर निर्माण गर्ने भनी जग्गा राजुप्रसाद कँडेल तथा उनको कम्पनीहरूलाई उपलब्ध गराउने गरी सम्झौता गराएको पाइएको हो ।

उक्त सम्झौता कार्यान्वयन गर्न/गराउन जग्गाधनीहरूसँग सम्झौता गराइदिएको अभियोगपत्रमा उल्लेख छ ।

उक्त जग्गा नगर प्रमुख बस्नेतले जम्मा ३ करोड ७२ हजार रकम जग्गाधनीहरूलाई भुक्तानी दिई जगत गुरु कृपालु प्रतिष्ठान नेपालले निर्माण गर्ने मन्दिरको लागि जग्गा लिने भनी बैनाबट्टा गराएको समेत अभियोगपत्रमा उल्लेख छ ।​

त्यसैगरी बस्नेतकी श्रीमती उर्मिलालाई पनि आयोगले प्रतिवादी बनाएको छ ।​

मतियारका रूपमा उनीविरुद्ध १३ करोड १२ लाख ७३ हजार ३२ रुपैयाँ बिगो कायम गरिएको छ । 

त्यसैगरी राजु‍प्रसाद कँडेललाई पनि सोही बिगो बमोजिम मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

अख्तियारले सम्पत्ति शुद्धीकरणसम्बन्धी दायर गरेको यो दोस्रो मुद्दा गरेको हो ।​

यस्तो छ अभियोग पत्रको पूर्णपाठ

salt training

कमेन्ट गर्नुहोस्