२१ जेठ २०८३, बिहीबार

बढ्दै पाकिस्तानभित्रको आन्तरिक तनाव

पुस १५, २०८१
काठमाडौं
बढ्दै पाकिस्तानभित्रको आन्तरिक तनाव
तस्वीर: सैफुल्लाह जाहिर/एपी

अफगान तालिवानले छिमेकी मुलुक पाकिस्तानका धेरै स्थानमा हमला गरेको अफगानिस्तानको रक्षामन्त्रालयले जनाएको छ । यो घटना केही दिनअघि पाकिस्तानले अफगान भूमिमा हवाई आक्रमण गरेपछि भएको हो ।

अफगानिस्तानको रक्षामन्त्रालयले शनिवार जारी गरेको विज्ञप्तिमा पाकिस्तानलाई प्रत्यक्ष रूपमा उल्लेख नगरे पनि 'काल्पनिक रेखाभन्दा पर' रहेको क्षेत्रलाई लक्ष्य गरेको जनाइएको छ । अफगान अधिकारीहरूले पाकिस्तानसँगको विवादित सिमाना ड्युरेन्ड रेखालाई काल्पनिक रेखा भन्ने गरेका छन् ।

अफगान रक्षामन्त्रालयका प्रवक्ता एनायतुल्लाह ख्वाराज्मीले विज्ञप्तिमार्फत भनेका छन्, 'हामी यो क्षेत्रलाई पाकिस्तानको भूभाग मान्दैनौं त्यसैले सिमाना पुष्टि हुँदैन । त्यसैले हामीले काल्पनिक रेखा पारिपट्टि हमला गरेका हौँ ।'

विज्ञप्तिमा थप भनिएको छ, 'काल्पनिक रेखाभन्दा पर रहेका केही स्थानमा अफगानिस्तानविरुद्ध हमला गर्ने तत्व र तिनका समर्थकहरू सक्रिय थिए । ती स्थानलाई दक्षिणपूर्वी दिशाबाट प्रतिकार गरिएको छ ।'

ड्युरेन्ड रेखा १९औं शताब्दीमा ब्रिटिश उपनिवेशकालमा कोरिएको विवादास्पद सीमा हो, जसलाई अफगानिस्तानले दशकौँदेखि अस्वीकार गर्दै आएको छ ।

पाकिस्तानी सेनाको जनसम्पर्क विभाग र विदेश मन्त्रालयले यो घटनाबारे अहिलेसम्म कुनै प्रतिक्रिया जनाएका छैनन् । तर, सुरक्षा स्रोतका अनुसार, सीमा क्षेत्र खैबर पख्तुनख्वा र अफगानिस्तानको खोस्त प्रान्तबीच भएको झडपमा एक जना पाकिस्तानी सैनिकको मृत्यु भएको र सात जना घाइते भएका छन् ।

पाकिस्तानले यसअघि अफगान भूमिमा रहेको लडाकूको अड्डालाई लक्षित गरेको दाबी गरेको थियो । तर, अफगान तालिवानले ४६ जना निर्दोष व्यक्तिहरूको ज्यान जाने गरी हमला गरेको आरोप लगाउँदै प्रत्याक्रमंग अर्ने गम्भीर चेतावनी दिएको थियो ।

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले तालिवानसँग सम्बन्ध सुधार्ने चाहना व्यक्त गरे पनि पाकिस्तानमा हुने तहरीक-ए-तालिवान पाकिस्तानका आक्रमणप्रति कडा आपत्ति जनाएका छन् । 'हामी छिमेकीसँग राम्रो सम्बन्ध चाहन्छौँ, तर निर्दोष नागरिकको हत्या सहन सक्दैनौं,' उनले शुक्रवारको मन्तव्यमा भने ।

२०२१ मा तालिवानले अफगानिस्तानको सत्ता लिएको केही समयपछि पाकिस्तानले राम्रो सम्बन्धको अपेक्षा गरेको थियो । तर, पछिल्लो समय भएको हिंसाका घटनाहरूले दुई देशबीचको सम्बन्ध झन् बिग्रँदै गएको छ । तालिवानको आक्रमणका कारण यो वर्ष मात्रै पाकिस्तानमा सेना र सर्वसाधारणसहित ९५० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ ।

salt training

कमेन्ट गर्नुहोस्