
आफ्नो जीवनको ऊर्जाशील समय खर्चिएको पार्टी नेकपा एमालेबाट निकालिएका भीम रावलको अबको कदम के होला भन्ने सर्वत्र चासो छ । अनुशासनविपरीत काम गरेको निष्कर्षसहित एमाले सचिवालय बैठकले पुस १० गते रावललाई पार्टीबाट निकालेको थियो ।
वर्षौं काम गरेको पार्टीबाट एउटै निर्णयले निकालिनुलाई निरकुंशता भन्दै रावलले पहिलो चरणमा आफू निकटका नेता/कार्यकर्तासँग संवाद गर्ने विषयलाई प्राथमिकतामा राखेका छन् । यसबीचमा उनले नेपाली कांग्रेस बीपीका कर्ण मल्ल लगायतलाई पनि भेटेका छन् ।
तत्काल पार्टी खोल्न लागेको भन्ने चर्चालाई भने उनका निकटस्थहरू अस्वीकार गर्छन् ।
रावल स्वयंले पनि यस विषयमा अहिले कुनै टिप्पणी नगर्ने बताए । ‘म अहिले केही बोल्दिनँ,’ रावलले भने, ‘केही दिनपछि आफ्ना कुरा राख्छु ।’
साधारण सदस्य समेत नरहने गरी कारबाहीमा परेका रावलले बुधबार पत्रकार सम्मेलन राखेका छन् । त्यहीँबाट पार्टी घोषणा गर्ने तयारी भएको भनेर हल्ला चले पनि उनका स्वकीय सचिव गोविन्द दुवाल हतारमा निर्णय लिइहाल्ने मनस्थितिमा रावल नरहेको बताउँछन् ।
‘वर्षौं योगदान गरेको पार्टीबाट हठात् निकालिएपछि हतारिएर तत्काल अर्को पार्टीमा गइहाल्ने वा पार्टी खोलिहाल्ने भन्ने मनस्थितिमा उहाँ हुनुहुन्न,’ रावलका स्वकीय सचिव दुवालले लोकान्तरसँग भने, ‘प्रारम्भिक तयारीमा हजारौं शुभेच्छुक र कार्यकर्ताको सद्भाव छ । यसैले आन्तरिक सरसल्लाह गरेर मात्रै एउटा निर्णयमा पुग्ने उहाँको तयारी छ ।’
पत्रकार सम्मेलनबाट भावी योजनाबारे भने उनले जानकारी गराउनेछन् । एमाले नेतृत्वले आफूमाथि गरेको कारबाहीको भण्डाफोर र भावी योजना सुनाउन पत्रकार सम्मेलन गरिएको रावलनिकट स्रोतले बतायो ।
एमालेबाटै विभाजन भएर बनेको नेकपा एसले प्रस्ताव गरे पनि रावलले उक्त पार्टीमा नजाने बताएका छन् । स्वकीय सचिवालयका अनुसार एमालेले कारबाही गरेपछि उनलाई भेट्न आउने भीड लागेको छ ।
‘कारबाहीपछि उहाँसँग भेट गर्न आउने र साथ दिन्छौं भन्नेको बाक्लो भीड छ । यसैले भावी रणनीति तय गर्न उहाँ आन्तरिक छलफलमा जुट्नुभएको छ,’ दुवालले भने, ‘कसरी अगाडि बढ्ने भनेर एक्लै होइन, सल्लाहमा निर्णय गर्छु भन्नुभएको छ ।’
पार्टी कार्यालय बनाउन व्यवसायी मीनबहादुर गुरुङसँग १० रोपनीभन्दा बढी जग्गा दान लिएको विषयमा विरोध गर्दा रावल पार्टीबाट निकालिएका हुन् । १० औं महाधिवेशनमा अध्यक्षमा केपी शर्मा ओलीसँग भिडेका रावल त्यसयता पार्टीमा भूमिकाविहीन थिए ।
एमालेको यो कदमको पार्टीभित्र र बाहिरबाट पनि विरोध भएको छ । एमालेभित्रैबाट आएको सद्भाव र बाहिरको माहोल बुझेर मात्र अगाडि बढ्ने मनस्थितिमा रावल देखिन्छन् ।
‘कुनै पार्टीमा गइहाल्ने भन्दा एमालेकै हजारौं असन्तुष्ट मत, राष्ट्रवादी र देशभक्तको भावनालाई प्रतिनिधित्व गर्नेगरी अगाडि बढ्नुपर्छ भन्ने उहाँको कुरा हो,’ रावल निकट स्रोत भन्छ, ‘ओलीको पेलानमा परेर निष्क्रिय पारिएकालाई समेट्ने कुरामा उहाँको पहिलो प्राथमिकतामा छ ।’
ओलीको पेलानमा परेका इमान्दार नेता/कार्यकर्तालाई आफ्नोतिर आकर्षित गर्ने र एमालेसँग असन्तुष्ट मतलाई तान्ने गरी माहोल बनाउने पक्षमा रावल भएको बताइन्छ ।
तर, पार्टी खोल्न हतार गर्दा जिम्मेवार नेता/कार्यकर्ताको साथ पाइनेमा रावल ढुक्क छैनन् । रावलको पक्षमा देखिने गरी प्रभावशाली नेता/कार्यकर्ता लागेका छैनन् ।
झपट रावल, प्रकाश महरा, गोविन्द कुँवर र दयालबहादुर शाही मात्रै रावलनिकट रहेको बताइन्छ । कर्णबहादुर थापासहितका केही नेताले अझै पनि रावललाई गरिएको कारबाही फिर्ता लिनुपर्ने पक्षमा माहोल बनाइरहेको एक नेता बताउँछन् ।
‘हतारमा रावलले पार्टी खोल्छन् भन्ने धेरैको चर्चा छ । तर, नजिकका शुभचिन्तकले नयाँ पार्टी चल्दैन, पार्टी खोल्दा थप पंगु भइन्छ भनेर सम्झाएको पनि बुझेका छौं,’ एमालेनिकट स्रोतले भन्यो, ‘बरु कारबाही फिर्ता गर्न सकिन्छ कि भनेर एउटा पक्ष लागेको छ ।’
रावल निकटका नेता झपट रावलले एमालेले गरेको कारबाहीको निर्णय सच्याउने ठाउँ अझै रहेको बताए । ‘कारबाहीको पक्षमा भन्दा यो निर्णयलाई सच्याउनुपर्छ भन्ने पक्षमा एमालेमा ठूलो मत छ,’ रावलले भने, ‘आन्दोलनलाई क्षति पुग्ने भएकाले निर्णय सच्याउने ठाउँ बाँकी नै छ ।’
तर, रावलले अन्य पार्टीमा जाने विषयलाई सिधै खारेज गरेको उनले बताए ।
‘ममाथि के भएको हो भनेर कार्यकर्तालाई प्रस्ट पार्छु भन्नुभएको छ । तर, तत्काल पार्टीमा जानेबारे केही बताउनुभएको छैन । नयाँ पार्टी खोलिहाल्छु पनि भन्नुभएको छैन,’ झपट रावलले भने ।
५०औं वर्ष पार्टी भनेर लागेको नेतालाई कारबाही गर्नु एमाले गम्भीर भुल भएको उनको तर्क छ ।
‘५० औं वर्ष काम गरेको पार्टीले एक सेकेन्डमा कारबाही गरेको छ । एउटा जिम्मेवार पार्टीले यस्तो कदम उठाउनु भनेको आन्तरिक लोकतन्त्रको चीरहरण हो । २०४६ सालपछि कांग्रेस भनेकै लोकतन्त्र, लोकतन्त्र भनेकै कांग्रेसजस्तो स्थिति सुदूरपश्चिममा थियो । आफन्तसँग सम्बन्ध तोडेर बनाएको पार्टीबाट हठात् निकालिनु दुर्भाग्यपूर्ण छ । यस्तो कदमले समग्र सुदूरपश्चिममा एमालेलाई झन् गाह्रो हुनेछ ।’
उतारचढावपूर्ण राजनीतिक यात्रा
अछामका भीम रावल कुनै समय एमालेको प्रभावशाली उपाध्यक्ष थिए । सुदूरपश्चिममा बलियो प्रभाव भएका रावल पार्टी सरकारमा जाँदा कमै मात्र छुट्ने गरेका थिए ।
कहिले गृहमन्त्री त कहिले अर्को कुनै प्रभावशाली मन्त्रालय उनको भागमा पर्थ्यो । एमालेमा केपी ओलीको युग शुरू नहुँदासम्म रावल चल्ताफुर्ता नेता थिए । माधव नेपाल प्रधानमन्त्री हुँदा कैयन् प्रभावशाली नेतालाई पछाडि पार्दै उनी गृहमन्त्री बनेका थिए ।
२०४६ सालदेखि नै उनी शक्तिको वरिवरि रहे । २०४६ सालमा झलनाथ खनालको स्वकीय सचिव भएर काम गरेयता उनले राजनीतिमा पछाडि फर्केर हेर्नुपरेको थिएन । रावल २०५२ सालमा पर्यटन राज्यमन्त्री बने । २०५५ सालमा पर्यटनमन्त्री भए ।

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा समानुपातिक सांसद भएका रावल २०६६ सालमा गृहमन्त्री बनेका थिए । अन्य प्रभावशाली नेता विकल्पमा हुँदाहुँदै माधव नेपाल नेतृत्वको सरकारमा रावलले गृहमन्त्रालयको जिम्मेवारी पाएका थिए ।
नेपाल मात्रै होइन, सुदूरपश्चिममा प्रभाव भएका रावललाई ओलीले समेत २०७२ सालमा उपप्रधान एवं रक्षामन्त्री बनाएका थिए । २०७४ को चुनावमा माओवादीसँग मिलेर लड्दा सुदूरपश्चिम कम्युनिस्टमय बन्यो । तर, ओलीले रावललाई हावी हुन दिएनन् ।
मन्त्री, पार्टीमा भूमिकाजस्ता विषयमा टाढा पार्दै गएपछि रावल ओलीविरुद्ध आक्रामक हुन थाले । राष्ट्रवादी कुरा गर्ने, एमसीसीको विरोध गर्ने र आफूलाई फरक देखाउन खोज्ने रावलको शैलीलाई स्टन्ट भनेर पार्टीकै नेताहरूले आलोचना गर्न थाले ।
माओवादीसँग एकीकरण भएपछि बनेको नेकपामा पनि रावलले पर्याप्त भाउ पाएनन् । रावललाई सचिवालयमा पनि समेटिएन । बलियो नेकपामा भाउ नपाउँदै गर्दा रावल माधव नेपालसँग बढी नजिक र ओलीसँग टाढा हुँदै गए ।
२०७८ मा माधव नेपालले विद्रोह गरे । ओलीले संसद् विघटन गरेदेखि नै रावल उनीविरुद्ध लागेका थिए । तर, माधव नेपालको विद्रोहलाई साथ दिएनन् । नेपाललाई साथ नदिई एमालेमा बसे पनि रावल ओलीको नजिक हुन सकेनन् ।
भूमिका नपाए पनि उनले ओलीका कदमविरुद्ध खरो आवाज उठाउन छाडेनन् र निरन्तर पेलानमा परिरहे । सर्वसम्मत अध्यक्ष हुने प्रयत्नमा रावल तगारो बनेपछि ओली उनीप्रति झन् निर्मम बन्न पुगे । पार्टी नेतृत्वलाई अनावश्यक रूपमा खुइल्याउने काम गरेको भन्दै उनलाई भूमिकाविहीन बनाइयो ।
तर, सुदूरपश्चिममा उनको पकड अझै बाँकी थियो । तत्कालीन अवस्थामा सुदूरपश्चिममा एमालेका २८ मध्ये रावलका पक्षमा १७ प्रदेशसभा सदस्य थिए ।
यही बलमा उनले पार्टीलाई कतिपय अवस्थामा दबाबमा पनि राखे । आफ्ना विरोधीलाई कारबाही गरे । तर, पार्टी नेतृत्वले रावललाई प्रदेशको शक्तिका आधारमा मानेन । पुनः भएको चुनावमा सुदूरपश्चिममा बलियो हुने गरी रावलले आफूनिकटलाई जिताउन सकेनन् ।
कुनै समय सुदूरपश्चिमा रहेको बलियो प्रभावका आधारमा रावलले क्षेत्रीय पार्टी खोल्न सक्छन् भन्ने आकलन पनि छ । तर, नेपालमा क्षेत्रीय पार्टीलाई राजनीतिमा स्थापित हुन र टिक्न सहज नभएको स्थिति छ । यसैले सुदूरपश्चिममा रावललाई पार्टी खोल्न सहज नभएको नेताहरू बताउँछन् ।
‘अध्यक्षमा पराजित भएपछि केन्द्रीय सदस्य हुने विधानको व्यवस्थालाई रावलले लत्याए । अर्कातिर पदाधिकारीमा पराजित भएपछि केन्द्रीय सल्लाहकार अस्वीकार गरे । अध्यक्षमा पराजित भएपछि आफू दोस्रो नेता भएको ठानिरहे । पार्टीको ह्वीपसमेत उल्लघंन गरे,’ एमालेनिकट स्रोत भन्छ, ‘अध्यक्षमा पराजित भएपछि माधव नेपाल र झलनाथ खनालले जसरी वरिष्ठ नेता पाउनुपर्ने दाबी रावलको थियो । हिँडाइ, बोलाइ र कारबाहीको सवालमा रावलले ओलीलाई पनि जितेका छन् । यसैले उनी अहिले यो अवस्थामा आइपुगेका हुन् ।’
अध्यक्षमा ओलीसँग भिडेकै तुषमा रावललाई अछाम– १ बाट प्रतिनिधिसभाको टिकट दिइएन पछिल्लो चुनावमा रावलले नेकपा एसका शेरबहादुर कुँवरलाई समर्थन गरेको आरोप खेपे । आफ्नै पार्टीका उम्मेदवारलाई हराउन भूमिका खेलेको भन्दै रावल पुनः ओलीको निशानामा परे ।
अहिले सम्बन्ध नराम्ररी बिग्रिए पनि कुनै समय रावल ओलीनिकट थिए । एमालेमा माधव नेपालको पेलानमा पर्दा ओलीले रावललाई सन्तुलनमा राखेका थिए । २०६६ सालमा भएको एमालेको आठौं महाधिवेशनमा ओली अध्यक्षमा उठ्दा उनकै टीमबाट रावललाई उपाध्यक्षको उम्मेदवार बनाइएको थियो । तर, दुवै पराजित हुन पुगेका थिए ।
पार्टी खोल्न रिमालको चुनौती
रावललाई कारबाही गरिएपछि एमाले उपमहासचिव एवं प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले पार्टी खोल्न रावललाई चुनौती दिएका छन् ।
आइतबार सामाजिक सञ्जालमा एक कविता पोस्ट गर्दै रिमालले ह्याउ भए आफ्नै घर बनाएर देखाउन चुनौती दिएका हुन् ।
‘अरे यार ! ह्याउ भए बनाएर देखाऊ न आफ्नो घर !
आफ्नो घरको मझेरीमा, आँगनमा,
गन्द्रयाङ–गुन्द्रुङ गरिरेहका तिम्रा ‘हाँडा–भाँडा’हरू
बज्न नदेऊ न !
ढोका खोलुन् कि– छेस्किनी लाउन्,
अरूले उनीहरूका घरमा,
जे गरुन्, बाल मतलब !