
वैदेशिक रोजगारीमा सर्बिया र हंगेरी पठाउने भन्दै ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ गर्नेमा काभ्रेपलाञ्चोकको पनौती नगरपालिका-११, स्थायी ठेगाना भई हाल काठमाडौं महानगरपालिका-१०, बुद्धनगर बस्ने ७१ वर्षीय गणेशबहादुर थापा र नवलपुरको वौदिकाली गाउँपालिका-१, स्थायी ठेगाना भई हाल काठमाडौंको टोखा नगरपालिका-८, बानियाटार बस्ने ४२ वर्षीया शान्ती भण्डारी रहेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले थापालाई सिनामंगल र भण्डारीलाई बानियाटारबाट पक्राउ गरेको हो । अपराध अनुसन्धान कार्यालयका एसपी, काजी कुमार आचार्यका अनुसार थापाले सर्बिया पठाउने भन्दै एक जनाबाट ६ लाख ५० हजार र भण्डारीले हंगेरी पठाउने भन्दै दुई जनाबाट १७ लाख ५० हजार रूपैयाँ ठगी गरेका छन् ।
पीडितहरूलाई लामो समयसम्म झुक्यानमा राखेपश्चात विदेश नपठाई सम्पर्कविहीन भएपछि प्रहरीमा जाहेरी परेको थियो । पीडितहरूको जाहेरीपछि उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको एसपी आचार्यले जानकारी दिए ।