२६ असार २०८३, शुक्रबार

ग्यास आपूर्ति बन्द भएपछि स्लोभाकिया रुष्ट : युक्रेनी शरणार्थीलाई आर्थिक सहयोग बन्द गर्ने धम्की​

पुस १९, २०८१
काठमाडौं
ग्यास आपूर्ति बन्द भएपछि स्लोभाकिया रुष्ट : युक्रेनी शरणार्थीलाई आर्थिक सहयोग बन्द गर्ने धम्की​

स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोले आफ्नो देशमा आश्रय लिएका १ लाख ३० हजारभन्दा बढी युक्रेनी शरणार्थीलाई दिँदै आएको आर्थिक सहयोग कटौती गर्ने धम्की दिएका छन् ।​

युक्रेन र रुसबीचको ग्यास आपूर्तिसम्बन्धी विवादका कारण स्लोभाकियामा ग्यास आपूर्ति बन्द भएपछि प्रधानमन्त्री फिकोले यस्तो धम्की दिएका हुन् ।

जनवरी १ मा युक्रेनले दशकौंदेखि मध्य युरोपमा रुसी प्राकृतिक ग्यास आपूर्ति गर्दै आएको पाइपलाइन बन्द गर्‍यो । पाइपलाइन बन्द भएपछि स्लोभाकियाले ग्यास ट्रान्जिट शुल्क बापतको लाखौं युरो गुमाउन थालेको छ ।

युक्रेनको यो कदमलाई प्रधानमन्त्री फिकोले अन्यायपूर्ण भनेका छन् । यो कदमले देशको सार्वजनिक वित्तमा ५० करोड युरोको घाटा पुर्‍याउने उनको दाबी छ ।

प्रधानमन्त्री फिकोले स्लोभाकियाबाट युक्रेनलाई दिइँदै आएको विद्युत् निर्यात रोक्ने र युक्रेनी शरणार्थीहरूको आर्थिक सहयोगमा तीव्र कटौती गर्ने प्रस्ताव गरेका छन् ।

'स्वतन्त्र स्लोभाकियाका लागि एउटै विकल्प भनेको ट्रान्जिट बहाल गर्नु वा सार्वजनिक वित्तको घाटा पूर्ति गर्न क्षतिपूर्ति व्यवस्था माग गर्नु हो,' एक वक्तव्य जारी गर्दै उनले भने ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले फिकोमाथि रुसलाई आर्थिक सहयोग पुर्‍याएको र युक्रेनलाई कमजोर बनाउने प्रयास गरेको आरोप लगाएका छन् ।

'फिकोले स्लोभाकियालाई रुसको खेमातर्फ धकेलिरहेका छन्,' जेलेन्स्कीले भने ।

युरोपेली युनियनले युक्रेनले पाइपलाइन बन्द गर्ने निर्णय यसअघि नै गरिसकेकाले अधिकांश युरोपेली देशहरू यस परिस्थितिलाई सामना गर्न सक्षम रहेको जनाएको छ ।

पोल्याण्डले युक्रेनलाई आवश्यक परेमा विद्युत् आपूर्ति गर्न तयार रहेको घोषणा गरेको छ ।​

फिकोले केही साताअघि मस्कोमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेपछि युक्रेन र स्लोभाकियाबीचको सम्बन्ध थप तनावपूर्ण बनेको छ ।

युरोपेली युनियनको सदस्यता प्राप्त नगरेको मोल्डोभाले भने ग्यास अभावको तीव्र सामना गरिरहेको बीबीसीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्