
डडेल्धुरा, ३० कात्तिक– प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गृहजिल्ला डडेल्धुरा पुगेर मतदातासमक्ष आफूलाई पुनः प्रधानमन्त्री बन्ने मौक दिन आग्रह गरेका छन् ।
बिहीवार डडेल्धुरा सदरमुकाम अमगरढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै देउवाले आफूले जिते पुनः प्रधानमन्त्री हुने भन्दै आफ्नो पक्षमा मतदान गर्न आह्वान गरे ।
‘मैले जिते पुनः प्रधानमन्त्री हुनेछ । अरुले जिते सांसद मात्रै हुनेहुन्,’ देउवाले भने, ‘मैले प्रधानमन्त्री भएपछि जिल्लाको विकास गर्नेछु ।’
कांग्रेस सभापति देउवाले डडेल्धुराको नाम राख्न पनि आफूले जीत हासिल गर्नु आवश्यक रहेको बताए । ‘मैले देशमा मात्रै हैन अन्तर्राष्ट्रिस्तरमा पनि डडेल्धुराको नाम चर्चित बनाएको छु,’ देउवाले भने, ‘जिल्लाको नाम राख्न मैले अझै पनि जित्नु जरुरी छ ।’
प्रधानमन्त्री देउवाले चुनावपछि कांग्रेसको बहुमत आउने र त्यसपछि बन्ने सरकारले डडेल्धुरा र ७ नम्बर प्रदेशको विकासमा विशेष ध्यान दिने बताए । ‘मैले जिते पञ्चेश्वर बहुउद्देश्यिय परियोजना र डडेल्धुरा जिल्लालाई भारत जोड्ने गरी महाकाली नदीमा पक्की पुल बनाउनेछु,’ देउवाले भने । देउवाले बहुप्रतिक्षित पश्चिम सेती जलविद्युत परियोजना पनि छिट्टै बन्ने आश्वासन दिए ।
देउवाले युवालाई बेराजगार भत्ता समेत उपलब्ध गराउने बताए । ‘मैले यो वर्ष बजेट ल्याउन पाएन । पाएको भए युवाहरुलाई बेरोजगार भत्ता दिने सोच थियो,’ उनले भने ।
गृहजिल्लाको चुनावी सभामा देउवाले कम्युनिस्ट पार्टीले जिते प्रजातन्त्र समाप्त हुने आरोप लगाए ।