
लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई मशिन खरिदका लागि पाँचौंपटक बोलपत्र आह्वान गरिएको छ ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. इन्द्र ढकालले निश्चित आपूर्तिकर्तालाई फाइदा पुग्ने गरी स्पेसिफिकेसन तयार गर्न लगाएर ठेक्का आह्वान गरेको आरोपसँगै विवादमा तानिएको ठेक्का प्रक्रिया रद्द गरेर नयाँ बोलपत्र आह्वान गरिएको हो ।
विवादास्पद रूपमा अगाडि बढाइएको एमआरआई खरिद प्रक्रियालाई खारेज गरी सोमबार नयाँ बोलपत्र आह्वान भएको हो । पाँचौंपटक बोलपत्र आह्वानमा ३७ लाख ३४ हजार धरौटी रकम माग गरिएको छ ।
यो प्रकरणले प्रदेश सरकारका मन्त्री, सचिवदेखि विभिन्न तहका कर्मचारी र तिनका नातागोतासमेत संलग्न रही मिलेमतोमा बढी मूल्य हालेको भन्दै खुबै चर्चा पाएको थियो ।
सस्तो मूल्यको पुरानो मोडलको एमआरआईलाई बजारको चलनचल्तीको मूल्यभन्दा पनि धेरै रकममा खरिद गर्ने गरी सेटिङ मिलाएर खरिद प्रक्रिया अगाडि बढाइएको भन्दै विरोध भएको थियो ।
विवादित भएको सबै प्रक्रियालाई स्थगित गरेर नयाँ प्रक्रियाबाट एमआरई मशिन ल्याउने गरी नयाँ बोलपत्र आह्वान गरिएको स्वास्थ्यमन्त्री खेमबहादुर सारूले बताए । सेवाग्राहीलाई सहज, सुलभ सेवा दिने र सेवा दिनका लागि प्रबन्ध गरिएका उपकरणहरू पनि गुणस्तरीय हुनुपर्ने मान्यतामा रहेर पारदर्शी ढंगले खरिद प्रक्रिया अगाडि बढाउन निर्देशन दिइएको उनले बताए ।
स्वास्थ्य मन्त्रालयमार्फत अस्पताल विकास समिति तथा अस्पताल प्रशासन र जवाफदेही निकायका अधिकारीहरूलाई पारदर्शीपूर्ण रूपमा गुणस्तरीय मेसिन खरिदको प्रक्रिया अगाडि बढाउन निर्देशन दिइए बमोजिम पुनः बोलपत्र आह्वान भएको स्वास्थ्यमन्त्रीको सचिवालयले जनाएको छ ।
‘अस्पतालमा एमआरआई मशिन ल्याउनैपर्ने छ र सेवाग्राहीलाई सहज सेवा दिनुपर्नेछ साथै मेसिनको गुणस्तर मूल्यमा पनि हेक्का राखेर पारदर्शी काम गर्नुपर्नेछ,’ स्वास्थ्यमन्त्री सारूले भने, 'विवादित काम गर्नेतर्फ होइन गुणस्तरीय र पारदर्शी काममा ध्यान दिनुपर्ने छ ।’
विगतमा देखा परेका कमीकमजोरीहरूलाई सुधार गर्दै प्राप्त सुझाव तथा छलफलका आधारमा नयाँ बोलपत्र आह्वान गरिएको स्वास्थ्यमन्त्री सारूले बताए ।
एमआरआई मशिन खरिदका लागि यसअघि आह्वान गरिएको बोलपत्रमा देखिएका प्राविधिक त्रुटी र सार्वजनिक भएका विषयहरूबारे विज्ञहरूसँग पटक-पटक छलफल गर्दा पहिलेको सबै प्रक्रिया खारेज गर्नु उपयुक्त देखिएको स्वास्थ्य मन्त्रालयका सचिव डा.वासुदेव उपाध्यायले बताए ।
अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले अब नयाँ ढंगले प्रक्रिया अगाडि बढेको र यसलाई पारदर्शी, मितव्ययी बनाएर टुंगो लगाउन समितिले आवश्यक भूमिका निर्वाह गर्ने बताए । विगतमा एमआरई मशिन खरिद प्रक्रियालाई अघि बढाउँदा कतिपय त्रुटीहरू पाइएको र कतिपय क्षेत्रबाट घुमाउरो पाराले अवरोध पनि भएको अध्यक्ष श्रेष्ठको भनाइ छ ।
कसले, कसरी अवरोध गरेका थिए भन्ने प्रश्नमा उनले ‘यसबारेमा धेरै कुरा छ’ भने । तर थप केही खुलाएनन् ।
उनले सेवाग्राही लक्षित पारदर्शी काममा सबैको साथ, सहयोग र सहकार्यको खाँचो रहेको उल्लेख गरे । अस्पतालमा सेवाग्राहीको बढ्दो चापसँगै यहाँको सेवा विस्तार, गुणस्तर सुधार तथा प्रविधिमैत्री सेवा बनाउनका लागि अस्पताल विकास समितिले पहल गरिरहेको अध्यक्ष श्रेष्ठको भनाइ छ ।
अस्पताल प्रमुख डा. इन्द्र ढकालले एमआरआई मशिन खरिदको पहिलोको प्रक्रिया सबै खारेज गरेर नयाँ ढंगले अगाडि बढ्ने गरी बोलपत्र पुनः आह्वान भएको बताए । उनले सेवाग्राहीले निजी स्वास्थ्य संस्थामा गएर १६/१७ हजार शुल्क तिरेर सेवा लिनुपर्ने बाध्यतालाई आधा मूल्यमै सरकारी अस्पतालमा सेवा दिएर अन्त्य गर्न खोजेको दाबी गरे । अस्पतालमा सामाजिक सुरक्षा कार्यक्रमबाट सेवा लिन आउने बिरामी, लक्षित वर्ग, विपन्न तथा गरिब परिवारका लागि ठूलो राहत पुग्ने उनको दाबी छ ।
मशिन खरिदका लागि यसअघि आह्वान गरिएको बोलपत्रको प्रक्रिया खारेजीका लागि विज्ञहरूको सुझाव, सार्वजनिक खरिद ऐन, आपूर्तिकर्ता कम्पनीहरूको राय अनुसार स्पेसिफिकेसन नै नयाँ ढंगले पारदर्शी रूपमा गरिएको उनले बताए । जनशक्तिको व्यवस्थापन तथा आवश्यक स्वास्थ्य उपकरण थप गरी सेवाको गुणस्तर वृद्धि गर्न पहल गरिएको डा.ढकालले बताए ।
लुम्बिनी प्रदेश सकारको गौरव आयोजनाको रूपमा रहेको यस अस्पताललाई १२ सय शय्यामा स्तरवृद्धिका लागि अण्डरग्राउण्डसहित १२ तले अत्याधुनिक भवन निर्माणका काम भइरहेको छ ।
लुम्बिनी प्रदेशसहित छिमेकी प्रदेशका जिल्लाहरूसमेत गरी यहाँ १६ भन्दा बढी जिल्लाका सेवाग्राही आउने गर्छन् । अस्पतालबाट गत आर्थिक वर्षमा मात्रै साढे ३ लाखले स्वास्थ्य सेवा लिएको सूचना अधिकारी डा. नेत्रबहादुर रानाले बताए ।