
मुलुकभर सञ्चालनमा रहेका आधाभन्दा धेरै सामुदायिक विद्यालयमा विद्यार्थी अभाव भएको छ । शिक्षामा राज्यको लगानी पुगेन भन्ने आवाज उठिरहेका बेला राज्यबाट सञ्चालित विद्यालयमा विद्यार्थी पुगेका छैनन् । नीतिगत तथा भौगोलिक जटिलताका कारण विद्यार्थी अभाव भएका विद्यालयलाई गाभ्न वा बन्द गर्न पनि सकिएको छैन ।
सरकारी तथ्याङ्क अनुसार मुलुकभर २७ हजार ९९० सामुदायिक विद्यालय सञ्चालनमा छन् । यसभित्र परम्परागत धार (संस्कृत गुम्बा, मदरसालगायत) का एक हजार ३८४ वटा विद्यालय पनि समावेश छन् । १५ हजार ९६५ विद्यालयमा भने एक सयभन्दा कम विद्यार्थी छन् । जुन कुल सामुदायिक विद्यालय सङ्ख्याको आधाभन्दा धेरै हो । गोरखापत्रमा खबर छ ।