
नेपाली कांग्रेसले झण्डै दुईतिहाइ बहुमतमा रहेकाले जनताले महसुस गर्नेगरी काम गर्न मन्त्रीहरूलाई निर्देशन दिएको छ ।
संसदीय दल कार्यसमिति र मन्त्रीहरूको छलफलमा सभापति शेरबहादुर देउवाले जनताले धेरै आशा गरेकाले प्रभावकारी काम गर्न मन्त्रीहरूलाई निर्देशन दिएको खेलकुद मन्त्री तेजुलाल चौधरीले जानकारी दिए ।
‘प्रत्येक मन्त्रालयको विषयमा विस्तृत जानकारी दिइराख्ने काम भएको छ । के–के काम राम्रो भयो । के–के राम्रो हुन सकेन भनेर जानकारी लिने र दिने काम भएको छ,’ चौधरीले भने, ‘तीन मन्त्रालयको बिफ्रिङ सकिएको छ । यस क्रममा सभापतिले दुईतिहाइ हाराहारीको सरकारबाट जनताले धेरै नै आशा गरेका छन् । यसैले प्रभावकारी भएर काम गर्नुस् भनेर सुझाव दिनुभएको छ ।’
त्यसक्रममा महामन्त्री गगन थापाले सरकारका कामलाई थप प्रभावकारी र व्यवस्थित बनाउन अध्यादेश ल्याउनु परेकोबारे बिफ्रिङ गरेका थिए । ‘अध्यादेश सल्लाहले नै आएको छ । कतैबाट विरोध छैन । सरकारका कामलाई प्रभावकारी बनाउन ल्याएका हौं भनेर महामन्त्रीले भन्नुभयो,’ चौधरीले भने ।
छलफलका क्रममा केही मन्त्रीले सोचअनुसार छिटो छरितो काम गर्न नसकेको स्वीकारेका थिए ।
छलफलमा कांग्रेसका पदाधिकारी, सरकारमा सहभागी १० मन्त्री, २ राज्यमन्त्री, प्रमुख सचेतक र संसदीय दल कार्यसमितिका सदस्यहरू सहभागी छन् ।