
रुपन्देहीको बुटवलमा सञ्चालित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा संलग्नहरूविरुद्ध आज (बिहीबार) रुपन्देही जिल्ला अदालतमा मुद्दा दर्ता गर्ने तयारी भइरहेको छ ।
गोरखा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने, सञ्चालक छविलाल जोशी बञ्जाडेसहित ४४ जनाविरुद्ध पूरक अभियोजन गर्ने तयारी भएको जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता प्रेमराज पौडेलले दिए ।
सुप्रिमबाट रविकै नाममा २ करोड रुपैयाँ गोरखा मिडियामा गएको देखिन्छ । रविले नक्कली ऋणी खडा गरेर ऋण लिएका थिए । सरकारी वकिल कार्यालय रुपन्देहीमा भने रविले इन्कारी बयान दिएका थिए ।
सरकारी वकिल कार्यालयले पहिलो चरणमा २८ जनाविरुद्ध अभियोजन दर्ता गरेको थियो । अदालतले सुप्रिम सहकारीका तत्कालीन अध्यक्ष ओमप्रकाश गुरुङलाई पुर्पक्षमा थुनामा राख्न आदेश दिएको थियो ।
सुप्रिममा १ हजार ८३१ बचतकर्ताको १ अर्ब ३१ करोड रुपैयाँमध्ये ८६ करोड १८ लाखभन्दा बढी अपचलन भएको अनुसन्धानको निष्कर्ष छ ।
२०५७ सालमा बुटवलमा दर्ता भएको मैत्रेय बचत तथा ऋण सहकारी संस्थाको नाम परिवर्तन गरी गितेन्द्रबाबु (जीबी) राईले २०७२ फागुनमा सुप्रिम बचत तथा ऋण सहकारी संस्था बनाएका थिए ।
सुप्रिम ठगी प्रकरणमा पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ का छोरा दीपेश पुनसहित ६ जना यसअघि नै धरौटीमा छुटेका थिए ।
प्रतिवादीहरूमध्ये अधिकांश अहिले पनि फरार छन् ।
सुप्रिमको सञ्चालक समितिका अध्यक्ष जीबी राई, सागर केसी, सुरज श्रेष्ठ, राजु बराल, भूपेन्द्र राई, देवेन्द्रबाबु राई, धिरजकुमार दास, असरफ अली सिद्धिकी, बुद्धि गुरुङ, दिनेश रोका, आशिष आनन्द, मजहर मोहम्मद, भगवती लिगल ढुंगाना, मनप्रसाद गुरुङ, पौबहादुर गुरुङ, स्यान्ड्रिक राजभण्डारी, आशिष रानाभाट, हेमन्त अधिकारी र कविता तामाङ अझै फरार छन् ।
सरकारी वकिल कार्यालयले कूल १ अर्ब १२ करोड बराबरको बिगो मागदाबीसहित मुद्दा दर्ता गर्न लागेको छ ।
प्रतिवादीमध्ये रविलाई उनको नाममा गएको २ करोड र गोरखा मिडियामा गएको रकममध्ये सामूहिकतर्फ २ करोड १५ लाख २८ हजार गरी ४ करोड १५ लाख २८ हजार बिगो मागदाबी गर्ने तयारी छ ।
त्यस्तै, जोशीलाई २ करोड ५० लाख व्यक्तिगत र मिडियाको सामूहिक १ करोड ७७ लाख ८८ हजार गरी ४ करोड २७ लाख ७८ हजार रुपैयाँ बिगो दाबी गर्ने तयारी छ ।
सुप्रिम सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङको व्यक्तिगत २ करोड ८८ लाख १४ हजार र सामूहिक २ करोड ७ लाख ९४ हजार गरी ४ करोड ९६ लाख ८ हजार बिगो माग दाबी लिने तयारी सरकारी वकिल कार्यालयले गरेको छ ।
आज अभियोजन भएपछि रवि अदालतमा आफैं उपस्थित नभए प्रहरीले पक्राउ गरेर लैजाने छ । तर, रवि अदालतमा आफैं उपस्थित हुने तयारीमा छन् ।
बुधबार मात्रै स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा काठमाडौं जिल्ला अदालतले रविलाई ६० लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।
यसअघि कास्की जिल्ला अदालतले ६५ करोड धरौटी मागी छाडेको थियो ।
सहाराको अनुसन्धान प्रतिवेदन आज बुझाइने
चितवन प्रहरीले सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको ठगीसम्बन्धी अनुसन्धान प्रतिवेदन बिहीबार सरकारी वकिल कार्यालयलाई बुझाउने भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी गौतम मिश्रका अनुसार पहिलेका १७ र पछि रविसहितका १० गरी २७ जनालाई प्रतिवादी बनाउन सिफारिश गरिएको छ ।
अनुसन्धान प्रतिवेदनमा प्रतिवादीसँग ४३ करोड १४ लाख ५९ हजार ९ सय २८ रुपैयाँ बिगो मागदाबी लिन भनिएको छ ।
सहकारीको रकम गोरखा मिडियामा लगी १० करोड १८ लाख ५ सय ५१ रुपैयाँ अपचलन भएको प्रतिवेदनमा खुलाइएको छ ।
पर्साको सानोपाइलाको प्रतिवेदन तयार हुँदै
पर्साको वीरगञ्जमा सञ्चालित सानोपाइला सहकारी ठगीको अनुसन्धान प्रतिवेदन तयार हुँदै गरेको पर्सा प्रहरीले जनाएको छ ।
यसअघि प्रहरीले सरकारी वकिल कार्यालयमा बुझाए पनि थप अनुसन्धानका लागि प्रतिवेदन फर्काइएको थियो ।
सानोपाइलामा ८ सय बचतकर्ताले जम्मा गरेको झण्डै १ अर्ब ३५ करोड रुपैयाँ अपचलन भएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी निर्मल बुढाथोकीले अनुसन्धान प्रतिवेदन तयार हुँदै गरेको लोकान्तरलाई बताए ।
सानोपाइलाबाट पटक–पटक गरी गोरखा मिडियामा ८ करोड ५८ लाख ४४ हजार रूपैयाँ गएको देखिन्छ ।
सहारा चितवन सहकारीको ३ वटा शाखा टाँडी, पर्सा र नारायणघाटका व्यवस्थापक दिनेश रोकाको नाममा सानोपाइलाबाट २ करोड ३९ लाख रुपैयाँ ऋण प्रवाह भएको भेटिएको छ ।
सानोपाइलाबाटै सहारा चितवनका सञ्चालक समितिका अध्यक्ष सागर केसीको नाममा १ करोड १७ लाख, उपाध्यक्ष हेमन्त अधिकारीको नाममा १ करोड ६७ लाख र सदस्य छत्रमणि भट्टराईको नाममा ८६ लाख ऋण प्रवाह भएको भेटिएको प्रहरीले जनाएको छ ।
जीबी अध्यक्ष रहेको पोखराको सूर्यदर्शन सहकारीका लोन अधिकृत बुद्धि गुरुङलाई समेत सहाराबाट ८६ लाख र सहकारी सञ्चालक समितिका पूर्व सचिव सुरज श्रेष्ठलाई १ करोड ६ लाख रुपैयाँ ऋण प्रवाह भएको तथ्य प्रहरीले फेला पारेको छ ।
सानोपाइलाको रकम रुपन्देहीको सुप्रिम बचत तथा ऋण सहकारीमा कार्यरत कर्मचारी सुनिता पुनको नाममा १ करोड ५ लाख, विष्णुमाया गुरुङको नाममा १ करोड ६ लाख र रोशनी गुरुङको नाममा १ करोड २८ लाख ऋण प्रवाह भएको भेटिएको छ ।