०२ साउन २०८३, शनिबार
मन्त्रीहरूसँग देउवाको छलफल

कांग्रेसको निष्कर्ष- एमालेसँग सरकार सञ्चालनमा कुनै समस्या छैन

माघ ३, २०८१
काठमाडौं
कांग्रेसको निष्कर्ष- एमालेसँग सरकार सञ्चालनमा कुनै समस्या छैन

नेपाली कांग्रेसले संयुक्त सरकारमा नेकपा एमालेसँग काम गर्न कुनै बाधा नभएको निष्कर्ष निकालेको छ । 

पार्टीका तर्फबाट सरकारमा सहभागी १० मन्त्री र दुई राज्यमन्त्रीसँग बिहीबार भएको छलफलपछि कांग्रेसले यस्तो निष्कर्ष निकालेको हो  ।  

‘सबै मन्त्रीले के काम भएको छ ? के गर्नुपर्नेछ ? के समस्या छन् भनेर भन्नुभयो । यसमा अझै राम्रो काम गर्दै जाऔं भन्ने भयो’, बैठकपछि गृहमन्त्री रमेश लेखकले भने, ‘तर, कांग्रेस र एमालेको सरकारमा समस्या छैन । कुनै बाधा र व्यवधान छैन । गत असारमा भएको सात बुँदे सहमति अनुसार नै अगाडि बढ्ने विषयमा हामी प्रतिवद्ध छौं भन्ने भयो । बरु आ-आफ्नो मन्त्रालयका काम कसरी राम्रो गर्न सकिन्छ भनेर लागौं भन्ने भयो ।’
 
बैठकमा सभापति शेरबहादुर देउवाले पनि सात बुँदे सहमति अनुसार सरकार सञ्चालनमा एमालेसँग कुनै असमझदारी नभएको बताएका थिए । 

‘कांग्रेस र एमाले सात बुँदे सहमति अनुसार अगाडि बढेका हुन् । यो सहमतिमा अगाडि बढ्न कुनै समस्या छैन । यही सहमति अनुसार अगाडि बढ्ने, सुशासन दिने, आर्थिक गतिविधि बढाउने र समृद्धिमा पुग्नेगरी केन्द्रित भएर काम गर्न सभापतिले निर्देशन दिनुभएको छ’, बिहीबार बूढानीलकण्ठमा भएको बैठकपछि गृहमन्त्री रमेश लेखकले भने, ‘दुई दलबीच कुनै समस्या छैन भन्ने बारेमा सभापतिले प्रष्ट पार्नुभयो । बरु अझै प्रभावकारी काम गर्ने गरी अगाडि बढ्ने कुरा भयो ।’

पाँच घण्टासम्म सभापतिको निवास बूढानीलकण्ठमा बसेको बैठकमा मन्त्रीहरूले आ–आफ्ना मन्त्रालयले गरेका, गर्न खोजेका कामबारे ब्रिफिङ गरेका थिए । पदाधिकारी, संसदीय दल कार्यसमिति सदस्यबीच मन्त्रीले आलोपालो ब्रिफिङ गरेका थिए । 

गृहमन्त्री लेखकले नागरिकलाई सेवा प्रदान गर्नमा अझै कटिवद्ध भएर लाग्न मन्त्रीहरूलाई पार्टीले निर्देशन दिएको पनि बताए । 

salt training

कमेन्ट गर्नुहोस्