२८ जेठ २०८३, बिहीबार
धनमायाको धन्दा

‘५० हजार ऋणको २५ लाख लगिन्, अझै ९ लाख माग्दै धम्की दिन्छिन्’

माघ ४, २०८१
विराटनगर
‘५० हजार ऋणको २५ लाख लगिन्, अझै ९ लाख माग्दै धम्की दिन्छिन्’
मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई निवेदन बुझाउँदै मिटरब्याज पीडितहरू।

मोरङको पथरीशनिश्चरे-२ कि ४१ वर्षीया राजकुमारी राईले ११ वर्ष अगाडि लिएको ५० हजार रूपैयाँ ऋण अहिले उनलाई गलपासो बनेको छ ।  ५० हजार ऋणको उनले २५ लाख बुझाइसकिन् अझै ऋण सकिएको छैन । 

फूलको व्यापार गर्दै आएकी राईले २०६९ मा भाइ धनबहादुरलाई वैदेशिक रोजगारीमा मलेसिया पठाउनका लागि पथरीशनिश्चरे-८ की धनमाया राईसँग ५० हजार रूपैयाँ ऋण लिएकी थिइन् । 

५० हजार ऋणको ब्याज १५ दिनमा पाँच हजार रूपैयाँका दरले बुझाउँदै आएको उनी बताउँछिन् । २०७६ सालसम्ममा धनमायालाई ५० हजारको साँवा र ब्याज गरेर २५ लाख रूपैयाँ दिइसकेको राजकुमारीको दाबी छ । अझै ९ लाख रूपैयाँ दिनुपर्ने भन्दै धनमायाले दिनरात ‘धम्की’ दिने गरेको राजकुमारी सुनाउँछिन् । 

‘५० हजार रूपैयाँ लिएको ऋणको ब्याज १५ दिनमा ५ हजार रूपैयाँ दिने गरेको थिएँ । ब्याज तिर्न नसकेपछि साँवामा गाभ्ने गरेको थियो । त्यसपछि १ लाखको १० हजार ब्याज हुन थाल्यो’, राजकुमारीले भनिन्, ‘फूलको पसल गर्दै आएको थिएँ । ६ वर्षमा मैले २५ लाख दिइसकें । अझै ९ लाख दिनुपर्ने भन्दै अहिले दिनहुँ धम्की आउने गरेको छ । गाउँमा मिटरब्याजमा ऋण लगाउने धन माया र उनका केटाहरूको गाली सहन नसकेपछि गाउँको भद्र भलाद्मीलाई भनेर जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दिन आएका छौं ।’ 

जिल्ला प्रशासन कार्यालयमा बिहीबार भेटिएकी राजकुमारीले गाउँमा मिटरब्याजको आतंकले सहन नसक्ने भएको बताइन् । न्याय माग्दै आफूहरू जिल्ला प्रशासनमा आएको उनले सुनाइन् । 

यसरी मिटरब्याजमा लगानी गर्ने पथरीकी धनमाया राईबाट पीडित भएर आएकी राजकुमारी मात्रै होइनन् । उनीसँगै आएकी अर्की पीडित पथरीकी लिलावति राईको पनि समस्या उस्तै छ । उनले पनि धनमायासँग एक लाख रूपैयाँ ऋण लिएकी थिइन् । १ लाखको १९ लाख रूपैयाँ दिइसक्दा पनि अझै साँवा र ब्याज तिनुपर्ने भन्दै धम्की दिने गरेको लिलावतिले गुनासो गरिन् । 

‘विभिन्न मितिमा ऋण लिएको १ लाखको २९ लाख रूपैयाँ बुझाइसकें । धनमायाले उल्टै खाली चेक लगेर १२ लाख ६० हजार तिनुपर्ने देखाउँदै अहिले चेक बाउन्सको मुद्दा हाल्नुभएको छ’, पीडित लिलावतिले भनिन् । 

लेनदेनको कागज नदेखिए पनि लिलावतिले धनमायालाई चेक दिएकी थिइन् । ऋण लिँदा ग्यारेन्टीका लागि दिएको खाली चेकमा धनमायाले मनलाग्दी रकम भरेर आफूलाई फसाएको उनको भनाइ छ ।

धनमायाबाट पथरीशनिश्चरेका राजकुमारी राई, चन्द्रकला राई, गंगा राई, देवकी पौदार पीडित भएको भन्दै मिटरब्याजमा लगानी गर्नेलाई कारबाहीको माग राख्दै प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई निवेदन बुझाएका छन् ।

पथरीशनिश्चरेका पूर्व नगर प्रमुख दिलिपकुमार राईसहित विभिन्न राजनीतिक दल र संघसंस्थाका प्रतिनिधिहरूले बिहीबार सीडीओ यादवलाई भेटेका हुन् । उनीहरूले गाउँका सिधासादा सर्वसाधारणहरूलाई मिटरब्याजमा लगानी गर्ने र उनले भने जति रकम नदिए उठिबास लगाउने धम्की दिने गरेको भन्दै कारबाहीको माग गरे । 

त्यसैगरी, पथरीशनिश्चरे-९ की इन्द्रकुमारी लिम्बूले पनि मिटरब्याजमा ऋण लगाउने गरेको पीडितहरूको गुनासो छ । इन्द्रकुमारीले छिमेकी देविमाया राईलाई पाँच वर्षअगाडि १ लाख ५० हजार रूपैयाँ ऋण दिएकी थिइन् । उनले पटक पटक गरी १ लाख ५० हजारको ३० लाख रूपैयाँ दिइसकेको सुनाइन् । अझै ४९ लाख ७० हजार रूपैयाँ दिनुपर्ने भन्दै दिनहुँ ‘टर्चर’ दिने गरेको उनको गुनासो छ ।

‘ऋण तिर्दातिर्दा भएको सम्पत्ति सबै रित्तियो । तर, ऋण अझै बाँकी छ भन्न साहुहरूले कहिल्यै छोडेनन्’, जिल्ला प्रशासन कार्यालय परिसरमा भेटिएकी राईले भनिन्, ‘१ लाख ५० हजार ऋणको ३० लाख रूपैयाँ दिइसक्दा पनि अझै ऋण चुक्ता भएन ।’ 

साहुले अझै साँवा र ब्याज गरेर ४९ लाख ७० हजारको दिनुपर्ने भन्दै चेक बाउन्समा मुद्दा हालेको उनले बताइन् । 

अनुचित लेनदेन मिटरब्याज जस्तो गम्भीर सामाजिक अपराधलाई नियन्त्रण गर्न र पीडितलाई कानूनी तथा सामाजिक न्याय दिन प्रशासनसँग माग गरिएको स्थानीय अर्जुन जम्मेली राईले बताए । 

ज्ञापनपत्र बुझ्दै मोरङका प्रमुख जिल्ला अधिकारी यादवले घटनाका विषय बुझेर प्रहरीलाई अनुसन्धान गर्न निर्देशन दिने बताएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्