
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
रुपन्देहीको बुटवलमा सञ्चालित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा संलग्न रहेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध शुक्रबार मुद्दा दर्ता गर्ने तयारी भएको छ ।
कुनै अप्रत्यासित घटनाक्रम नभए जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले शुक्रबार जिल्ला अदालत रुपन्देहीमा मुद्दा अभियोजन गर्ने जनाएको छ ।
जिल्ला सरकारी वकिल कार्यालयले बिहीबार यसअघि नै अभियोजन भइसकेका गितेन्द्रबाबु राई (जीबी राई) लगायतको मुद्दामा बिगो बढाएको छ । रुपन्देही अदालतमा यसअघि २८ जनाविरुद्ध मुद्दा दर्ता भएकोमा बिहीबार जीबी राईलगायत १७ जनाविरुद्ध बिगो बढाएको हो ।
००००
नेपाली कांग्रेसले नेकपा एमालेसँगको सहकार्यमा कुनै समस्या नरहेको निष्कर्ष निकालेको छ ।
सरकारमा सहभागी भएको ६ महिनामा पार्टीका तर्फबाट प्रतिनिधित्व गर्ने १० मन्त्री र २ राज्यमन्त्रीसँगको छलफलपछि कांग्रेसले यस्तो निष्कर्ष निकालेको हो ।
गृहमन्त्री रमेश लेखकले नागरिकलाई बढीभन्दा बढी सेवा प्रवाह गर्ने र आर्थिक सुशासन कायम गर्नेगरी सरकार अगाडि बढेकाले कुनै समस्या नभएको दाबी गरे।
यसैगरी यसैगरी कांग्रेसले सरकारमा सहभागी भएका मन्त्रीलाई ७ बुँदे निर्देशन दिएको छ ।
१. सरकारलाई प्रभावकारी र सफल बनाउन सक्रिय ढंगले कार्य गर्ने । महत्त्वपूर्ण विषयहरूमा नियमित छलफल गर्ने ।
२. विभिन्न समितिहरूमा विचाराधीन विधेयकहरूलाई टुंगोमा र्पुयाउन सक्रियता साथ कार्य गर्ने ।
३. आआफ्नो मन्त्रालयको कार्यक्षेत्रमा रहेका विगतदेखिका भौतिक परियोजना र अन्य कार्यक्रम सम्पन्न गराउने प्रक्रियामा गति बढाउने ।
४. चालु आर्थिक वर्षको बजेटमा परेका तर श्रोत सुनिश्चितताको पर्खाइमा रहेका, टेन्डर हुन नसकेका, निर्माण शुरू भएका तर अपेक्षित गतिमा काम नभइरहेका विकास योजनाहरू सम्पन्न गर्न गराउन आवश्यक पहलकदमी लिने ।
५. हप्तामा दुई निश्चित दिन खुला भेटघाट गर्ने, नागरिकको गुनासो सुन्ने, सुझाव लिने बाँकी ५ दिन सम्पूर्ण रूपले मन्त्रालयको काममा केन्द्रित हुने ।
६. सांसदहरूको चासो, सुझाव र अपेक्षालाई छलफल मार्फत संसदीय दल कार्यसमिति र मन्त्रीहरूले समन्वय गर्ने ।
७. पार्टीको प्रदेश समिति, जिल्ला, क्षेत्र एवं स्थानीय तहहरूमार्फत पार्टी केन्द्रीय कार्यालयमा आउने गरेका नागरिकका सुझाव र मागहरूका सम्बन्धमा महिनामा एक पटक पार्टी केन्द्रीय कार्यालय बस्ने
००००
नेता भीम रावलले आगामी दिनमा खोल्ने पार्टीको नाम टुंगो लगाएका छन् । रावलले बिहीबार ‘मातृभूमि जागरण अभियान नेपाल’ पार्टी खोल्ने जानकारी गराएका हुन् ।
रावलले नयाँ पार्टी गठन प्रक्रिया भएको जानकारी दिँदै पार्टीको अवधारणा र संरचना समेत सार्वजनिक गरेका छन् ।
००००
विसं २०८२ को पञ्चाङ्ग माघ तेस्रो सातासम्ममा बजारमा ल्याउने गरी तयारी भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
पञ्चाङ्गकारले ग्रहगणित गणना गरेर रुजु भइसकेकाले बाँकी काम सिध्याएर समितिले स्वीकृति दिन लागेको हो । समितिले स्वीकृति दिएपछि पात्रो प्रकाशन हुनेछ ।
००००
प्रतिपक्षमा रहेका दलहरूको संयुक्त बैठक शुक्रबार बस्ने भएको छ । यसअघि बुधबार छलफलमा जुटेका प्रतिपक्षी दलको बैठक शुक्रबार पनि बस्न लागेको हो ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सचिवालयका अनुसार बैठक दिउँसो २ बजे प्रमुख प्रतिपक्षी दल नेताको कार्यालय नयाँ बानेश्वर बस्नेछ ।
००००
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आफूमाथि कुटपिट र अभद्र व्यवहार भएको भन्दै दोषीमाथि कारबाहीको माग गर्दै प्रहरीमा जाहेरी दिएका छन् ।
त्रिपाठीले बिहीबार प्रहरी वृत्त सिंहदरबारमा जाहेरी दिएका हुन् । बुधबार स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पीडितका पक्षबाट बहस गरेर काठमाडौं जिल्ला अदालतबाट बाहिरिँदै गर्दा उनीमाथि हातपात भएको थियो ।
००००
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झाको बन्दी प्रत्यक्षीकरण मुद्दामा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ ।
न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले बिहीबार सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको हो ।
००००
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा निकै दुर्लभ पक्षघातको उपचारमा प्रयोग हुने निकै महंगो औषधि निःशुल्क उपलब्ध गराउने निर्णय गरेका छन् ।
हरेक वर्ष झण्डै आठ सय जनाको ज्यान गइरहेको पक्षघातको उपचार गरी जीवनरक्षा गर्न अमेरिकी सहयोगमा प्राप्त औषधि संघीय तथा प्रदेश अस्पतालमार्फत निःशुल्क वितरण गरिने मन्त्री पौडेलले बताए ।
००००
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेको छ । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक ७.३३ अंकले घटेर २५८८.६२ बिन्दुमा बन्द भएको हो ।